रूद्र श्रीसमगर
पोखरा, असोज २ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकी अञ्चल कार्यसमितिले वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । शुक्रबार प्रतिष्ठान, गण्डकीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष शंकर ‘विरही’ गुरुङले आफ्नो कार्यकालको एक वर्षभरि गरिने कार्यक्रमको फेहरिस्त प्रस्तुत गर्नुभयो ।
अध्यक्ष गुरुङद्वारा प्रस्तुत गरिएको वार्षिक कार्ययोजनामा असोज महिनामा प्रतिष्ठानको छैठौं राष्ट्रिय महाधिवेशनमा सहभागिता एवं शुभकामना आदानप्रदान कार्यक्रम, कात्तिकमा रमाइलो देउसी भैलो कार्यक्रम, मंसिरमा प्रतिष्ठान गण्डकीको वेभसाइट निर्माण, पुसमा नेतृत्व विकास तथा सकारात्मक सोंचसम्बन्धी कार्यशाला गोष्ठी, माघमा फोन डायरी प्रकाशन, फागुनमा प्रतिष्ठान गण्डकीको कलाकार कल्याणकारी कोषलाई वृद्धि गरी ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पुर्याउने योजनाका साथ बृहत सांस्कृतिक कार्यक्रम, प्रतिष्ठानको स्थापना दिवस र चैत महिनामा वार्षिक कार्ययोजनासहितको भित्तेपात्रो प्रकाशन गर्ने रहेका छन् ।
सोही अवसरमा प्रतिष्ठान गण्डकीले आफ्ना संरक्षक एवं सल्लाहकारहरूलाई स्वागत तथा सम्मान समेत गरेको छ । जसमा संरक्षकद्वय पुरुषोत्तम न्यौपाने र यामबहादुर गुरुङ, प्रतिष्ठान गण्डकीका आजीवन सदस्य भीम भट्टराई तथा युनाइटेड क्लब, पोखराका अध्यक्ष सुकबहादुर गुरुङलाई प्रतिष्ठान गण्डकीले सम्मान गरेको छ ।
त्यस्तै, कानूनी सल्लाहकारद्वय पोखरा उपमहानगरपालिकाका वरिष्ठ कानून अधिकृत नारायणप्रसाद शर्मा र अधिवक्ता दुर्गाप्रसाद कोइराला, सल्लाहकार संयोजक तारापति सुवेदी, प्रतिष्ठान गण्डकीका पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य चोलेन्द्र पौडेल, बुद्धिमान दुरा ‘धम्पु’, अक्षयकोषदाता सिम गुरुङ, शेरबहादुर गुरुङ, शेरबहादुर गुरुङ (एसके), शान्ति गुरुङ, खगेन्द्रराज पराजुली, देव मल्ल, बेलबहादुर अधिकारी र रामचन्द्र अर्याललाई प्रतिष्ठान गण्डकीले सल्लाहकार नियुक्तिको प्रमाणपत्र दिएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला विकास समितिको कार्यालय कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले लोकसंस्कृति जोगाउन युवा पिंढी अघि सर्नुपर्ने बताउनुभयो । लोक संगीतको प्रवद्र्धनमा प्रतिष्ठान गण्डकीले महत्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा गर्दै स्थानीय विकास अधिकारी भण्डारीले सबैको समान सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा प्रतिष्ठान गण्डकीका प्रमुख संरक्षक प्रजापति पराजुली, संरक्षकद्वय पुरुषोत्तम न्यौपाने र यामबहादुर गुरुङ, संरक्षक संस्था पोखरा उपमहानगरपालिकाका वरिष्ठ कानून अधिकृत नारायणप्रसाद शर्मा, सल्लाहकार संयोजक प्रतिष्ठान गण्डकीका संस्थापक अध्यक्ष एवं केन्द्रीय सदस्य तारापति सुवेदी, निवर्तमान अध्यक्ष जीवन दाहाल, कास्की जिल्ला अध्यक्ष प्रेमराज अधिकारी, तनहुँ जिल्ला अध्यक्ष अक्कल ‘विरही’ गुरुङ, स्याङ्जा जिल्ला अध्यक्ष नेत्र पाण्डेलगायतले बोल्नुभएको थियो ।
प्रतिष्ठान गण्डकीका अध्यक्ष शंकर ‘विरही’ गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव सुरेन्द्र गुरुङले गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष सीता केसीले स्वागत गर्नुभएको थियो ।
