१६ वर्षदेखिको अनशन इरोम चानु शर्मिलाले आज १६ वर्ष पछि अनशन तोडिन !

Read Time:6 Minute, 35 Second

राज्यसत्ता 

श्रावण, साउन २६ –  इरोम चानु शर्मिलाले आज १६ वर्ष पछि अनशन तोड्दै छिन् । ४४ वर्षीया अधिकारवादी महिलालाई भारतको ‘आइरन लेडी’को संज्ञा विश्वले दिएको छ ।

राज्यले गरेको दमन विरोधी आन्दोलनका लागि उनी अद्वितिय उदाहरण हुन् । द्वन्द्वमा पिल्सिएको भारतको उत्तर–पूर्वी राज्य मणिपुर निवासी शर्मिलाले आज अदालत समक्ष पेश भएर अनशन तोड्ने जानकारी गराएसँगै उनी प्रहरी हिरासतबाट पनि मुक्त भएकी छिन् । अदालतले उनलाई १० हजार रुपैयाँ धरौटी तोकेको छ । अहिले उनी फेरी न्यायिक हिरासतमा पठाइएका छन् ।

उनले आफू राजनीति गरेर निर्वाचन जितेर मणिपुर राज्यको मुख्यमन्त्री भएरै सुरक्षाकर्मीले प्राप्त अधिकार हटाउने घोषणा गरेकी छिन् ।

इरोमलाई अहिलेसम्म जवाहरलाल नेहेरु स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीको निगरानीमा राखिँदै नाकबाट छिराइएको पाइप ९नासल ट्युब०बाट उनको अनुमति वेगर खुवाउँदै आइएको थियो ।

कानुनी प्रकृया अनुरुप उनलाई हरेक १५ दिनमा अदालत लगिँदै आइएको थियो । उनले पछिल्लो पेशीमा भने सशस्त्र सुरक्षाकर्मीलाई विशेष सुविधा दिने कानुन विरुद्धको लडाईंमा जित हासिल गर्न फरक बाटो अप्नाउने घोषणा गरेकी थिइन् ।

इरोमले अनशन तोडेर राजनीति गर्ने बताएसँगै उनको कैदी जीवनजदेखी राजनीतिसम्मको संघर्षलाई आङसाङ सुकी र नेल्सन मन्डेलासँग तुलना गर्न थालिएको छ ।

उनले बेलायती उपनिवेशवाद विरुद्ध भएको ‘भारत छोड’ अन्दोलनको ७० वर्ष गाँठका दिन अनशन तोड्न लागेकी छिन् । जुन आफैंमा एक स्वतन्त्रताका लागि गरिएको संघर्षको दिन सँग मेल खान जान्छ । जसलाई केही विश्लेषकहरुले भारतको प्रजातान्त्रिक अभ्यास माथीबाट इरोमको विश्वस हराएको रुपमा व्याख्या गर्न थालेका छन् ।

इरोमले सन् २०००, नोभेम्बरका दिन मणिपुरको इम्पाल बाहिर पर्ने सानो गाउँ मालोममा भएको हत्याकाण्डपछि सुरु गरेकी थिइन् । जहाँ सरकारी अर्धसैनिक बल– आसाम राइफल्सका सुरक्षाकर्मीले १० जना मानिसलाई मारेका थिए ।

त्यसबेला उनले सरकारले सशस्त्र सुरक्षाकर्मीलाई दिएको विशेष अधिकार दिने विवादास्पद कानुनलाई परिवर्तन नगरेसम्म अनशन बस्ने घोषणा गरेकी थिइन् । उक्त कानुनले सैनिकलाई द्वन्द्वरत क्षेत्रमा सुरक्षा दिन नाउमा जस्तो सुकै कारवाही गर्ने अधिकार दिएको छ ।

अहिले इरोमको यो अनपेक्षित निर्णयमा उनको बेलायती मुलको भारतीय प्रेमी देशमोन्ड कुटिन्योको प्रमुख भुमिका रहेको बताइएको छ । इरोमलाई विगत १५ हिरासतमा राखिएको थियो जहाँ उनलाई केही सिमित व्यक्तिसँग मात्र भेटघाट गर्ने अनुमति दिइएको थियो । उनको परिवार तथा उनीसँग निरन्तर सम्पर्कमा रहेकाहरुलाई पनि उनको पछिल्लो निर्णयको बारेमा उनले सार्वजनिक रुपमा भनेपछि मात्रै थाह भएको थियो ।

अहिले मणिपुरको सानो गाउँमा उनले अनसन तोडेको दृश्य कैद गर्नका लागि मिडियाकर्मी तथा मानवअधिकारकर्मीहरुको भिड नै लागेको छ ।

इरोमका भाई इरोमसिंहजित सिंहका अनुसार उनलाई हाल ६०–७० वटासम्म फोन आउने गरेको छ । ‘मलाई धेरै फोन आउँछ,’ उनले भने, ‘सबै स्टेसनहरु त्यसैका लागि यहाँ आएको बताउँछन् । म कृषक हुँ, मानवअधिकारवादी होइन । शर्मिलालाई नभेटी म केही भन्न सक्ने अवस्थामै छैन ।’

उनको ८४ वर्षीया आमा जसले इरोमलाई अनसन सुरु गरेदेखि भेटेकी छैनन्, अनशन तोड्ने उनको निर्णय सुनेपछि भनिन्, ‘उसलाई मेरो आशिर्वाद छ ।’

शर्मिलाले आफ्नो माग पुरा नभएसम्म घरमा पाइला नटेक्ने घोषणा समेत गरेकी छिन् भने उनको आमाले पनि छोरी आफ्नो संघर्षमा सफल नभएसम्म नभेट्ने बताएकी छिन् । त्यसैले इरोमले अनशन तोड्ने स्थानमा उनको आमा नजाने भएकी छिन् ।

अनसन तोडेर राजनीतिमा प्रवेश गर्ने इरोमको अभिव्यक्तिले मणिपुरको राजनीतिमा तरंग ल्याइदिएको छ भने त्यहाँका विपक्षी पार्टीहरु उनलाई आफ्नो पार्टीमा सामेल गराउने कसरतमा लागेका छन् ।

उनले सरकारी पक्ष तथा सुरक्षा अधिकारीहरुलाई अनशन तोडेपछि इम्पालमै कार्यालय खोलेर बस्ने ईच्छा जाहेर गरेकी छिन् । तर उनको कार्यालय कहाँ हुन्छ र त्यसको रेखदेख कसले गर्छ भन्ने उनलाई नै थाह नभएको बताइएको छ । यस्तै, अनशन तोडेर हिरासम मुक्त भएपछि पनि उनको कहाँ जाने टुंगो लागेको छैन । उनले मणिपुरकै एक अनाथ आश्रम वा इस्कोनको आश्रममा बस्ने ईच्छा गरेकी छिन् । तर, सुरक्षा अधिकारी तथा राज्य सरकार भने उनको सुरक्षालाई लिएर उनलाई दिल्लीमा जान आग्रह गरिरहेको छ । त्यसमा उनले कुनै प्रतिक्रिया दिएकी छैनन् ।

इरोमलाई त्यहाँका दुई उग्रवादी समुहले राजनीतिमा प्रवेश गरे वा अनसन तोडे मार्ने धम्की समेत दिएका छन् ।

 साभर : कान्तिपुर बाट

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %