जिफानको वार्षिक साधारणसभा सम्पन्न !

Read Time:5 Minute, 36 Second

रूद्र श्रीसमगर


पोखरा, भदौ १२  – गुरुङ चलचित्रकर्मीहरूको आधिकारिक संस्था गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)को वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

 
शनिबार सम्पन्न सो वार्षिक साधारणसभाको उद्घाटन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले भाषा, कला र संस्कृतिको जगेर्ना गर्ने हिसाबले गुरुङ चलचित्र निर्माण गरिनुपर्ने आवश्यकता औंल्याउनुभयो । पछिल्लो समयमा गुरुङ चलचित्र पनि अन्य चलचित्रजस्तै अलमलिएको भन्दै राईले भाषिक या व्यवसायिक चलचित्र बनाउने भन्ने पहिला छनौट गरिनुपर्नेमा जोड दिनुभयो । ‘गुरुङ चलचित्र भनेपछि कम्तीमा गुरुङपन हुनैपर्दछ’, अध्यक्ष राईले भन्नुभयो, ‘आदिवासी जनजाति चलचित्रमा आदिवासीपन आउनु आवश्यक छ ।

चलचित्रकर्मीहरूबीच कहिलेकाहीँ खटपट समेत देखापर्ने गरेकोमा ध्यानाकर्षण गराउँदै राईले एकताबद्ध भएर अघि बढे मात्र चलचित्र क्षेत्रका समस्या समाधान गर्न सकिने धारणा व्यक्त गर्नुभयो । राष्ट्रिय आदिवासी जनजाति चलचित्र सेन्सर बोर्डको फाइल आफ्नै पहलमा सञ्चार मन्त्रालयमा पुगिसकेको भन्दै राईले आफ्नो कार्यकालमा कुनै पनि हालतमा आदिवासी जनजाति चलचित्रका निम्ति छुट्टै सेन्सर बोर्ड गठन गरेरै छोड्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । ‘जायज कुरा लिएर आउनुस्, एक मिनेट पनि विलम्ब हुँदैन’, राईले भन्नुभयो, ‘नेतृत्व तहमा आदिवासी जनजाति चलचित्रकर्मीहरू पनि स्थापित हुनु जरुरी छ, यसो नभएसम्म हाम्रा कुरा अरूले सुन्ने छैनन् र बुझ्ने पनि छैनन् ।’

आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले पछिल्लो समय गुरुङ चलचित्र आकर्षित क्षेत्र बनेको बताउनुभयो । अबको जमानामा आकर्षित मात्र नभइ शक्तिशाली पनि बन्नुपर्ने सुझाव दिँदै सुनुवारले आदिवासी

जनजातिपन बोकेका चलचित्र निर्माण गर्नु आदिवासी जनजाति चलचित्रकर्मीको दायित्व रहेको बताउनुभयो । पछिल्लो समय आदिवासी जनजाति चलचित्रलाई राज्यले हेर्ने दृष्टिकोण बदलिएकोमा सन्तोष व्यक्त गर्दै सुनुवारले आदिवासी जनजाति चलचित्र सेन्सरका निम्ति छुट्टै सेन्सर बोर्ड चाहिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा पोखरा फिल्म सोसाइटीका अध्यक्ष घनश्याम लामिछाने, सम्मानित व्यक्तित्वहरूका तर्फबाट कान्तिपुर दैनिकका लमजुङ सम्वाददाता आश गुरुङ ‘प्रतीक’, सामाजिक अभियन्ता एवं जिफानकी आजीवन सदस्य पवित्रादेवी गुरुङलगायतले बोलेका थिए ।

यसैबीच, जिफानले वार्षिक साधारणसभाका अवसरमा समाचार लेखेर गुरुङ चलचित्रको प्रचारप्रसार र विकासमा योगदान पु¥याएको भन्दै कान्तिपुर दैनिकका लमजुङ सम्वाददाता आश गुरुङ ‘प्रतीक’लाई ताम्रपत्रसहित सम्मान गरेको छ । यसैगरी, सो अवसरमा पहिलो गुरुङ चलचित्र ‘पाते’का निर्माता महेश गुरुङ, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, कार्यसमितिमध्येबाट उत्कृष्ट कार्यसम्पादकर्ता सु. जसबहादुर गुरुङ, जिफानकी कार्यालय सहायक एवं सञ्चारकर्मी रोशनी गुरुङ, उत्कृष्ट चरित्र अभिनेताका रूपमा डी–सिने अवार्ड बिजेता अभिनेता माओत्से गुरुङ, प्रथम गुरुङ चलचित्र अवार्डको आयोजक संस्था जक्सन डट कमका सञ्चालक भूपालकुमार गुरुङ र चलचित्र विकास बोर्डद्वारा उत्कृष्ट आदिवासी जनजाति चलचित्रका रूपमा पुरस्कृत ‘युम्पो देउराली’का निर्देशक वेदबहादुर गुरुङ ‘श्याम’लाई समेत सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव प्रितम गुरुङले गर्नुभएको थियो भने प्रथम उपाध्यक्ष राजबहादुर गुरुङ ‘राजेश’ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । यसैबीच, साधारणसभाले बन्दसत्रमा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पनि पारित गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %