रूद्र श्रीसमगर
पोखरा, असार २- नेकपा (माओवादी केन्द्र)निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको प्रदेश नं. ४ स्तरीय एकता भेला सम्पन्न भएको छ । एकता भेलाले त्रिभुवन पौडेल (कास्की)को संयोजकत्वमा ६ सदस्यीय कार्यालय टिमसहित ६१ सदस्यीय प्रादेशिक सम्मेलन आयोजक समिति चयन गरेको छ । तत्कालिन क्रान्तिकारी पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ नेपाललगायतका विभिन्न क्रान्तिकारी पत्रकार संगठनहरूबीच केन्द्रमा एकता भएपश्चात प्रदेश नं. ४ को एकता भेला सम्पन्न भएको हो ।
भेलाबाट चयन भएका सह–संयोजकहरूमा दीपक जलन (गोरखा), दीपक भट्टराई (नवलपरासी), रतन गुरुङ (कास्की), गोमा घिमिरे (कास्की) र रूद्रबहादुर श्रीस (कास्की) रहनुभएको छ । साथै, भेलाले असार महिनाभित्र प्रदेश अन्तर्गतका जिल्लाहरूको एकता भेला तथा सम्मेलन गरिसक्ने र साउन महिनाभित्रमा प्रदेश एकता सम्मेलन गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी, भेलाबाट सात सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ ।
जसमा कोमलनाथ बराल, नारायण भट्टराई, पदम रेग्मी, मुकेशचन्द्र राजभण्डारी, नवीन कुइँकेल, कमला केसी रहनुभएको छ । यसअघि, एकता भेलाको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश नं. ४ का संयोजक डिलाराम आचार्यले प्रेस सेन्टर नेपाल आम पत्रकारहरूको आकर्षणको केन्द्र बनेको दाबी गर्नुभयो । देशव्यापी एवं अन्तर्राष्ट्रिय रूपमा पनि अहिले माओवादीलाई घेराबन्दी गरिएको भन्दै नेता आचार्यले जनता र देशको आवश्यकतालाई मध्यनजर गरेर क्रान्तिकारी पत्रकारहरूले कलम चलाउनुपर्ने बताउनुभयो ।
भेलामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिवालय सदस्य हरिबहादुर चुमान ‘अजित’, प्रेस सेन्टर नेपालका केन्द्रीय संयोजक गोविन्द आचार्य, केन्द्रीय सल्लाहकार एवं प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष कोमलनाथ बराल, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष खिलबहादुर भण्डारी, पूर्व महासचिव ओम शर्मा, केन्द्रीय सदस्य एवं प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्य राजु लामा, केन्द्रीय कार्यालय सदस्य एलपी बञ्जारा, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रकाश डोटेललगायतले प्रेस सेन्टर नेपाललाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
प्रेस सेन्टर नेपालका प्रदेश नं. ४ कार्यालय सदस्य त्रिभुवन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यालय सदस्य दीपक जलनले गर्नुभएको थियो भने गोमा घिमिरेले स्वागत गर्नुभएको थियो ।
