रूद्रबहादुर श्रीसमगर
पोखरा, असार १८-तमु प्ये ल्हु संघ कास्की शाखाले शनिबार एक कार्यक्रमकाबीच शैक्षिक सत्र २०७२ को प्रवेशिका परीक्षामा सहभागी भै उत्तीर्ण छात्राछात्रलाई संघका पूर्व सचिव खोमप्रसाद खक्यु तमुले आफ्नी ममतामयी आमाको स्मृतिमा स्थापित “कृश्यम तमु स्मृति अक्षयकोष“बाट र प्लस टु उत्तीर्ण छात्राछात्रलाई “वीरमाया ल्हेंगे तमु अक्षयकोष“बाट सम्मान गरिएको हो ।
तमु प्ये ल्हु संघमा आबद्ध समाजका विद्यार्थीहरूलाई थप शिक्षा आर्जन गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ यी दुवै अक्षयकोषको स्थापना गरिएको संघका सचीव लोकेन प्हच्यु तमुले बताउनु भयो । संघको सभाहल फ–लि–ना क्होइबो शक्तिघाट रानिपौवा पोखरामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष क्या. रुपबहादुर गरब्ज तमुले आफ्ना छोराछोरीहरूलाई पढाइमा मात्रै केन्द्रित नगरी भाषा, धर्म, संस्कार, संस्कृतिको विषयमा पनि अवगत गराउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले अहिलेका नयाँ पिढी तमु जातिको सस्कार सस्कृतिमा पिछडिएको बताउँदै यस्ता प्रकारका कार्यक्रमहरूले जातीय उत्थान र संरक्षण तथा सम्वद्र्धनमा टेवा पुग्ने बताउनु भयो । कार्यक्रमका अर्का वक्ता तमु संस्कृतिविद् ले. इन्द्रबहादुर केप्छे तमुले विद्यार्थीहरूलाई बधाई दिनुका साथै तमु जातिको प्ये ता ल्हु ता माथि प्रशिक्षण दिनुभयो । अधिवक्ता जुनाकुमारी तमुले विद्यार्थीहरूलाई विषय रोज्नुका साथै भावी दिनहरूको विषयमा प्रशिक्षण दिनुभयो ।
घका द्वितीय उपाध्यक्ष ओम प्हच्यु तमुले स्वागत, सचिव लोकेन प्हच्यु तमुले सञ्चालन गरेको कार्यक्रममा संघका पूर्व अध्यक्ष क्या. इन्द्रबहादुर च्हम्रु तमुले शुभकामना र संघका अध्यक्ष डब्लु ओ टु भीमबहादुर च्हम्रु तमुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्लस टु उत्तीर्ण २१ जना र एसएलसी उत्तीर्ण १०६ जनालाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा हालै काठमाडौमा सम्पन्न तमु सञ्चारकर्मी संघको केन्द्रीय महाधिवेशनबाट निर्वाचित अध्यक्ष मीना तमु, सचिव रोशनी क्रोम्छे तमु, सदस्य मणि सरब्ज तमु, संघका अध्यक्ष डब्लु ओ टु भीमबहादुर च्हम्रु तमु नेपाल आदिवासी जनजाति संघ पर्वतको अध्यक्ष, संघका कार्यसमिति सदस्य रिम च्हाक्ली तमु नेपाल तमु विद्यार्थी छोंज धिंको केन्द्रीय अध्यक्ष र कार्यसमिति सदस्य दिलमाया क्होंला तमु डढुवा दुर्छ लमजुङ तमु समाजको आमा समितिको अध्यक्ष भएकोमा सम्मानित व्यक्तित्वहरूलाई फेटा, क्रमु र फूलको मालाले दिएर सम्मान गरिएको थियो ।
