रूद्र श्रीसमगर
पर्वत, असोज २० – बाजुङ–७, पर्वतस्थित कोट मन्दिरमा दुर्गा भवानीको मूर्ति स्थापना गरिएको छ । 
दुर्गाको बाहन बाघसहित एउटै पत्थरबाट बनाइएको मूर्ति समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले मन्दिरमा स्थापना गर्नुभएको हो । सो मूर्ति समाजसेवी गुरुङको सहयोगमा १ लाख ८० हजार रुपैयाँ लागतमा निर्माण गरिएको हो ।
समाजसेवी गुरुङले आफ्ना दिवंगत पिता स्व. नरबहादुर गुरुङको स्मृतिमा सो मूर्ति बनाउन लगाइ स्थापना गर्नुभएको हो । कोट मन्दिरमा आयोजित विशेष कार्यक्रमका बीच स्व. नरबहादुरका धर्मपत्नी सावित्री गुरुङ र छोरा दुर्गा गुरुङ ‘मिलन’ले संयुक्त रूपमा मूर्ति स्थापना गर्नुभयो ।
मूर्ति स्थापनापछि बोल्दै समाजसेवी गुरुङले बाजुङलाई धार्मिक, सांस्कृतिक र भौगोलिक हिसाबले पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न आफूले हरतरहले सहयोग गर्न तत्पर रहेको बताउनुभयो । विदेशी भूमिमा गरेको कर्मले कमाएको केही पैसा आफूले सामाजिक कार्यमा लगाएको बताउँदै गुरुङले सबैले परोपकारी भावना लिएर अघि बढे देश विकास हुन कुनै समय नलाग्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति रामबहादुर प्रसाईं ‘जीवन’, नेकपा (एमाले)का राजेश शाही, नेकपा (माओवादी केन्द्र)का जयबहादुर अखेली, ॐ कारेश्वर शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण मल्ल, कोट व्यवस्थापन समितिका अध्यक्ष गंगा थापा, उमाकान्त पौडेललगायतले बोल्नुभएको थियो ।
गंगा मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अमरबहादुर अधिकारी र नेष्डो नेपालका अध्यक्ष रत्नाखर अधिकारीले स्वागत गर्नुभएको थियो । कोट मन्दिर परिसरमा हाल गणेश मन्दिर पनि रहेको छ । सो गणेश मन्दिर समाजसेवी स्व. नरबहादुर गुरुङले आफ्नै लगानीमा निर्माण गरी मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको थियो ।
