रूद्र श्रीसमगर
पोखरा, २५ असार – पोखरा–८, सिर्जनाचोकमा रहेको इन्फोम्याटिक्स इन्स्टिच्युटको आयोजना तथा प्रगति युथ क्लब, पोखरा–७, प्रगतिनगरटोलको व्यवस्थापनमा २१ दिने रेडियो पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।

शनिबार समापन गरिएको तालिममा सहभागी प्रशिक्षार्थीहरूले आ–आफ्ना सिकाइ अनुभव व्यक्त गर्दै तालिमले आफूहरूमा आत्मविश्वास बढाएको बताए । जेठ ३२ गतेदेखि सुरु भएको तालिममा प्रमुख प्रशिक्षक फेवा टेलिभिजनका सञ्चारकर्मी विनोद पहारीले प्रशिक्षण दिनुभएको थियो । तालिम समापनका अवसरमा प्रशिक्षार्थीहरूलाई फेवा टेलिभिजनका समाचार शाखा प्रमुख रूद्रबहादुर श्रीस तथा इन्फोम्याटिक्स इन्स्टिच्युटका प्रबन्ध निर्देशक प्रदीपकुमार थापाले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
समापनका अवसरमा बोल्दै प्रमुख अतिथि फेवा टेलिभिजनका समाचार शाखा प्रमुख रूद्रबहादुर श्रीसले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाव दिनुभयो । अभ्यासले नै हरेक कुरामा निपुण हुन सकिने भन्दै श्रीसले प्रशिक्षार्थीहरूको लगनशीलता र प्रतिभाबाट आफू प्रभावित भएको उल्लेख गर्नुभयो ।

त्यस्तै, प्रमुख प्रशिक्षक फेवा टेलिभिजनका सञ्चारकर्मी विनोद पहारीले तालिम लिएर मात्रै केही नहुने भन्दै व्यवहारिक जीवनमा तालिममा सिकेका कुरालाई लागू गर्नुपर्ने भनाइ राख्नुभयो । प्रशिक्षार्थीहरूले निरन्तरको अभ्यासमार्फत् गरेको प्रगतिबाट आफू खुशी भएको बताउँदै अभ्यासलाई निरन्तरता दिन सुझाव दिनुभयो । इन्फोम्याटिक्स इन्स्टिच्युटका प्रबन्ध निर्देशक प्रदीपकुमार थापाले बोल्ने कलाको विकासका लागि तालिमको आवश्यकता रहेकोमा जोड दिँदै सिकेका कुरालाई अभ्यासमार्फत् व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो ।
समापन कार्यक्रममा प्रगतिनगर टोल विकास संस्थाकी उपाध्यक्ष श्रीमाया घोताने, कोषाध्यक्ष शंकर पुन, प्रगति युथ क्लबका अध्यक्ष चित्रबहादुर नेपाली, उपाध्यक्ष मनकाजी सुनार, प्रशिक्षार्थीहरू सविना गुरुङ र कमल परियारलगायतले बोल्नुभएको थियो ।
