रूद्र श्रीसमगर
पोखरा, असोज १७ – नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले नश्लवादी राज्यसत्ताको अन्त्य सन्निकट रहेको बताउनुभएको छ । घेदुङको प्रदेश नं. ४ (तमुवान–मगरात) प्रादेशिक भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष गोलेले यस्तो बताउनुभएको हो ।
‘हामी राजनैतिक विद्रोहको तयारी गर्दैछौं’, अध्यक्ष गोलेले भन्नुभयो, ‘२० लाख तामाङहरूलाई गोलबन्द गरेर हामीलाई उत्पीडन गर्ने सिंहदरबारविरुद्ध धावा बोल्ने बेला भयो ।’ तामाङ समुदाय नउठेसम्म नेपालमा जातीय मुक्ति आन्दोलन सफल नहुने भन्दै अध्यक्ष गोलेले निकट भविष्यमा सिंहदरबार घेर्न पाँच लाख तामाङहरूलाई सडकमा उतार्ने तयारी भइरहेको बताउनुभयो ।
‘तामाङ जातिलाई जबर्जस्ती दशैं, तिहार जस्ता चाडपर्व मान्न लगाइयो, ल्होछारजस्ता मौलिक चाडपर्व छोड्न लगाइयो’, उहाँले भन्नुभयो, ‘तामाङ जातिलाई राज्यले हेपेको छ, यसको राज्यले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’ सांस्कृतिक क्रान्तिलाई राजनैतिक क्रान्तिमा रुपान्तरण गर्दै अघि बढ्ने बेला आएको भ
न्दै उहाँले नश्लवादी राज्यसत्ताविरुद्ध तामाङ जातिले अन्तिम विद्रोहको तयारी गरिरहेको उल्लेख गर्नुभयो । ‘तामाङ भाषा, तामाङ संस्कृति, तामाङ पहिचानलाई समाप्त पार्ने सिंहदरबारविरुद्ध अब हाम्रो लडाइँ केन्द्रित हुनेछ’, अध्यक्ष गोलेले भन्नुभयो, ‘अन्याय र अत्याचार गर्ने विभेदकारी राज्यविरुद्ध विद्रोह अनिवार्य छ ।’
नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङले आदिवासी जनजाति मुक्ति आन्दोलनलाई बुद्धि विलासमा मात्रै सीमित नगर्न आग्रह गर्दै ताम्सालिङ स्वायत्त राज्य प्राप्त नभएसम्म लडाइँ जारी राख्नुपर्नेमा जोड दिनुभयो । ‘ताम्सालिङ तामाङ जातिका लागि मात्रै होइन, त्यस क्षेत्रका जनताका लागि पनि स्वाय
त्तताका निम्ति हो’, तामाङले भन्नुभयो, ‘अब ताम्सालिङ प्राप्तिको आन्दोलनलाई घनिभूत बनाउनुपर्छ, ताम्सालिङ र तामाङविरोधी संविधान संशोधन गराउन सशक्त आन्दोलन गर्नु जरुरी छ ।’
प्रादेशिक भेलाको उद्घाटनसत्रमा नेपाल तामाङ घेदुङका वरिष्ठ उपाध्यक्ष बेली तामाङ, सचिव रामकृष्ण ब्लोन तामाङ, केन्द्रीय भाषा, लिपि तथा साहित्य विभाग प्रमुख काजीमान थिङ तामाङ, प्रदेश नं. १ (लिम्बुवान–किरात)का अध्यक्ष मित्रसेन योञ्जन तामाङ, तमु प्ये ल्हु संघ केन्द्रीय प्ये छ्या संकलन तथा लेखन समितिका संयोजक ले. इन्द्रबहादुर तमुलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल तामाङ घेदुङ प्रदेश नं. ४ (तमुवान–मगरात)का अध्यक्ष दीपक वाइबा तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राम तामाङ र स्वागत उपाध्यक्ष हरिज· तामाङले गर्नुभएको थियो ।
यसैबीच, प्रादेशिक भेलाको बन्दसत्रले ताम्सालिङसहितको संविधान संशोधन गराउन सशक्त आन्दोलनको खाका कोर्नेलगायतका महत्वपूर्ण विषयहरूमा छलफल गर्ने प्रदेश नं. ४ (तमुवान–मगरात)का अध्यक्ष दीपक वाइबा तामाङले जानकारी दिनुभयो ।
