रूद्र श्रीसमगर
पोखरा, साउन २८ – २२ औं विश्व आदिवासी दिवस (अगष्ट ९) तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को १७ औं स्थापना दिवसका अवसरमा पोखरामा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा केक काटेर शुभकामना साटासाट गरी स्थापना दिवस मनाइएको थियो ।
फोनिज कास्कीको आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले आदिवासी जनजाति सशक्तिकरणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण र उल्लेखनीय हुने बताएका छन् । बिहीबार आयोजित ‘आदिवासी जनजाति सशक्तिकरणमा सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रियामा बोल्दै आदिवासी जनजाति महासंघ हङकङका उपाध्यक्ष दुर्गाबहादुर गुरुङ ‘मिलन’ले आदिवासी जनजाति समुदायमा जागरण ल्याउनका लागि आदिवासी जनजाति पत्रकारहरूको अग्रणी भूमिका रहेको बताउनुभयो ।
राज्यको चौथो अंग मानिने पत्रकारिता र कर्मचारीतन्त्रमा आदिवासी जनजातिको पहुँच एवं सहभागिता अनिवार्य भएको बताउँदै गुरुङले विदेशिनुभन्दा स्वदेशमै केही गर्ने सोंच बनाउनु आवश्यक रहेको बताउनुभयो । राजनीतिक दलहरूले आदिवासी जनजातिहरूलाई उपयोग मात्रै गरेको बताउँदै उहाँले अब आदिवासी जनजाति समुदायमा निर्णय क्षमता र नेतृत्व विकास गर्नुपर्नेमा जोड दिनुभयो । हङकङमा पनि फोनिजको शाखा खोल्न सुझाव दिँदै गुरुङले पत्रकारिताको विकासका लागि आफ्नो निरन्तर सहयोग रहने वचन पनि दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष पानबहादुर घर्तीले आदिवासी जनजातिमाथि भएका अन्याय र अत्याचारविरुद्ध कलम चलाउन आदिवासी जनजाति पत्रकारलाई आग्रह गर्दै देशमा नयाँ संविधान आएपनि आदिवासी जनजाति समुदायले अधिकार नपाएको उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रूद्र भट्टले राज्यका सबै निकायमा आदिवासी जनजाति समुदायको पहुँच र प्रतिनिधित्वका लागि बोली र व्यवहारमा एकरुपता आवश्यक भएको बताउँदै केही टाठाबाठाहरूले आदिवासी जनजातिमाथि शासन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, कास्कीका अध्यक्ष राजकुमारी भुजेल, तमु सञ्चारकर्मी संघ नेपालका केन्द्रीय अध्यक्ष मीना गुरुङ, फोनिज कास्कीका संस्थापक सह–सचिव एवं नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी ‘आस्था’ मगर, नेपाल तामाङ घेदुङ प्रदेश नं. ४ का संयोजक दीपक वाइबा तामाङ, आदिवासी जनजाति युवा नेता लालबहादुर गुरुङ, थकाली सेवा समिति, पोखराका अध्यक्ष विश्वमोहन गौचनलगायतले पत्रकारिताको विकासमा फोनिजले उल्लेखनीय भूमिका खेलेको बताएका थिए ।
फोनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रोशनी गुरुङ र उपाध्यक्ष रूद्रबहादुर श्रीसले स्वागत गर्नुभएको थियो ।
