आगामी दिनमा दुर्ब्यबहार दोहोरिन नदिने प्रहरी निरीक्षक अधिकारीको प्रतिबद्धता
रूद्र श्रीसमगर
पोखरा, ३१ असार
‘प्रहरी मेरो साथी’ कार्यक्रम शुभारम्भ भएकै दिन सोमबार गण्डकी टेलिभिजन तथा आदर्श समाज दैनिकमा कार्यरत पत्रकार नारायण शाहीमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरीहरूले हातपात एवं दुर्ब्यबहार गरेकामा माफी मागेका छन् । पत्रकार शाहीमाथि भएको हातपात एवं दुर्ब्यबहार प्रति खेद व्यक्त गर्दै नेपाल पत्रकार महासंघ कास्की लगायत विभिन्न पत्रकार संघसंगठनको टोलीले मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक घन श्याम अर्यालसँग दुर्ब्यबहार गर्ने प्रहरीमाथि कारबाही माग गरेको थियो । प्रहरी उपरीक्षक अर्यालले पत्रकार माथि भएको दुर्ब्यबहारबाट आफू दुःखित भएको बताउँदै दोषी प्रहरी माथि कारबाही गर्ने आश्वासन दिएका थिए ।
यसैबीच, पत्रकार शाहीमाथि भएको प्रहरी हातपात तथा दुर्ब्यबहारबारे शुक्रबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा भएको छलफलका क्रममा घटनामा संलग्न प्रहरीहरूले माफी मागेका छन् ।
एक घटनाबारे बुझ्न गएका पत्रकार शाहीलाई छलफलका क्रममा अश्लील शब्द प्रयोग गर्दै प्रहरी सहायक निरीक्षकद्वय पूर्ण बहादुर अधिकारी र काजीमान खत्री क्षत्रीले हातपात गरेकोमा माफी मागेका हुन् । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, सचिव त्रिभुवन पौडेल, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बाँस्तोला, रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठलगायतका विभिन्न पत्रकार संघ संगठनका प्रतिनिधिहरू सामु प्रहरी सहायक निरीक्षकद्वय अधिकारी र क्षत्रीले माफी मागेका हुन् । हातपात र दुर्ब्यबहारमा प्रहरी सहायक निरीक्षकद्वय अधिकारी र क्षत्री सहित प्रहरी हवल्दारद्वय सूर्य जैसी र बाबुराम अधिकारी पनि संलग्न रहेको पत्रकार शाहीले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी निरीक्षक विश्वराज अधिकारीले पत्रकार शाहीमाथि प्रहरीबाट दुर्ब्यबहार हुन पुगेको स्वीकार गर्दै आइन्दा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन । दुव्र्यवहार र हातपातमा संलग्न प्रहरीमाथि विभागीय कारबाहीका लागि समेत प्रक्रिया अघि बढेको जनाउँदै प्रहरी निरीक्षक अधिकारीले पत्रकारमाथि हुने कुनै पनि दुर्ब्यबहार आफूलाई सह्य नहुने बताए ।
