रूद्र श्रीसमगर
पोखरा, ७ असोज
तमु समुदायको मौलिक धार्मिक संस्था तमु प्ये ल्हु संघ, नेपालको २६औं साधारणसभा तथा चौथो महाधिवेशन पोखरामा शुरु भएको छ ।
पोखरा–११, शक्तिघाटस्थित संघको केन्द्रीय कार्यालय परिसरमा शुक्रबारदेखि महाधिवेशन शुरु भएको हो । महाधिवेशनको उद्घाटन गर्दै कास्की क्षेत्र नं.२ की निर्वाचित सांसद शारदा पौडेलले सबैलाई समान अधिकार दिएर समतामूलक समाज निर्माण गर्नुपर्नेमा जोड दिइन ।
‘सबैले समान अधिकार पाउनुपर्छ’, सांसद पौडेलको भनाइ थियो, ‘समतामूलक समाज निर्माण गर्नु आजको अपरिहार्य (आवश्यकता) हो ।’
तमु प्ये ल्हु संघको क्होइबो धिं सबैको साझा ऐतिहासिक तीर्थस्थल भएको भन्दै सांसद पौडेलले सबै धर्मको एउटै लक्ष्य भएको धारणा राखे । ‘विविधता नेपालको सम्पत्ति हो’, पौडेलले भने, ‘सबै धर्मलाई समान नजरले हेरिनुपर्दछ, भगवान सबैको साझा हुन्छ ।’ आदिवासी जनजाति, दलित, महिलालगायतका उपेक्षित, उत्पीडित वर्ग र जातिलाई राज्यका निर्णायक तहमा पु¥याउन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताउँदै सांसद पौडेलले सम्बन्धित जाति, समुदायले पनि संघर्ष गर्नु जरुरी रहेको बताए ।
तमु प्ये ल्हु संघको विकासका लागि आफूले सक्दो सहयोग गरेको बताउँदै सांसद पौडेलले सेती नदी किनारमा रहेको संघको केन्द्रीय कार्यालय भवन तथा बोन धर्मावलम्बी तमु समुदायको ऐतिहासिक तीर्थस्थल क्होइबो धिंको संरक्षणका लागि आफूले पुनः बजेट प्रस्ताव गरेको जानकारी दिए । ‘सेती किनारमा रहेको संघको भवनको संरक्षणका लागि केही बजेट प्रस्ताव गरेको छु’, पौडेलले भनिन, ‘सेती नदीको तल्लो तटीय क्षेत्रमा तटबन्धका निम्ति एक करोड रुपैयाँ बजेट प्रस्ताव गरेको छु ।’
तमु प्ये ल्हु संघका संस्थापक बोबर पाल्चे तमुले सरकारी तथ्याड्कमा तमु जातिको मौलिक धर्म बोन धर्मलाई प्रवर्धन गर्न आवश्यक गृहकार्य गरिनुपर्नेमा जोड दिए । तमु जातिको मौलिक धर्म, संस्कार सबै तमुहरूले अपनाउनु जरुरी रहेको बताउँदै संस्थापक तमुले बोन धर्म र प्येको बारेमा सबै तमुहरूका बीचमा पु¥याउनुपर्ने आवश्यकता औंल्याए । केन्द्रीय प्ये छ्याँ संकलन तथा लेखन समितिका संयोजक ले इन्द्र बहादुर केप्छे तमुले तमु जातिको मौलिक धर्म बोनको ग्रन्थलाई लिखित रूपमा ल्याउने प्रयास भइरहेको जनाउँदै अलिखित प्येलाई लिखित रूपमा ल्याउन केही जटिलता भएपनि ढिलोचाँडो प्रकाशमा ल्याइने बताए । संघका परम संरक्षक पूर्व प्रहरी महानिरीक्षक हेम बहादुर त्होर्जे तमुले बोन धर्मको आधिकारिक ग्रन्थ चाँडै प्रकाशमा ल्याइनुपर्नेमा जोड दिँदै तमु जातिको ऐतिहासिक थलो क्होंला सोंथरको संरक्षणका लागि तमु प्ये ल्हु संघले पहल लिनुपर्ने बताए ।
कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिका महासचिव शुक्रराज सर्बुजा तमु, केन्द्रीय आमा समितिकी अध्यक्ष पुष्पा तेल्मे तमु, तमुवान संयुक्त संघर्ष समितिका सदस्य जगन प्रसाद योंज तमु, तमु प्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद कास्कीका अध्यक्ष दल बहादुर त्होर्जे तमु, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका उपाध्यक्ष रूद्र बहादुर श्रीसमगर, तमु प्ये ल्हु संघ युएईका वरिष्ठ उपाध्यक्ष ओम बहादुर प्हच्यु तमु, कास्की जिल्ला अध्यक्ष भीम बहादुर च्हम्रु तमु, रोल्पा जिल्ला सचिव मञ्जु घले तमु, फूलबारी तमु समाजका अध्यक्ष तिल बहादुर तमुलगायतले तमु जातिको मौलिक धर्म, संस्कृतिको संरक्षण गर्नु आवश्यक रहेकोमा जोड दिएका थिए ।
तमु प्ये ल्हु संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष क्या रुप बहादुर गरब्ज तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव पम बहादुर क्रोम्छे तमु र सचिव शान्ति पर्जु तमु तथा स्वागत प्रथम उपाध्यक्ष हितकाजी टु तमुले गरेका थिए । सो अवसरमा केन्द्रीय क्ल्हेप्री समितिका देव बहादुर टु तमुले आशीर्वाचन गरेका थिए । कार्यक्रममा कृष्ति–धुवाँरकोट टोल सुधार समितिका अध्यक्ष निम बहादुर प्हच्यु तमुले संघलाई सहयोग स्वरुप ७५ हजार १ सय ५ रुपैयाँ हस्तान्तरण गरेका थिए ।
यसैबीच, संघको चौथो महाधिवेशनको बन्दसत्र शुक्रबार साँझ नै शुरु भएको छ । बन्दसत्रमा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले रिपोर्टिङ गरेका छन भने शनिबार महासचिव र कोषाध्यक्षले प्रतिवेदन पेश गर्नेछन् । शनिबार नै नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया समेत हुनेछ ।
