पाँच मगर बाम एक ठाम : अध्यक्षमा बराल !

Read Time:5 Minute, 17 Second

रूद्र श्रीसमगर

काठमाडौं, साउन ३२ – आफ्ना माउ पार्टीहरूबीच एकता भएपछि मगर मोर्चाहरूबीच पनि एकता भएको छ । एकीकृत नेकपा (माओवादी), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माओवादी, नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिष्ट पार्टीलगायतका १० कम्युनिष्ट घटकबीच एकता भएपछि तिनै पार्टीसम्बद्ध पाँच वटा मगर मोर्चाहरूबीच सोमबार काठमाडौंमा संयुक्त एकता सम्मेलन सम्पन्न भएको हो ।

ललितपुरस्थित खन्ना गार्मेन्टमा भएको सम्मेलनबाट मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल, अखिल मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल, मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल, मगर राष्ट्रिय मुक्ति मोर्चा (क्रान्तिकारी) र मगर मुक्ति मोर्चा नेपालबीच एकता भइ मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल बनेको छ ।

नयाँ एकीकृत मोर्चाको अध्यक्षमा भने पूर्व सभासद् सुदर्शन बरालमगर अध्यक्षमा चयन हुनुभएको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा बालकृष्ण काउछामगर, महासचिवमा दुर्लभकुमार पुनमगरलगायत रहनुभएको छ । सम्मेलनले उपाध्यक्षहरूमा लालबहादुर सुस्लिङमगर, रूद्रबहादुर ठाडामगर, एसबी थापामगर, लेखबहादुर थापामगर, रामचन्द्र थापामगर, लीला सोमैमगरलगायत चयन गरेको छ भने सचिवहरूमा माधवकुमार दर्लामीमगर, चिनीमाया कालामगर, लोकेन्द्र थापामगर, अनिता थापामगरलगायतलाई चयन गरेको छ । एकता सम्मेलनबाट ३९९ सदस्यीय सम्मेलन आयोजक समिति बनेको छ ।

यसअघि, एकता सम्मेलनको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालय सदस्य एवं पार्टीका जातीय विभाग इञ्चार्ज देव गुरुङले नेपाली क्रान्तिलाई नयाँ ढंगले अघि बढाउन कम्युनिष्ट क्रान्तिकारीहरूबीच एकता अनिवार्य सर्त रहेको बताउनुभयो । अहिले राष्ट्रिय स्वाधीनताको प्रश्न मुख्य बनेर आएको भन्दै नेता गुरुङले राष्ट्रिय मुक्ति युद्धसँग जोडेर मात्रै जातीय मुक्ति आन्दोलन सफल हुने तर्क गर्नुभयो । नयाँ संविधानमा टुक्रा टुक्रामा विभाजित मगरात भूमिलाई मगर मोर्चाले जोड्नका निम्ति संघर्ष गर्नुपर्ने भन्दै गुरुङले उत्पीडित जातिहरूले स्वायत्तता र स्वशासनको अभ्यास गर्न पाउनुपर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै, पार्टीका केन्द्रीय सचिवालय सदस्य एवं जातीय विभाग सह–इञ्चार्ज तथा पार्टीनिकट आदिवासी जनजाति राष्ट्रिय महासंघका महासचिव सुरेश आलेमगरले सर्वहारा वर्ग भनेको वैचारिक वर्ग भएको उल्लेख गर्दै सर्वहारा वर्गीय विचारले मात्रै जातीय मुक्ति आन्दोलन निष्कर्षमा पु¥याउन सकिने बताउनुभयो । शक्ति सञ्चय गरेर क्रान्तिलाई नयाँ तरिकाले अघि बढाउन उत्पीडित जनताहरूबीच एकता अपरिहार्य रहेको भन्दै नेता आलेमगरले गणतन्त्रवादी क्रान्तिकारी मगरहरूले प्रतिक्रियावाद र साम्राज्यवादका विरुद्ध संघर्ष गर्न आवश्यक रहेको बताउनुभयो ।  

सांसद तुलसा रानामगरले पार्टीका केही नेताहरूले महिला नेतृहरू मन्त्री बन्न सक्षम नभएको भनेर प्रचार गरिएकोमा आपत्ति जनाउँदै महिला नेतृहरूलाई कम नआँक्न चेतावनी दिनुभयो । महिला नेतृहरूले अवसर पाए जुनसुकै जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न सक्ने बताउँदै सांसद् रानामगरले जनयुद्धमा बलिदान गर्ने महिलाहरू देश हाँक्न पनि तयार रहेको बताउनुभयो ।

मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका संस्थापक लोकबहादुर थापामगरको अध्यक्षतामा भएको एकता सम्मेलनको सञ्चालन मोर्चाका अध्यक्ष सुदर्शन बरालमगर र स्वागत एसबी थापामगरले गर्नुभएको थियो ।कार्यक्रममा जनवादी गायक झंकार बुढामगर र जनवादी गायिका कुस्मिता दर्लामीमगरले जनवादी गीत गाएर रमाइलो बनाएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %