२१ औं शताब्दीको नयाँ कम्युनिष्ट घोषणापत्र चाहियो : प्रचण्ड

Read Time:3 Minute, 47 Second

रूद्र श्रीसमगर

 पोखरा, २५ जेठ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले २१ औं शताब्दीको नयाँ कम्युनिष्ट घोषणापत्र बनाउनु आवश्यक रहेको बताउनुभएको छ । ४ नं. प्रदेशस्तरीय एकता भेला तथा प्रशिक्षणमा कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा अध्यक्ष प्रचण्डले विभिन्न उतारचढावबाट अघि बढ्दै नयाँ पार्टी निर्माण गरिएको बताउनुभयो । टुटफुट र विभाजनबाट पाठ सिकेर माओवादी पार्टीहरूबीच एकता गरिएको बताउँदै प्रचण्डले अहिले पार्टी एकता मुख्य भएकाले नमिलेका विषय मिलाउँदै जाने उल्लेख गर्नुभयो ।

पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले माओवादीहरूबीचको एकता ऐतिहासिक आवश्यकता भएको बताउँदै आगामी एकताको महाधिवेशनबाट राजनीतिक कार्यदिशा विकास गरेर अघि बढ्ने बताउनुभयो । क्रान्ति अझै पनि अपूर्ण रहेको भन्दै वरिष्ठ नेता प्रकाशले अपूरो क्रान्ति पूरा गर्न नै पार्टी एकता भएको दाबी गर्नुभयो । अर्का वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले माओवादीहरूको एकता अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै रुपान्तरण र आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । माओवादीहरूको एकताले जनता र कार्यकर्तामा उत्साह छाएको बताउँदै वरिष्ठ नेता बादलले एकता क्रान्तिकारीहरूको विजय भएको उल्लेख गर्नुभयो ।

पार्टीका केन्द्रीय कार्यालय सदस्य कृष्णबहादुर महराले एकताले जनता र कार्यकर्तामा उत्साह ल्याएको बताउँदै पार्टीलाई एकताबद्ध बनाएर प्राप्त उपलब्धीको रक्षा गरेर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । त्यस्तै, अर्का नेता देव गुरुङले नयाँ आधारमा नयाँ एकता भएको उल्लेख गर्दै राष्ट्रिय मुक्ति युद्धका लागि तयार रहनुपर्ने आवश्यकता औंल्याउनुभयो । अर्का केन्द्रीय कार्यालय सदस्य मातृका यादवले मधेशी जनता राष्ट्रविहीन भएको बताउँदै मधेशको समस्या हल नगरेसम्म नेपाली क्रान्ति पूरा हुन नसक्ने उल्लेख गर्नुभयो ।

त्यसैगरी, केन्द्रीय कार्यालय सदस्य मणि थापाले माओवादीबाहेक कसैले देशमा विद्यमान समस्याको हल गर्न नसक्ने जिकिर गर्दै समस्या हल गर्न नयाँ आन्दोलनको आवश्यकता औंल्याउनुभयो । केन्द्रीय कार्यालय सदस्य तिलक परियारले अधुरो क्रान्तिलाई पूरा गर्नका लागि पार्टी एकता गरिएको जनाउँदै रुपान्तरणका साथ अघि बढ्नुपर्ने बताउनुभयो । पार्टीका ४ नं. प्रदेश संयोजक डिलाराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य हरिबहादुर चुमान ‘अजित’ले गर्नुभएको थियो भने अर्का केन्द्रीय सदस्य भक्त रसाइलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %