लोकतान्त्रिक भन्ने शासकहरुको महाराजा बन्ने चाहनाले गर्दा जनता सडकमा आएका हुन्

-राजेश थापा

ब्रिटेन- संघिय समाजबादी फोरम नेपालका केन्द्रिय बैकल्पिक सदस्य टेक बहादुर थापाले लोकतान्त्रिक भन्ने हाम्रा शासकहरुमा श्री ५ र श्री ३ महाराज जस्तै बन्ने चाहना भएकै कारण देशमा राजनैतिक स्थायित्व आउन नसकेको जिकिर गरेका छन । संघिय जनमुक्ति पार्टीको भातृ संगठन जनमुक्ति मंच युकेको दोश्रो महाधिबेशनको उद्घाटन समारोहमा बोल्दै थापाले भने- गणतन्त्र आएपछि श्री ५ संग जोडिएका सम्पूर्ण नामहरु परिबर्तन भए शाही शब्द सबै ठाउँबाट हटाइयो तर श्री ३ चन्द्र शम्सेरले १९०८मा बनाएको सिंह दरबारको नाम किन फेरिएन ?
राणा प्रधान मन्त्रीहरुले शासन संचालन गर्न दिएको सिंह दरबार नामसंग लोकतान्त्रिक शासकहरुको किन एती धेरै मोह ? दरबारमा कि राजा बस्छन कि त महाराज लोकतान्त्रिक शासकहरुले कुनै पनि नामको दरबारबाट शासन गर्दैनन् । सिंह जंगलको राजा हो र दरबार उसले शासन चलाउने किल्ला हो । आज केपी ओलिहरु नरभक्षी राजा बन्न खोजेकै कारण उत्पीडित जाती, क्षेत्र र समुदायले आन्दोलन गर्नु परिरहेको छ ।
थापाले भने- अब सिंह दरबार घेर्ने मात्र होइन त्यसको नाम नै फेर्ने मुद्धा उठाउनु पर्छ र सिंह दरबारको नाम फेरेर संघिय नेपाल गृह बनाउनु पर्छ । त्यसैगरी बेलायत स्थित बिभिन्न राजनैतिक पार्टीका भातृ संगठनका नेता तथा संघ सस्थाका प्रतिनिहरुले महाधिबेशन सफलताको शुभकामना मन्तब्य दिएका थिए ।
शुभ कामना ब्यक्त गर्नेहरुमा आदिबासी जनजाति महासंघ बेलायतका अध्यक्ष तुल छन्त्याल, वरिष्ठ उपाध्यक्ष जंग सुनुवार, आदिबासी जनजाती महिला महासंघकी सचिब भावना परिस्कृत सुनुवार, संघीय समाज बेलायतका अध्यक्ष धर्म तामांग, लिम्बुवान समाज यू के का अध्यक्ष चन्द्र सुनुवार, मगर संघ यू के का कोषाध्क्ष नेत्र आले, मगर महिला संघ यू के की अध्यक्ष छबि माया पुन लगायत रहेका थिए । समान बिचार भएका संघियबादी राजनैतिक शक्तिहरु बीचको एकताले मात्र पहिचान र अधिकार स्थापित हुनसक्ने भएकाले पार्टी एकतामा सबै लाग्नु पर्ने विचार बक्ताहरुले राखेका थिए ।
महाधिबेशनले नारायण किशोर पुनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । उक्त कार्य समितिको उपाध्यक्षमा पदम गाहा, हिमाली राना, सचिब नारायण लिम्बु, कोषाध्यक्ष र सह कोषाध्यक्षमा मित्र थापा र लाल सलामी, सदस्यहरुमा टंक मगर, दल बुडा, शोभा राना, हिमा थापा , नबीन बुढाथोकी, तिर्थ थापा, लाल बहादुर गुरुंग, सेतिमान राई, मानध्वज सुब्बा निर्बाचित भएका छन ।
र्थक रानाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रको प्रमुख अतिथि केहेरसिंङ्ग राना थिए भने कार्यक्रमको संचालन कर्मा पहाड़ी शेर्पाले गरेका थिए ।