देब पचभैया
पाल्पा, असार २७ –तानसेन–७, बतासेडाडा पाल्पाका १४ वर्षिया बालक जमिलदिन मियाँ १२ दिनदेखि सम्पर्कबिहीन भएका छन् । १२ दिन अगाडि जनता उमावि तानसेनमा परीक्षा दिन हिडेका मियाँ परिवारको सम्पर्कमा नआएपछि परिवार चिन्तित बनेका छन् ।
बावासँग परीक्षा शुल्क तिर्न भन्दै एक हजार रुपियाँ र हजुरबुवासँग पाँच सय रुपियाँ लिएर हिडेका जमिल दुई साता बित्नै लाग्दासमेत सम्पर्कमा नआएको बावु जमीरले बताउनुभयो । तानसेनकै महेन्द्रबोधी उमाविमा कक्षा ९ मा पढ्ने अर्जुन राईसँग हिडेको भन्ने खबर पाएपनि अर्जुनसमेत कहाँ छ भन्ने जानकारी नभएको जमीरको भनाई छ । खोजविनका लागि प्रहरी र विद्यालयलाई भनेपनि वास्ता नगरेको उहाँले गुनासो गर्नुभयो ।
घरबाट बिधालय हिडेका छोराले कालो जिन्स पाइन्ट र खैरो टिसर्ट समेत झोलामा हालेर लगेको आमा रोजिनाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय पाल्पाले यस बारेमा खोजबिन भैरहेको जनाएको छ ।
