सुरज थापा मगर
रुपन्देही, श्रावण ३१ – इन्डियन आर्मीमा १९ बर्ष सेवा गरेर आफ्नो जन्मभुमि फर्केर समाज सेवामा लागिरहेका छन्, दिपक थापा मगर । पिता मन बहादुर थापा मगर र माता लालमति थापा मगरको कोखबाट वि.स. २०२७ मंसीर ८ गते बाग्लुङ्गमा जन्मेका उनी अहिले सैनामैना–४, मुर्गिया, प्रगति टोलमा बस्दै आएका छन् । वि.स. २०४४ सालमा महेन्द्र आर्दश मा.वि. वामीटक्सारबाट एस.एल.सी. पास गरे लगत्तै वि.स. २०४५ सालमा उनी इन्डियन आर्मी भर्ती भएका थिए ।

“समाज सेवा भनेको विशुद्ध रुपमा सेवा गर्नु नै हो । हाम्रो संस्थामा रहेका उपभोक्ताहरुलाई हामीले सेवा गरिरहेका छौं । काम गरे वापत कुनै पनि सुविधा नलिनु नै सेवा हो । समाज सेवा गर्नको लागि कुनै पनि पद नै चाहिन्छ, जस्तो लाग्दैन । आत्मा सन्तुष्टिको लागि नै समाज सेवा गरिन्छ । दाम कमाउन समय लाग्दैन, नाम कमाउन समय लाग्छ, यो पनि समाज सेवा गर्नुको अर्को कारण हो ।”
हरेक दिन बिहान देखि साँझ सम्म नै कार्यालयमा बसेर काम गरिरहने उनले अबको बाकी जीवन समाजको सेवामा नै लागेर बिताउने बताए । सामुदायिक बनले आम्दानी गरेर उपभोक्ताका मध्येका विपन्न वर्गका परिवारहरुलाई निरन्तर सहयोग गर्दै आएको बताए ।
अहिले पर्रोहा सामुदायिक बन उपभोक्ता समुहमा २ हजार उपभोक्ता रहेका छन् । जागिर र समाज सेवामा के फरक छ ? “जागिरमा काम गरे वापत पारिश्रमिक लिइन्छ तर समाज सेवामा काम गरे वापत पारिश्रमिक लिइदैन । फरक यत्ति हो । जागिर गर्नु भन्दा समाज सेवा गर्नुमा आनन्द छ ।” समाजमा रहेर हरेक कुरामा चासो राख्नु र हरेक सामाजिक काममा सक्रिय हुनु नै उनले समाजमा रहनुको औचित्य मान्छन् ।
हिजाको दिन कसरी बित्यो भन्नु भन्दा पनि भोलीको दिन कस्तो बनाउने भन्ने बारेमा सोच्नु नै राम्रो हो र सकरात्मक सोचका साथ अघि बढेमा समाज परिवर्तन गर्न समय नलाग्ने उनले बताए । उनले आफु सधै भरी समाजको सेवामा लागिरहने बताए ।
