मगर भाषा प्रतिष्ठान कास्की अध्यक्षमा हितान सर्वसम्मत !

Read Time:5 Minute, 1 Second

रूद्र श्रीसमगर

पोखरा,  भदौ १७ – मगर भाषा प्रतिष्ठान, कास्की शाखाको दोस्रो साधारणसभाबाट अध्यक्षमा रूद्रबहादुर हितानमगर सर्वसम्मत चयन हुनुभएको छ । हितान यसअघि, उपाध्यक्ष हुनुहुन्थ्यो ।

शुक्रबार सम्पन्न साधारणसभाबाट उपाध्यक्षमा यामबहादुर थापामगर, सचिवमा रूद्रबहादुर श्रीसमगर, कोषाध्यक्षमा मीना थापामगर सर्वसम्मत चयन हुनुभयो । त्यसैगरी, सदस्यहरूमा कुमार थापामगर, देउकी सिंजालीमगर ‘दिपिका मिलन’ र कृष्ण ‘मीगीन’ मगर सर्वसम्मत चयन हुनुभएको छ । नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा फोनिजका केन्द्रीय सल्लाहकार तिलकप्रसाद पुनमगर र नेपाल मगर विद्यार्थी संघ कास्कीका सचिव टीका थापामगर सदस्य रहेको अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।

यसअघि, साधारणसभाको उद्घाटन गर्दै जिल्ला शिक्षा कार्यालय, कास्कीका उपसचिव गगनसिंह थापामगरले मगर भाषा जोगाउन परिवारबाटै मातृभाषा बोल्न अभ्यास गरिनुपर्ने बताउनुभयो । ‘मगर भाषा जोगाउन हामीले परिवारबाटै सुरु गर्नुपर्छ’, थापाले भन्नुभयो, ‘मगर भाषालाई व्यापक बनाउन व्यवहारिक जीवनमा हामीले मगर भाषाको प्रयोगलाई बढाउनुपर्दछ ।’ मगर भाषा संरक्षणमा मगर भाषा प्रतिष्ठान कास्कीले महत्वपूर्ण योगदान गरेको भन्दै त्यसभन्दा पनि महत्वपूर्ण लोक सेवा आयोग तयारी कक्षा सञ्चालन अझै प्रशंसनीय रहेको बताउनुभयो ।

आदिवासी जनजाति महासंघ हङकङका उपाध्यक्ष दुर्गा गुरुङ ‘मिलन’ले आदिवासी जनजातिहरूले आफ्नै मातृभाषा, संस्कृतिप्रति बेवास्ता गर्नु नहुने बताउँदै भाषा, संस्कृति जोगाउन सशक्त भूमिका खेल्नुपर्ने बताउनुभयो । विदेशमा रहेर पनि भाषा, संस्कृतिको संरक्षणका लागि आफूहरूले विभिन्न किसिमका कार्यक्रम गर्दै आएको भन्दै गुरुङले भाषा, संस्कृति आदिवासी जनजातिको पहिचान रहेको उल्लेख गर्नुभयो ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष पानबहादुर घर्तीले मातृभाषाको संरक्षणका लागि प्रकाशन कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै भाषालाई रोचक बनाउन आवश्यक रहेको बताउनुभयो । मगर भाषा प्रतिष्ठान कास्कीले मातृभाषा संरक्षणमा उल्लेखनीय योगदान गरेको भन्दै अन्य आदिवासी जनजातिहरूले पनि यसको अनुसरण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर भाषाको संरक्षणका लागि भाषण भन्दापनि काम गर्नुपर्नेमा जोड दिँदै आफ्नो मातृभाषा बोल्न छोड्न नहुने धारणा राख्नुभयो । राज्यले पनि मगर भाषालगायतका मातृभाषाको संरक्षणका लागि सहयोग गर्नुपर्ने बताउँदै रानाले मगर भाषा जोगाउन मगर समुदाय जागरुक बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय सल्लाहकार तिलकप्रसाद पुनमगर, मगर चलचित्रकर्मी संघ नेपालका केन्द्रीय उपाध्यक्ष मेजन पुनमगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय सचिव मनोज घर्तीमगर, बागलुङ–पोखरा मगर समाजका सचिव गजेन्द्र थापामगर, नेपाल मगर विद्यार्थी संघ कास्कीका अध्यक्ष दिनेश रोकामगरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मगर भाषा प्रतिष्ठान, कास्कीका अध्यक्ष फूलकुमारी थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीसमगर र उपाध्यक्ष रूद्रबहादुर हितानमगरले स्वागत गर्नुभएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %