रूद्र श्रीसमगर
पोखरा, ८ असार
आफ्नै पहलमा स्थापना गरेको संस्था मिलन फाउण्डेशन नेपाल मार्फत नेपालका विभिन्न ग्रामीण क्षेत्रमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएका फाउण्डेशनका संरक्षक समाजसेवी दुर्गा गुरुङ ‘मिलन’लाई पितृशोक परेको छ ।
समाजसेवी गुरुङका ७१ वर्षीय बुबा भूपू कर्पोरल नर बहादुर गुरुङको बुधबार दिउँसो पोखरा–२, मोहरियाटोल, भूपिमार्ग स्थित आफ्नै निवासमा निधन भएको हो । पर्वतको बाजुङ–६, फलाल्नेमा सन १९४५ मा जन्मिएका स्व गुरुङ लामो समयदेखि क्यान्सरबाट पीडित थिए । स्व गुरुङलाई हङकङमा लामो समय उपचारपछि नेपाल फिर्ता ल्याइएको थियो ।
स्व गुरुङ बेलायती सेनाको १/२ गोर्खा राइफलबाट सेवा निवृत्त भइ बाजुङ–पोखरा सम्पर्क सेवा समिति तथा बाजुङ फाल्गु तमु समाज पोखराको अध्यक्ष भइ समाजसेवामा समेत सक्रिय थिए । स्व गुरुङका एक छोरा र छ छोरी छन् । स्व गुरुङका छोरा दुर्गा गुरुङ ‘मिलन’ मिलन फाउण्डेशन नेपालको संरक्षक नेकपा (माओवादी केन्द्र)निकट तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य एवं हङकङ अध्यक्ष, आदिवासी जनजाति महासंघ हङकङका उपाध्यक्ष लगायत थुप्रै राजनीतिक एवं सामाजिक संघसंस्थामा क्रियाशील रहेका छन ।
स्व गुरुङको बिहीबार बिहान तमु बौद्ध परम्परा अनुसार शवयात्रासहित अन्त्येष्टि गरिने भएको छ । स्व गुरुङप्रति श्रद्धाञ्जली दिनका लागि निवासमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू एवं आफन्तहरूको भीड लागेको थियो ।
