डिमन पचभैया मगर
नवलपरासी, असार ९
गएको जेठ १३ गते संकास्पद रुपमा मृत भेटिएकी नवलपरासी ८ भुताहाकी मनिषा घर्तीमगरको हत्या आरोपमा पक्राउ परेका मनिषा प्रेमी रुद्र नारायण (आशिष) चौधरी थुनामा परेका छन् । उनलाई पछि ठहरे बमोजिम सजाय हुने गरी जिल्ला अदालत नवलपरासीले पुर्पक्षकालागी थुनामा राख्न आदेश दिएपछि उनी थुनामा परेका हुन् ।
मनिषा नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी विमल घर्तीका बहिनि हुन् ।
न्यायाधीश बासुदेवलाल श्रेष्ठको एकल इजलासले चौधरीलाई पछि ठहरे बमोजिम हुने गरी मुलुकी ऐन ११८, २ बमोजि पुर्पक्षकालागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालत नवलपरासीका अधिकृत लक्ष्मण पौडेलले जानकारी दिए । मुद्धामा विमल परिवारको तर्फबाट सरकारी अधिवक्ता रुद्र प्रसाद पन्थी र अन्य अधिकारीहरु सुदर्शन पन्त, आनन्द प्रसाद भुसाल, बाबुराम पोख्रेल, धु्रवराज नन्द गरी ५ जनाले बहस गरेका थिए ।
अभियुक्त आशिषको तर्फबाट रमेश चौधरी, धनजैसी शर्मा र मित्रलाल लामिछानेले बहस गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले २५ दिन अनुसन्धान पश्चात मनिषाको हत्या उनकै प्रेमी आशिषले नै गरेको निश्कर्ष निकाल्दै मुलुकी ऐनको ज्यान सम्बन्धी महलको १३, ३ बमोजिम कर्तव्य ज्यानमा सर्वस्व सहित जन्मकैदको माग गर्दै सोमबार जिल्ला अदालत नवलपरासीमा मुद्धा दायर गरेको थियो । मुद्धा दायर गरिएपछि जिल्ला अदालतले आशिष सँग बयान लिएको थियो ।
१८ वर्षीया मनिषा गत जेष्ठ १३ गते विहान नवलपरासीको बर्दघाट–८ भुताहस्थित आफ्नै घरमा शंकास्पद रुपमा मृत भेटिएकी थिइन् ।
घटना पछि पक्राउ परेका आशिषले मनिषा र आफु बिच लामो समय देखि प्रेम सम्बन्ध रहेको, घटना हुने दिन मनिषा र आफु बिच झगडा पर्दा आपसमा पिटापिट भएको तर आफुले हत्या नगरेको दाबी गर्दे आएका थिए । आशिषको अनुसार मनिषाले झुन्डिएर आत्म हत्या गरेको दाबी छ ।
तर मनिषाले आत्म हत्या गरेको भनिएको सल (रुमाल) आशिषले लुकाउनु, मनिषाको भित्रि कपडा च्यातिनु, घटनाको प्रकृति, मनिषा र अशिष बिचको टेलिफोन, एसएमएस, आशिषले मनिषाको साथीलाई फोन गरेर मनिषालाई मार्ने धम्की दिनु लगाएतका प्रमाणका आधारमा प्रहरी मनिषा हत्यामा आशिष रहेको निष्कर्षमा पुगेको हो ।
