मगर संघ कास्की भवन अगाडि गुलमोहर र पुत्राञ्जीको बिरुवा रोपियो
रूद्र श्रीसमगर
पोखरा, २५ असार – नेपाल मगर बौद्ध सेवा समाज कास्कीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न साधारणसभाको उद्घाटन गर्दै नेपाल लाङ्घाली परिवार संघका संस्थापक महासचिव केबी रानामगरले मगर जाति राजनीतिक र धार्मिक रूपमा सचेत हुन आवश्यक रहेको बताउनुभयो । मगर जातिको जातीय धर्म बौद्ध धर्म नै रहेको जिकिर गर्दै रानामगरले मगर समुदायमा बौद्ध धर्म र बुद्ध शिक्षाको अझै प्रचार आवश्यक रहेकोमा जोड दिनुभयो ।
नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले कास्कीका मगर समुदायमा बौद्ध धर्म र बुद्ध शिक्षाको प्रचारका लागि मगर संघले सधैं सहयोग गर्न तयार रहेको बताउनुभयो । बौद्ध धर्म नेपालको मौलिक धर्म भएकाले मगर जातिको जातीय धर्म पनि स्वाभाविक रूपमा बौद्ध धर्म नै भएको दाबी गर्नुभयो ।
नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रीय उपाध्यक्ष टीबी पुनमगरले मगर जातिको मौलिक धर्म बौद्ध नै भएको जिकिर गर्दै कैयन् ऐतिहासिक तथ्यहरूले मगर जाति पनि बौद्ध भएको प्रमाणित हुने दाबी गर्नुभयो । भगवान सिद्धार्थ गौतम बुद्ध र मगर जातिबीचमा गहिरो सम्बन्ध रहेको चर्चा गर्दै पुनमगरले बुद्ध दर्शन र मगर संस्कार एक आपसमा नजिक रहेको बताउनुभयो ।
सो अवसरमा मिन गुरुले धर्म देशना तथा प्रवचन दिनुभएको थियो भने नेपाल मगर संघ कास्कीको भवन अगाडि प्रमुख अतिथि नेपाल लाङ्घाली परिवार संघका संस्थापक महासचिव केबी रानामगरले गुलमोहर तथा नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर र नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रीय उपाध्यक्ष टीबी पुनमगरले पुत्राञ्जीको बिरुवा रोप्नुभएको थियो ।
कार्यक्रममा मगर बिहार, दुलेगौंडाका अध्यक्ष सूर्यबहादुर थापामगरले पनि बोल्नुभएको थियो भने अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन–२०७२ सफल पार्न सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघसंस्थाहरूलाई सम्मान समेत गरिएको थियो । ने
पाल मगर बौद्ध सेवा समाज कास्कीका अध्यक्ष सु. चन्द्रबहादुर मसराङ्गीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव केबी थापामगरले गर्नुभएको थियो भने उपाध्यक्ष नानीमाया पुनमगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
