नर्कमा फँसेकी सुमित्रालाई उद्धार गरियो, तर त्यहाँ हजारौं सुमित्राहरू छन् ।

Read Time:20 Minute, 4 Second

हुम सुनारी मगर

श्रावण,२७-गएको शुक्रबार, ५ अगष्टमा जेद्दाबाट ङ्गिमा शेर्पाले अलपत्र परेको एकजना नेपाली चेलीलाई उद्धार गरिदिनुस् भनेर म्यासेज गर्नुभएको थियो। वहाँले साथमा पीडित महिलाको नाम र उनको सम्पर्क नम्बर पनि दिनुभएको थियो।

०६ तारिख अगष्ट, शनिबार बिहान मैले सो नम्बरमा सम्पर्क गरेँ। उनको नाम र ठेगाना सोधेँ। उनि तालामाराङ्-०२, सिन्धुपाल्चोक कि सुमित्रा थिङ् (नाम परिबर्तन) रहेछिन्। उनको समस्या सोधेँ। मालिकद्वारा यौन शोषण, शारीरिक तथा मानसिक यातना आदि बताइन्। फोनमा रुदैं, छिट्टो उद्धार गरिदिनुस् दाई भनेर अनुरोध बिन्ती बिसाइन्, सुमित्राले। उनि, साउदीको राजधानी रियाद मै रहेको थाहा भयो। तर, यति ठूलो शहरको कुन ठाउँमा छिन् त सुमित्रा, पत्ता लगाउँन चुनौती थियो।

तीन दिन पछि सुमित्रा बसेको घर र स्थान पत्ता लाग्यो। ९ अगष्ट, मंगलबार उनि बसेको स्थान र घर त्यहि हो कि होइन, निधो गर्न गईयो। स्थान र घर त्यहि रहेछ। उनलाई ७० मिटर जतिको दुरीबाट भेट गरियो। उनि त्यहि नर्क जीवन बिताईरहेकी सुमित्रा नै रहेछिन्। अनुकुल समय मिलाएर छिट्टै उद्धार गरिने बचन दिइयो।

१० अगष्ट, बुधबार सुमित्रालाई उनि बसेकै घरबाट उद्धार गरियो। साउदीहरू प्राय:  बिहान अबेरसम्म सुत्छन्। सोहि मौकामा उनलाई उद्धार गरेर नेपाली दूताबास, रियाद ल्याईयो। अहिले सुमित्रालाई नेपाली दूताबास, रियादको शेल्टरमा राखिएको छ। उनलाई कुवैतबाट साउदी ल्याइएको हुनाले स्वदेश फिर्ता गर्ने प्रक्रिया केहि जटिल हुने र उनको स्वदेश फर्किने समय केहि लम्बिन सक्ने साउदीका लागि कार्यवाहक राजदूत आनन्द शर्मा बताउँनु हुन्छ। सुमित्रालाई कुवैत हुँदै साउदी पठाउन त्रिभुवन विमानस्थल मै सेटिङ्ग ।

सुमित्रालाई दूताबास ल्याईसके पछि उनिसँग गरिएको कुराकानीको आधारमा यो रिपोर्ट तयार पारिएको हो।   सुमित्रा श्रम स्वीकृति बिना त्रिभुवन विमानस्थलबाट नै कुवैत हुँदै साउदी ल्याइएको रहेछ। त्रिभुवन विमानस्थलको प्रवेशद्वारदेखि अध्यागमन विभागसम्म त्यहाँका प्रहरीहरू र कर्मचारीहरू कै मिलेमतो (सेटिङ्) मा रीतालाई विमानसम्म पुर्याएको उनले बताइन्। सुमित्रा यो भन्दा पहिला कहिल्यै वैदेशिक रोजगारको लागि विदेश नगएको र उनले चार महिना अगाडी कुवैत हुँदै साउदी उड्नु भन्दा केहि महिना अगाडी मात्र एम.आर.पि. राहदानी बनाएको बताउँछिन्। सो सक्कली राहदानी सुमित्राको मालिकले राखेको छ।

गजबको तथ्य यहाँ के भेटिएको छ भने उनलाई पठाउने दलालले २६ मार्च २०१० मै परराष्ट्र मन्त्रालय काठमाडौँबाट मैनाली नामका चिफ अफ प्रोटोकलले हस्ताक्षर गरेको हस्तलिखित राहदानी उनको नाममा जारि गरेको देखिन्छ। जुन सक्कली एम.आर.पि. राहदानीसँगै अट्याच गरि साउदी पठाइएको भेटिन्छ। तर, सुमित्राले त्यस्तो राहदानी पहिला कहिल्यै नबनाएको र नदेखेको बताऊँछिन्। सो हस्तलिखित राहदानी अनुसार सुमित्रा २०१० मै भारतको मुम्बई हुँदै कुवैत पुगेको देखाएको छ। र, त्यसको दुई बर्षपछि अथवा १३ जुन २०१२ मा त्रिभुवन विमानस्थल काठमाडौँमा झरेको भन्ने विमानस्थल कै अध्यागमनले अराइभल स्टिकर टाँसेको देखिन्छ ।

स्मरण रहोस्, सुमित्रालाई ४ महिना अगाडी मात्र कुवैत हुँदै साउदी पठाउँदा उनलाई विमानस्थल पुर्याउने दलालले सो राहदानी तिमी दुबई पुगेपछि च्यातेर डस्टविनमा फ्याक्नु भनि अर्हाएका थिए। तर, सुमित्राले त्यसो गरिनन्। सो राहदानी उनले अहिलेसम्म सुरक्षित राखेको भेटियो। अब, सो नक्कली राहदानी अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो हनुमानढोका पठाईनेछ।   

  सुमित्रा कुवैत हुँदै साउदी कसरी पुगिन् ?

सुमित्रा कुवेत पुगेपछि उनलाई त्यहाँ एक महिना राखियो। उनलाई कुवैतका नेपाली एजेण्ट एल.बि. ठकुरी भन्नेले त्यहाँ मासिक ७० डिनार तलब पाउने गरि एक महिनासम्म एक कुवेतीको घरमा काममा लगाएको बुझिन्छ। तर, कुवैतमा सुमित्राले एक महिना काम गरेको एक पैसा पनि पाएन। ठकुरीले कुवैतमा साहदा जैद सौद नाम राखेर अफिस सञ्चालन गरिबसेको बुझिन्छ।

सुमित्रालाई कुवैतमा एक महिना राखेपछि ठकुरी मार्फत नै साउदीका एक व्यक्तिलाई एक हजार कुवेती डिनार अथवा झन्डै तीन लाख ५४ हजार रुपैयाँमा बिक्री गरेको बुझिन्छ। उनलाई लिन साउदीबाट महिला (मालिक्नी) गएको सुमित्रा बताउँछिन्।  

यसबाट के बुझ्न सकिन्छ भने साउदीका मानिसहरूले कुवैतमा अड्डा जमाएर बसेका नेपाली र अन्य मुलुकका एजेण्टहरू (मानव तस्करहरू) बाट नेपाली घरेलु महिला कामदारहरू कुवैतबाट साउदी भित्र्याइएको देखिन्छ। पछिल्लो समयमा भारतको मुम्बई र दिल्लीबाट नेपाली महिलाहरू सप्लाई गर्न कडाई भएपछि मानव तस्कर  र साउदीहरूले यो विकल्प अपनाएको हो भन्न सकिन्छ।

पछिल्लो समयमा कैयौं नेपाली महिलाहरू घरेलु कामदारको रूपमा कुवैत हुँदै साउदी भित्र्याएको हुनसक्ने अनुमान गर्न सकिन्छ। त्यसको लागि कुवैतमा अड्डा जमाएर बसेका नेपाली तथा अन्य मुलुकका एजेण्टहरूले नेपाली महिलाहरूलाई कुवैत झिकाएर साउदीका मानिसहरूलाई मोटो रकम असुली बिक्री गरेको ठहर गर्न सकिन्छ।    

योन शोषण गर्ने र घरेलु काममा लगाउनका लागि साउदीहरूले नेपाली महिलाहरूलाई मोटो रकम लगानी गर्न तयार हुन्छन्। सो रकम मानवतस्करहरूले असुल्छन्  र केहि रकम घरेलु कामदारको रूपमा साउदी जाने महिलाबाट पनि असुल्छन्।  

 सुमित्रा साउदी आईपुगे पछि उनको जीवन नर्कमा परिणत भयो। उनलाई आफ्नै मालिकद्वारा शारिरिक तथा मानसिक रूपमा यातना दिन थालियो। उनि साउदीको तीन महिनाको बसाई अत्यन्तै कष्टपूर्ण रहयो। कैयौं पटक उनि आफ्नै मालिकबाट यौन शिकार हुन पुगिन्। उनको मालिकको जबर्जस्तिका कारण अहिले उनको यौनिमा घाउ परेको सुमित्रा बताउँछिन्। उनको त्यो पीडा र चित्कार कसैले सुन्ने अवस्था थिएन।   सुमित्राले आफ्नो पीडा सुनाउँदै भनिन्, ‘त्यो राक्षस आफ्नो स्वास्नीलाई छलेर म सुत्ने कोठामा जबर्जस्ति छिर्दथ्यो। उसले मलाई हप्तामा एकपटक जबर्जस्ती यौन शोषण गर्थ्यो । अस्वीकार गरे मारिदिने धम्कि दिन्थ्यो। मैले यौन शोषण गरेको कुरा मालिक्नीलाई भनिस् भने उनले नै तिमीलाई मार्छ, भन्दै सुमित्रालाई तर्साउँथ्यो। त्यसैले, म बाँच्न कै लागि भए पनि त्यो पशुले जबर्जस्ती गर्दा पनि प्रतिकार गर्न सक्दिनथेँ” – सुमित्रा थप्छिन् । यसरी मेरो नर्कको जीवन बितेको थियो भन्दै उनि भक्कानिदै रुन थालिन्।   दिनमा १७-१८ घण्टासम्म घरको काममा खटाउथ्यो। उनीहरूले भनेको जस्तो नभएमा कुटपिट पनि गर्ने गर्थ्यो । कहिल्यै पनि राम्रोसँग सुत्न पाइदैनथ्यो। न त पेट भरि खान पाउथ्यो।

  सुमित्राको उद्धार कसरी सम्भव भयो।

 सुमित्रालाई उद्धार गर्न रियाद शहरभन्दा एक हजार किलोमिटर टाढा बस्ने ङ्गिमा शेर्पाले मलाई जानकारी गराए। वहाँ मार्फत नै सुमित्राको सम्पर्क नम्बर प्राप्त भयो। मैले सुमित्रालाई सम्पर्क गरेँ। सुमित्राले माथि बयान गरेका मध्ये केहि उनले संक्षिप्तमा बताइन्, फोन मार्फत। सबै वेदनाहरू सुनिसके पछि मैले तिमीलाई जति सक्दो छिटो उद्धार गर्ने पहल गर्छु है भनेर सम्झाएँ। उनलाई ढाडस दिन कोशिस गरेँ। सक्छौ भने वाट्सपबाट तिमी बसेको घरको लोकेसन म्याप पठाऊ भनेर सम्झाएँ। उनलाई सामाजिक सञ्जाल फेसबुक र इमो जस्ता नेटवर्कहरू बारे ज्ञान रहेछ। र, उनि बसेको घरमा वाइफाई चलाउन मिल्ने पनि रहेछ। मैले सुमित्राको मोबाईलमा वाट्सप डाउनलोड गरेर लोकेसन म्याप पठाउन लगाएँ।

केहि दिन लगाएर वाट्सप डाउनलोड गर्न सफल भइन्, सुमित्रा। उनि बस्ने घरको करेन्ट लोकेसन पनि मलाई पठाउन सफल भइन्।

उनि बसेको लोकेसन म्याप उपलब्ध भए पछि ड्युटी सकाएर त्यो ठाउँ सहि हो या होइन पत्ता लगाउँन जाने निर्णय गरेँ। पाच बजे अफिस सकिन्छ मेरो। ४.३० मै सुमित्रा भएको ठाउँमा जान कुमारीजी (मेरो श्रीमतीजी) लाई तयार हुन भनेँ। पीडित महिलाहरू उद्धार गर्न जाँदा सधै म फ्याम्ली लिएर जाने गर्छु। त्यसो गर्दा सुरक्षित हुन्छ। ठिक ५. १० मा सो स्थानलाई गूगल रूट गरेँ। मेरो स्थानदेखि त्यहाँ पुग्न २२ कि.मि. रहेछ। लोकेसन ट्रयाकिङ् गरेर अगाडी बढें। ठिक आधा घण्टामा सुमित्रा बसेको ठाउँमा पुग्यौं।

  उनि बसेको घर पुरै रेसिडेन्सियल क्षेत्रमा रहेछ। नजिकै ठुलो बिल्डिंग छ। त्यो बिल्डिंग विद्यालय भवन रहेछ। सोहि भवन अगाडी एउटा डम्प राखिएको रहेछ। त्यहाँ जानु अगाडी नै त्यो लोकेसन उपलब्ध हुनासाथ त्यो स्थान रियाद शहरको कुन क्षेत्रमा पर्ने रहेछ भनेर गूगलमा हेरेको थिएँ। त्यो लोकेसन लगभग पत्ता लागेपछि सुमित्रालाई कल गरेँ। तिमी बस्ने घर अगाडी एउटा विद्यालय भवन रहेछ है भनि सोधेको थिएँ। छन त छ, एउटा ठुलो बिल्डिंग। तर, त्यो के हो मलाई थाहा भएन भनेकी थिइन्, सुमित्राले।

  गूगलले बताए अनुसार सो स्थानमा पुगेपछि सुमित्रालाई कल गरेँ। हामी तिमी बसेको घर नजिकै आईपुगेका छौ, भनेँ। अब, यो तिमी बसेकै घर हो भन्ने कसरी निधो गर्ने भनेर मैले सोधेँ। त्यतिबेला, उनि उनको मालिक्नीसँग बसेकी रहेछिन्। म एकछिनमा बाहिर फोहोर फाल्न निस्कन्छु, भनि। केहीबेर पछि एउटी महिला कालो प्लास्टिकको ठूलो झोलामा फोहोर बोक्दै बाहिर निस्की।

  उनि मोबाईल बोक्दै बाहिर निस्केकी रहेछिन्। मलाई पुन: मिस कल गरिन्। मैले कल ब्याक गरेँ। उनले फोहोर फ्याक्ने डम्प र मैले गाडी पार्क गरेको ठाउँ झन्डै ७० मिटर जतिको दूरी थियो। हामी यस्तो प्रकारको गाडीमा छौं, बायाँपट्टि हेर भनेँ। उनले हामीलाई देख्यौ। मैले फोनबाटै सोधेँ, “हामीसँग अहिले नै भाग्छौ कि पछि”। अहिले मालिक्नीले वाट्च गरिरहेको छ, अहिले मिल्दैन भन्यो। घरमा कोहि नभएको बेलामा अथवा सबै सुतेको बेलामा लिन आउनुस् दाई भनेर फोन मै कुरा गर्दै सुमित्रा आफू बसेको घरभित्र छिरिन्।

  मैले गाडी स्टार्ट गरेर हिड्नै लागेका थिएँ । अचानक एकजना मानिसले मेरो गाडीलाई ब्लक गर्यो। मैले ब्याक गरेँ। त्यसले पनि ब्याक गर्यो। सोहि मौकामा मैले गति बढाएर गाडी अगाडी बढाएँ। उसले मेरो पिछा गर्यो। केहि अगाडी टर्निङ्ग थियो। सो टर्निङ्गबाट मलाई उसले फेरी ओभरट्याक गर्यो। मैले गाडी बिस्तारै अगाडी बढाएँ। तर, गाडी रोकिनं। उसले पनि मेरो गाडी कै गतिमा उसको गाडी अगाडी बढाउँदै थियो।

  उसको गाडीको सिसा कालो भएकोले त्यो मान्छेलाई देख्न सकिएको थिएन। सुमित्रालाई उद्धार गर्न गएको र उनिसँग मोबाईलमा कुराकानी गरेको सुमित्राको मालिकले चाल पाएछ भन्ने लाग्यो, मलाई। त्यसपछि म डरले केहि प्रतिकार गर्न सकिरहेको थिएन। केहीबेरमा त्यो मान्छेले आफ्नो गाडीको सिसा उघारेर उसको मोबाईलबाट हाम्रो फोटो खिच्यो र त्यो मान्छे आफ्नो बाटो लाग्यो। त्यसपछि मलाई झन् डर लाग्यो। म गाडी मोडेर मेरो गन्तब्यतिर हुइकिएं।

  मलाई अतिनै डर लागिरहेको थियो। अब, सिधै नेपाली दूताबासतिर जाने निर्णय गरेँ। त्यस स्थानबाट नेपाली दूताबाससम्म पुग्न झन्डै २०-२५ मिनेटको बाटो रहेछ। दूताबासतिर लाग्दै गर्दा कार्यवाहक राजदूतलाई कल गरेँ। हजुरसँग जरुरि कुरा गर्नुछ भनेर वहाँको निवासतिर हुइकिएं।

  बीच बाटोमा आइपुग्दा एउटा प्रहरीको गाडी मेरो ठ्याक्कै पछाडी आइरहेको मेरो गाडीको सिसाबाट देखेँ। मलाई झन् डर लाग्यो। साउदी पुलिसले मलाई आज नछोड्ने भए भन्ने लाग्यो।  तैपनि, म सिमित गति मै आफ्नो गन्तब्यतिर हुइकिदैछु। केहीबेर पछि त्यो पुलिसले अर्को बाटो समात्यो। त्यस पछि मैले ठूलो राहतको सास फेरेँ।

 केहीबेरमै कार्यवाहक राजदूतको निवास पुगेँ। वहाँलाई भएको घटना बारे सबै बताएँ। ति पीडित सुमित्रा बसेको घर पत्ता लगाएर आएको छु। अब, भोलिपर्सि भित्रै दूताबासको गाडी त्यहाँ पठाएर सुमित्रालाई उद्धार गर्न अनुरोध गरेँ। उनि कहिले भाग्न मिल्छ त्यो अनुकूल समय मिल्ने भएपछि सुमित्रा आफैले उद्धार गर्न बोलाउने छिन् भन्ने जानकारी गराएँ, कार्यवाहक राजदूतलाई।

त्यस दिन मलाई रातभर निद लागेन। मेरो गाडीको नम्बर पक्कै त्यो फोटो खिच्ने व्यक्तिले नोट गरिराखेको छ। साउदीको एमओआई मार्फत गाडीको नम्बर राखे पछि मेरो र मैले काम गर्ने कम्पनीको सबै जानकारी प्राप्त हुन्छ। भएको घटनाबारे मैले मेरो कम्पनीको प्रशासनमा सबै जानकारी गराई सकेको छु। सुमित्रालाई सो घरबाट उद्धार गरेको यो आर्टिकल तयार पार्दासम्म २४ घण्टा बितिसकेको छ। यतिन्जेलसम्म मेरो कम्पनीमा त्यस्तो कतैबाट कुनै इन्क्वेरी भएको छैन। कथम्कदाचित इन्क्वेरी भईहाले पनि कसरी प्रस्तुत हुने भन्ने कम्पनीसँग सल्लाह भएको छ। म माथि कुनै इन्क्वेरी कतैबाट नहोस् भन्दै कामना गरिरहेको अवस्थामा छु।

घरेलु कामदारका लागि साउदी आएका केहि महिलाहरूले राम्रो कमाउने र इज्यतकासाथ बस्न पाउने भएपनि अधिकांस महिला कामदारहरू आफ्नै स्पोन्सरबाट यौन शोषणमा पर्ने, मानसिक र शारीरिक दुर्ब्यबहारबाट शिकार हुने गरेका छन्। सुमित्रा जस्ता साउदीमा नर्कको जीवन जिउने हजारौं नेपाली चेलीहरू छन् । तिनीहरूले कहाँ सम्पर्क गर्ने र कसले उद्धार गर्न सक्छ केहि जानकारी छैन। हजारौं सुमित्राहरू बलात्कृत हुन वाध्य छन्, साउदीमा। पछिल्लो समयमा काठमाडौँदेखि नै प्रहरी, विमानस्थलका कर्मचारी र मानवतस्करहरूको मिलेमतो (सेटिङ) मा कुवैत हुँदै हजारौं नेपाली महिलाहरूलाई साउदी ल्याईपुर्याएको हुनु पर्छ। त्यसको ज्वलन्त उदाहरण र प्रमाण सुमित्रा थिङ् हुन्। यस्तो चरम मानव तस्करी रोक्न नेपाल सरकारले अविलम्ब मेकानिजम तयार पारोस् र कुवेत हुँदै साउदीका लागि महिलाहरू तस्कर गर्ने मानव तस्करीहरूलाई गिरफ्तार गरेर कडाभन्दाकडा सजाए दिईयोस्।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %