देव पचभैया
लमजुङ, भाद्र १५ – लमजुङको जेठो पत्रिका अन्तरङ्ग राष्ट्रिय साप्ताहिकले आफ्नो रजत उत्सवका अवसरमा नेपाल मगर पत्रकार संघका केन्द्रीय सदस्य कृष्णबहादुर आले मगर सम्मानित हुनुभएको छ । अन्तरङ्ग राष्ट्रिय साप्ताहिकको २५ वर्षमा प्रवेशको संघारमा रजत उत्सव मनाउने क्रममा आले मगरलाई सम्मान गरिएको हो ।
प्रमुख अतिथि भेडीखर्के साइँला, साहित्यकार तथा संस्कृतिविद् चेतन कार्की, आसामका साहित्यकार टीकाराम उपाध्याय ‘निर्भीक’लगायतले कदर पत्र र मायाको चिनो सहित दोसल्ला ओडाएर आले मगरलाई सम्मान गरिएको थियो । अन्तरङ्ग साप्ताहिकको स्थापना कालदेखि आवद्ध रहेर समाचार र कार्टुन लेखनमा आले मगरले पत्रकारितामा गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको अन्तरङ्ग साप्ताहिकका प्रकाशक एवं सम्पादक नवराज पहाडीले बताउनु भयो । आले मगर अन्तरङ्ग राष्ट्रिय साप्ताहिकको पुर्व सम्वाददाता हुनुहन्थ्यो ।
यसअघि पनि अन्तरङ्ग साप्ताहिकको ११औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ठ सम्वाददाता र कार्टुनिष्टको रुपमा कदरपत्रका साथ २०५९ सालमा आले मगरलाई पहिलो पटक सम्मान गरेको थियो ।
नेपाल मगर पत्रकार संघका केन्द्रीय सदस्य आले मगर लमजुङबाट प्रकाशित हुने स्वतन्त्र शक्ति साप्ताहिकका प्रकाशक एवं कार्यकारी सम्पादकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँको पत्रकारिताको यात्रा अन्तरङ्ग राष्ट्रिय साप्ताहिकबाट शुरु भएको थियो । रजत उत्सवमा आलेमगरका साथ पुर्वसम्वाददाताहरु रुपिन्द्र प्रभावी कटु, विश्व विनोद, साबित्रि गुरुङ, जीतबहादुर गुरुङ पनि सम्मानित हुनु भएको थियो ।
अन्तरङ्गग रजत उत्सवमा संस्कृतिकर्मी चेतन कार्की, साहित्यकार मुरारी सिग्देल, पत्रकार कृष्णप्रसाद बाँस्तोला, प्राध्यापक शलिग्राम अधिकारी, सांसद जमिन्द्रमान घले, साहित्यकार रुद्रनिधि तिवारी, झपरबहादुर थापा, साहित्यकार तथा समाजसेवी कृष्णराज ओलिया, झण्डेबाघ लक्ष्मीनारायण शिल्पकारलाई सम्मान प्रदान गरिएको थियो ।
