भैरब आङ्ला
अषाढ, १३- धरान धनकुटाको सिधुवामा भएको बस दुर्घटनामा परी पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवा सहित १३ जनाको मृत्यू भएको छ । संखुवासभाको मुढे शनिश्चरेबाट धरानतर्फ आउदै गरेको बा २ ख ७३६६ नम्बरको यात्रुवाहाक वस धनकुटाको परेवादिन ३ सिधुवाको चर्च मोडबाट करिव १ सय मिटर तल खस्दा पूर्व अर्थ राज्यमन्त्री हरीराज खेवा सहित ७ जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य र धनकुटा जिल्ला संयोजक समेत रहेका खेवा धनकुटाको हात्तीखर्क गाविस वडा न ५ विबासी हुन् । उनी पहिलो संविधानसभाको धनकुटा क्षेत्र नं. २ मा निर्वाचित भएका थिए । खेवा जिल्लाको मारेककटहरे गाविसमा पार्टीको काम सकेर मारेककटहरे कै चित्रे बजारबाट बस चढेर सदरमुकाम फर्किँदै गर्दा बस दुर्घटनामा परेको नेकपा माओवादी केन्द्र धनकुटाका जिल्ला सह संयोजक ऋषिराम ढुंगानाले जानकारी दिए ।

दुर्घटनामा धनकुटाको परेवादिन ५ की चीनमाया भट्टराई र खिनमाया भट्टराई, धनकुटाको परेवादिन ५ की अतिमाया तामाङ, तारा बस्नेत र ताराकी ३ वर्षकी छोरी र सुनसरीको धरान २ का बेद प्रकाश अग्रवालको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मृत्यु भएका अर्क एक जनाको सनाखत हुन बाँकी रहेको धनकुटा जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । त्यस्तै धनकुटा बुढीमोरङ ८ का सनम तामाङ गाडी चालकको उपचारको क्रममा धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको छ । बिहीबार दिउँसो भएको दुर्घटनामा ३३ जना घाईते भएको प्रहरीले जनाएको छ ।
विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि ल्याई पुर्याएका ३३ जना मध्ये ६ जनाको मृत्यु भएको छ । उपचारको क्रममा ल्याईएका मध्ये फुलेक ६ तेह्रथुमका होमा पौडेल, तेज वहादुर थापा लेगुवा २ धनकुटा, विर बहादुर काफ्ले मारेककटहरे २ धनकुटा, तेज बहादुर थापा लेगुवा २ धनकुटा, वस्नेको मृत्यु भएको छ । अन्य एक जनाको सनाखत हुन सकेको छैन ।
प्रतिष्ठानमा उपचारका लागि ल्याईएका मध्ये १५ जनाको अवस्था गम्भिर र अन्य ६ जनाको अति गम्भिर अवस्था रहेको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आकष्मिक कक्षाका ईन्चार्ज डा. ज्ञान बहादुर मल्लले जानकारी दिए । प्रतिष्ठानमा घाईतेहरुको भिड वढे पछि प्रतिष्ठानले ३३ डाक्टर, ३५ नर्स, वाकी सहयोगको लागि एमविविएस पढने विद्यार्थीहरु परिचालन गरिएको थियो भने प्रतिष्ठानको आकष्मीक कक्षामा साईरन बजाईएको थियो ।
