रूद्र श्रीसमगर
पोखरा, जेठ ३ -नेकपा (माओवादी केन्द्र) कास्कीको जिल्ला एकता भेला सम्पन्न भएको छ । एकता भेलाबाट राजकाजी गुरुङ ‘करण’को संयोजकत्वमा ६५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन भएको छ । भेलाले ९९ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ ।
यसअघि, भेलाको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश नं. ४ का संयोजक डिलाराम आचार्यले एकताले कार्यकर्ता र जनतामा उत्साह ल्याएको बताउनुभयो । पार्टीलाई एकढिक्का र एकताबद्ध बनाएर समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्नेमा जोड दिँदै संयोजक आचार्यले पार्टी एकताले नेपालमा मात्र नभइ विश्व कम्युनिष्ट आन्दोलनमै नयाँ सन्देश दिएको दाबी गर्नुभयो ।
भेलामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिवालय सदस्यहरू हरिबहादुर चुमान ‘अजित’, भक्त रसाइली, देवेन्द्र पौडेल ‘प्रताप’, राजकाजी गुरुङ ‘करण’, अर्जुन छन्त्याललगायतले सम्बोधन गरेका थिए ।
