रूद्र श्रीसमगर
पोखरा, ३१ असार
पर्वत जिल्ला बाजुङ–६, फलाल्ने घर भइ हाल पोखरा–२, मोहरियाटोल निवासी समाजसेवी दुर्गा गुरुङ ‘मिलन’सहित वहाँका परिवारले पोखरा वृद्धाश्रममा फर्निचर, लत्ताकपडा, भोजन तथा फलफूल प्रदान गरेको छ ।
आफ्ना दिवंगत बुबा स्व. नर बहादुर गुरुङको स्मृतिमा गुरुङकी श्रीमती सावित्री गुरुङ, छोरा दुर्गा गुरुङ ‘मिलन’, छोरीहरू कृष्ण माया, ओम माया, देउमाया, लक्ष्मी, विनिता, ज्योतिलगायत परिवारका सदस्यहरूले करिब १ लाख ६ हजार रुपैयाँ बराबरको सामान सहयोग गरेका हुन् । बेलायती भूपू सैनिक समेत रहेका कर्पोरल नर बहादुरको यही असार ८ गते निधन भएको थियो । खाना खाने टेबल तथा बेन्च ३ सेटको कुल ६७ हजार ५ सय, करिब ३० हजार बराबरको कपडा तथा भोजनका लागि १० हजार एक कार्यक्रमका बीच पोखरा वृद्धाश्रमका अध्यक्ष वसन्त केशव पराजुलीलाई हस्तान्तरण गरिएको हो ।
सो अवसरमा बोल्दै मिलन फाउण्डेशन नेपालका संरक्षक एवं मिलन डिजी इन्टरनेशनलका अधयक्ष दुर्गा गुरुङ ‘मिलन’ले आफ्ना दिवंगत बुबाको स्मृतिमा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई पनि आफ्नै बाबाजस्तै सम्झेर सहयोग गरेको बताए । गुरुङले आगामी दिनमा समेत सहयोग गर्दै जाने उल्लेख गरेका छन । पोखरा वृद्धाश्रमका अध्यक्ष वसन्त केशव पराजुलीले आफ्ना दिवंगत आफन्तको सम्झनामा वृद्धवृद्धालाई सहयोग प्रदान गरेकोमा स्व. नर बहादुर गुरुङका परिवारजन प्रति आभार प्रकट गरे । मिलन फाउण्डेशन नेपालका अध्यक्ष गंगा गुरुङले आफ्नो संस्था असहाय बालबालिका, ज्येष्ठ नागरिक तथा विभिन्न विद्यालय तथा आफ्नै गाउँ बाजुङमा सामाजिक काममा आर्थिक तथा भौतिक सामग्री सहयोगमा क्रियाशील रहेको जानकारी दिए । पोखरा वृद्धाश्रममा हाल १४ जिल्लाका विभिन्न जाति समुदायका ६५ जना ज्येष्ठ नागरिक आश्रित रहेका छन् ।
