बिदेशमा नेपाली बाजाको स्वाद पस्केका छौ -धौलागिरी नौमती बाजा यु केका अध्यक्ष अमृत गर्बुजा

Read Time:19 Minute, 11 Second

समाजसेवी ,बहुमुखी प्रतिभाका धनी ,धौलागिरी नौमती बाजा यु केका अध्यक्ष अमृत गर्बुजा सँग चिम्खोले काइलाको अन्तरङ् कुराकानी । 

– चिम्खोले काईला

तपाईंको परिचय ? (जन्म थलो, शिक्षा, कर्मथलो र परिवार)

मेरो जन्मथलो म्याग्दी जिल्ला,चिमखोला,कान्छी गाउँ हो | शिक्षा-कक्षा आठसम्मको अध्ययन जन्मथलो मै भयो | हाई स्कूल पढ्न २०३९ सालमा रुपन्देही जिल्ला,तिकुलिगढ़ गाविस,सुपौली भन्ने गाउँमा झरेर तिकुलीगढ़ मा.बि.बाट एस.एल.सी.सम्मको अध्ययन गरें | त्यसपछि २०४२/२०४६ सालमा पृथ्वी नारायण क्याम्पस,पोखराबाट बी.एड.सम्मको शिक्षा हासिल गरें | २०४६ साल मै आफ्नो जन्मथलो कै अमर मा. बि.मा नियुक्ति भएर ६ महिना अध्यापन गर्ने मौका पनि पाएँ | कर्मथलो भनेको-२०४७ सालमा मास्टर जागिर छोडेर जापानतिर हानिएँ | जापानको ९ बर्षे एकल बसाई पश्चात बिबाह गर्ने उद्देश्यले २०५५ सालको अन्त्यतिर नेपाल फर्किएँ | केटी खोज्ने क्रममा हालको मेरी श्रीमती मिना पुन हंगकंगको आईडी होल्डरसंग मेरो कर्म जुर्यो | त्यसपछि १९९८ जुलाईमा हंगकंग गयौं |संगै जिउंने,नोकरी गर्ने क्रममा दुई सन्तान पनि हात पार्यौं | २०१० सम्म हंगकंगलाई कर्मथलो बनायौं |त्यसपछि २०१० को अप्रिलमा बेलायत आए पछि परिवार सहित बेलायतलाई नै कर्मथलो बनाएको छुँ |

अमृत गर्बुजा कस्तो खालको व्यक्ति हो जस्तो लाग्छ ?

म एकदमै सरल र साधारण व्यक्ति हुँ |कुनै व्यक्ति वा समाजमा परेको दु:ख र समस्यामा आफ्नो क्षमतानुसार सहयोगको भावना राख्ने | साधारणतया: रोमान्टिक खालको जस्तै:- गाउने,बजाउने,नाँच्ने,जोक गर्ने,हाँस्ने/हसाउने, स्वालम्वी,दयालु,अरुलाई पीर नपार्ने र अन्याय-अत्याचार नसहने खालको व्यक्ति हो जस्तो लाग्छ |

तपाईं धौलागिरी नौमती बाजा युकेको अध्यक्ष पदबाट भर्खर मात्रै निबर्तमान हुनु भएको छ | | धौलागिरी नौमती बाजा युकेमा स्थापना गर्नको मुख्य उद्देश्य, मर्म र भावना के हो ? छोटकरीमा केहि बताइदिनु हुन्छ कि ?

राम्रो प्रश्न राख्नु भयो,स्वागत छ तपाईलाई | धौलागिरी नौमती बाजा,यूके स्थापना गर्नुको मूख्य उद्देश्य भनेको-यूके लगायत यूरोपमा नेपालीहरुको चाप बढ्दो छ,नेपालीहरु बिदेशमा बसोबास गरेता पनि आफ्नै मौलिक संस्कार,संस्कृति र परम्परामा रमाउन चाहन्छन |जस्तै:-बिबाह,ब्रतबन्ध,भात खुलाई,विभिन्न भेटघाट कार्यक्रमहरु,नेपाली चांड-पर्वहरु लगायत विभिन्न च्यारिटी प्रोग्रामहरुमा नौमती बाजाको परिपूर्ति र पहिचान गर्नु हो | अर्को मर्म र भावना भनेको-नौमती बाजा नेपालको एउटा लोकप्रिय बाजा हो | यो बिस्तारै लोपोन्मुख हुन
लागेको अवस्था हो,यसको जगेर्ना गेने,लोप हुनबाट जोगाउन कोशिस गर्ने,संरक्षण र सम्बर्द्धन गर्ने मर्म र भावना रहेको छ |

धौलागिरी नौमती बाजा,यूकेका चुनौतीहरु के के छन् ? छोटकरीमा बताई दिन हुन्छ कि ?

चुनौतीहरु छन्,अवश्य | बुँदागतरुपमा भन्नु पर्दा-

१-कुनै कुनै व्यक्तिहरु र समाजहरुले यसलाई पचाउन सकेका छैनन् | नेपालीको बाजा भन्नु पर्नेमा दमाई जातिको बाजा भन्ने संकुचित भावना बोकेकाहरुसंग सामना गर्नु परेको छ | हाम्रो बाजा होइन रे !!! सीप र कला छ भने जुन जातिले बजाए पनि फरक पर्दैन | त्यसो त गितार पनि हाम्रो बाजा होईन | गितार बजाउने ठूलो जाति रे नौमती बाजा बजाउने सानो जाति रे, यो कस्तो दरिद्र सोचाई हो ? यसलाई हामीहरु चिर्दै अगाडी बढ्नु छ |

२-आफ्नो रोजीरोटीको लागि नोकरी पनि गर्नै पर्यो,यूके र यूरोपको नौमति बाजाको मागलाई पनि मध्यनजर राख्दै सबै चाँजो पाजो मिलाउनै पर्यो,पासपोर्ट र भिसा सम्बन्धि यावत समस्याहरु छन | यूरोपतिर जाँदा खर्च महँगो पर्न जान्छ |

३-अर्को मूख्य चुनौती भनेको यो नौमती बाजालाई भावी पुस्तालाई हस्तान्तरण गर्न सकिन्छ कि सकिन्न ? भन्ने चिन्ता हो | हाम्रो पुस्ताले मात्रै बजाउने वा प्रयोगमा ल्याउने तर भावी पुस्तालाई सुम्पन/सिकाउन सकेनौं भने गैर जिम्मेवारी हुन आउछ जस्तो लाग्छ मलाई | अन्य सामान्य चुनौतीहरु त धेरै नै छन |

तपाईंको कार्यकालमा के कस्ता कार्यहरु सम्पन्न गर्नु भयो एक दुइ तिन गरेर बताइदिनु होस् न ?

मेरो भन्दा पनि हाम्रो कार्यकालमा निम्नलिखित सामाजिक तथा परोपकारी कार्यहरु भएका छन:-

समूह ( क )
पूर्व मन्त्रि गोरेबहादुर खपाङ्गी बचाऊ अभियान, अनिश खालिङ बचाऊ अभियान, ओमकुमारी (शान्ति) बचाऊ अभियान, भूकम्प पीडित बि. स. क्यान्सर पीडित गौमाया खोर्जा, पर्बत सालीजा मृगौला पीडित, चिज कुमारी पुन पाखापानी म्याग्दी, मृगौला पीडित , नौमती पुन, शिख म्याग्दी मृगौला पीडित, लक्ष्मन पुन, डाँडाकटेरी पर्बत टाउकोको समस्या, जयराम पुर्जा ओखरेनी पर्बत मुटुको समस्या, बत्ति गुरुङ, काफलचौर पर्बत अपाङ्ग , कृष्ण पुर्जा, काफलडाँडा म्याग्दी प्यारालाइज, हिरा बहादुर गर्बुजा,म्याग्दी, बेगखोला मृगौला पीडित, दिल माया गर्बुजा,पर्बत, सालीजा मृगौला पीडित उदय फगामी, म्याग्दी, बेगखोला हाल बुटवल मृगौला पीडित सम्मर बहादुर मल्ल, रुपन्देही, तिलोक्तमा नगर पालीका मृगौला पीडित टक बहादुर पुन, पर्बत, लेखफाँट, बन्बरे गरेर जम्मा £800 सहयोग गर्न सफल भएका छौँ /

समूह ( ख )
MONA युके एम्बुलेन्स प्रोजेक्ट म्याग्दी, गलेश्वर वृदाश्रम, मगर संघ युकेको हाउजिङ प्रोजेक्ट, प्रतिभा साँझ च्यारिटी बेगखोला कल्याणकारी च्यारिटी दाना सेरोफेरो च्यारिटी NRNA UK को आयोजनामा आयोजित १०४औँ नारी दिवस म्याग्दी जिल्ला FREE WIFI अभियानको लागी MONA PORTUGAL को कार्यक्रममा सहयोग गरेर जम्मा £1443 ( एक हजार चार सय तिर्चालिस पाउण्ड ) सहयोग गर्न सफेका छौँ /

समूह ( ग )
मोना युकेको एम्बुलेन्स प्रोजेक्ट, मृगौला पीडित काजीमान गर्बुजाको लागी दोगनम मेडियालाई आर्थिक सहयोग संकलन अभियान, मृगौला पीडित, टेक प्रसाद रोका, दर्बाङ्ग,म्याग्दी आर्थिक सहयोग संकलन अभियान, मृगौला पीडित, महेन्द्र गर्बुजा, म्याग्दी मराङ आर्थिक सहयोग संकलन अभियान एकै घरको ४ जना अपाङ्ग दिदि बहिनि हरुको लागी बल बहादुर परियार, रानी पानी गा . बि . स . पर्बत आर्थिक सहयोग संकलन अभियान मृगौला पीडित सतीका पुन, पर्बत, हलहले आर्थिक सहयोग संकलन अभियान गरेर जम्मा नेपाली रुपिया ४८३,९१८ सहयोग गर्न सफल भएका छौँ /

धौलागिरि नौमती बाजा बाहेक कुन कुन सामाजिक संस्था तथा राजनीतिक पार्टीहरुमा आबद्ध हुनु हुन्छ ?

१-मगर संघ,यूकेको हाउजिङ्ग ट्रष्टी मेम्बर,

२-म्याग्दी प्रवासी नेपाली,संघ (मोना) को आजीवन सदस्य,

३-पुन मगर समाज,यूकेको आजीवन सदस्य,

४-म्याग्दी राहुघाट खोला सेरोफेरो,यूकेको आजीवन सदस्य र

५-चिमखोले समाज,यूकेको आजीवन सदस्यमा आबद्ध छुँ |

भने राजनीतिक आस्था जता झुकाव भए पनि हालमा कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नभएको अवस्था हो | राजनीतिक नै गर्ने हो र देशको लागि केहि गर्ने हो भने स्वदेश मै फर्केर गर्नु पर्छ | विदेश बसेर राजनीतिक गर्छुं भनेको मध्यरातको अध्याँरोमा जंगलको बीचमा फ्याउरो कराए सरह हो जस्तो मलाई लाग्दछ |

सामाजिक संस्था तथा राजनीतिक पार्टीहरुमा आबद्ध हुने कोबाट प्रेरणा पाउनु भयो ?
अनि यसको मुख्य उद्देश्य ?

सामाजिक काम गर्ने प्रेरणा स्थान,समय,परिस्थिति र उमेरले दिँदो रहेछ | विदेशको बसाईमा नेपालीहरुको दु:ख र समस्याहरुलाई ट्वाल ट्वाल हेरी रहन सकिन्न | त्यसकारण स्वत: स्फुर्तरुपमा सामाजिक भावनाले प्रेरित गर्छ त्यसमा पनि जब उमेर ढल्किदै गए पछि मान्छे परिपक्क हुदै जान्छ र सामाजिक भावनाहरु जागरक हुन्छन | पारिवारिक हिसावले भन्ने हो भने यूकेमा सामाजिक भावनाको प्रेरणा मेरै सहोदर दाई दुत पुन,मगर(चिमखोले काईला) हुन् |

राजनीतिक प्रेरक पनि कुनै एउटा व्यक्ति हुदैन,क्याम्पसमा अध्ययन गर्ने क्रममा सयौं बिद्यार्थी नेताहरुको भाषण र कुरा सुन्न पाईन्थ्यो | तिनीहरुको भाषणले खूब प्रभाव पार्दथ्यो | रगत उम्लेर जाला जस्तो भान हुन्थ्यो | ती बिद्यार्थीकालका नेताहरु नै मेरा प्रेरक थिए | राज्यको लागि राजनीतिक गतिबिधि सहि दिशामा अवलम्वन हुन सकेन भने देशको बिकास हुन सक्दैन |

अमृत गर्बुजा एउटा मगर तथा शिक्षित व्यक्तिको हैसियतले भन्न पर्दा मगरहरु पछाडी पार्नको मुख्य कारणहरु एक, दुइ, तिन गरेर बताइदिनु हुन्थ्यो कि ?

मगरहरु पछाडी पर्नु र पार्नुको मूख्य कारणहरु निम्न लिखित हुनु पर्छ:-

१-हाम्रो इतिहाँस नै गलत दिशाबाट शुरु भएको छ |गोर्खा भर्ति केन्द्र खोलिनु र विदेश जानु |

२-राज्यले मगरहरुलाई गोर्खा भर्तीमा पठाउनु |

३-मगरहरु लाहुर नगैकन शिक्षा क्षेत्रमा जोड र देश मै संघर्ष गरेको भए यत्तिका पछाडी पर्ने थिएनौं कि जस्तो लाग्छ |

४-शिक्षित नहुनु,शिक्षित भए पनि नेपालको सरकारी जागिरप्रति आकर्षित नहुनु |निजामति प्रशासन,पुलिस प्रशासन र आर्मी प्रशासनतर्फ मगर जातिको बाहुल्यता नहुनु अति न्यून हुनु |

५-राज्यले जनजातीलाई सरकारी जागिरमा पक्षपात गर्नु | जागिर नपाउनु |

६-नेपाल मै संघर्ष गर्न नजान्नु | बिदेशै ताक्नु |

७-व्यापार तथा व्यवसायमा नलाग्नु |पूरानै बाउ/बाजेको पेशा अंगाल्नु |

८-देशमा बसेर राजनीतिक नगर्नु | जनचेतनाको बिकास नगर्नु |आदी/ईत्यादी कारणहरु छन |

९-खुट्टा तान्ने काम | एकता नहुनु | विभाजित हुदै जानु |

मगर संघ युके जस्तो अत्यन्तै शक्तिशाली संस्था स्थापित हुँदा हुदै पनि स-साना झुण्डहरुमा मगर संस्थाहरु युकेमा बिस्तार हुदै छन / यी स-साना झुण्डमा बिस्तार हुँदै गरेका मगर संस्थाहरुले मगर संघ युकेलाईनै चुनौती दिदै छन जस्तो भान भैरहेको छ यस्तो अबस्थामा मगर संघ युकेले के भूमिका खेल्नु पर्छ जस्तो लाग्छ ?

यसमा मगर संघ,यूके हदैसम्मको लचिलो हुनु आवस्यक छ | एकताको लागि वार्ताहरु जारी राख्नु पर्छ | अन्तरक्रिया भै राख्नु पर्छ | वहाँहरुको संवेदनशील मागहरु छन भने नेपाल मगर संघको केन्द्रबाटै पहल गरिनु पर्छ | फुट्ने नै मानसिकताबाट झुण्डहरु जन्मिएका हुन् भने त कसैको केहि लाग्दैन | मगर संघ,यूकेले गरेर हुने सम्मको सबै एकताको कसरत गर्नै पर्छ जस्तो लाग्छ | कन्जुस्याई गर्न हुदैन |

यसमा कसको बढी गैर जिम्मेवारी छ जस्तो लाग्छ ? बताइदिनु हुन्छ कि ?

यसमा बढी गैर जिम्मेवार झुण्डहरुको नै हो जस्तो लाग्छ मलाई | मगर संघ,यूके हुँदा हुँदै पनि विभिन्न झुण्डहरुको स्थापना नगर्नु पर्ने | आफ्नो अलि पृथक किसिमको

संस्कार,संस्कृति,रितिरिवाज र परम्पराको जगेर्ना र संरक्षण गर्ने हेतुले स्थापना गरेको भए पनि मगर संघ,यूकेको छातामूनि रहेर एकताको मालामा उनिनु पर्ने जस्तो मलाई लाग्दछ |

संसार भरि छरिएर बसेका मगर तथा गैर मगरहरुलाई केहि संदेश छ कि ?

संसार भरि छरिएर बसेका मगर तथा गैर मगरहरुलाई मेरो हार्दिक नमस्कार साथै अभिवादन !!! संसारको जुनै ठाउँमा बस्नु भएको भए पनि सम्पूर्ण नेपालीहरुको सु-स्वास्थ्य र दीर्घायूको कामना गर्दछुं | जातिय उत्थान हुनु आवस्यक छ तर जातिय द्वन्द र लडाई नहोस भन्न चाहन्छुं | जाति-पाटि भन्दा पनि सबै नेपालीहरु एक भएर बाँचौं भन्न चाहन्छुं | सबैमा नेपालीत्वको भावना होस् भन्न चाहन्छुं |

अमृत गर्बुजालाई मैले बहुप्रतिभा भएको व्यक्तिमा चिन्दछु | जस्तै: हाँस्यव्यंग नृत्य, कमेडी, सामाजिक, राजनीतिक, पत्रकारिता र साहित्यमा पनि बिशेष रुचि भएको ठान्दछु ? यी उक्त बहुप्रतिभाशाली हुनमा को बाट प्रेरेना पाउनु भयो ? बताइदिनु हुन्छ कि ?

हाँस्यव्यंग नृत्य र कमेडी भन्ने कुरा सबै व्यक्तिमा हुदैन,यो अलि अलि प्राकृतिक पनि हो कि जस्तो लाग्छ | यसलाई मेक अप गर्ने भूमिका आफ्नो पनि हुन्छ नै | तर म राष्ट्रिय स्तरको कलाकार चाँही होईन | कुनै पनि कुरामा रुचि र लविङ्ग गर्न सकियो भने सफल पनि भईन्छ जस्तो लाग्छ |प्रेरणा गाउँ कै अग्रजहरुबाट मिल्यो होला |

सामाजिक र राजनीतिक प्रेरणाको बिषयमा माथि नै उल्लेख गरि सकेको छुँ | पत्रकारिता र साहित्यमा मेरो अभिरुचि छ तर बिदेशमा नोकरीलाई पहिलो प्राथमिकता दिनै पर्छ | बचे खुसेका समयलाई त्यसमा खर्च गर्नु पर्ने हो तर जति गर्नु पर्ने हो त्यो बिषयमा गर्न सकिएको छैन भन्दा पनि हुन्छ | यसको मुख्य प्रेरक चिमखोले काईला नै हुन् जस्तो लाग्छ | किनकि वहाँले बिगतका दिनहरुमा कविता,गीत,लेख,मुक्तक आदी बिषयमा रचना गर्दै जानु पर्छ भनि घच्घच्याउनु हुन्थ्यो |

अन्त्यमा जिन्दकी के हो जस्तो लाग्छ ?

जिन्दगी एउटा दर्शन हो | यसलाई अध्ययन गर्न सक्नु पर्छ | केलाउन सक्नु पर्छ | आफ्नो जिन्दगीलाई चिन्न र केलाउन सकेनौ भने कसैको जिन्दगी बेअर्थमा बाँची राखेको पनि हुन सक्छ | जिन्दगीलाई सहि ढंगले केलाउन र अध्ययन गर्न सक्नेले जिन्दगीलाई सगरमाथाको चुचुरोमा पुर्याएको पनि देख्न सक्छौं | सामान्य भाषामा जिन्दगीको परिभाषा भनेको-दु:ख-सुख,हाँसो-रोदन,खुशी-बेखुशी,सन्चो-बिसन्चो,हर्ष-बिष्मात आदी कुराहरुको सम्मिश्रण नै जिन्दगी हो जस्तो लाग्छ |

एभरेष्ट टाइम्स यु केका लागि चिम्खोले काइलाले लिएको अन्तर्वाता । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %