रूद्र श्रीसमगर
पोखरा, २५ जेठ -विभिन्न राजनीतिक दल आबद्ध संयुक्त महिला संघ संघर्ष समिति कास्कीले महिला हिंसा अन्त्यको माग गर्दै सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । दाइजो नल्याएको आरोपमा पर्साकी राधादेवी कानु साह, काठमाडौंकी शुका थापा र चर्चित फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीमगरको निर्ममतापूर्वक हत्या गरिएको र बोक्सीको आरोपमा दाङकी दिव्या चौधरीलाई मरणासन्न हुने गरी कुटपिट गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दलआबद्ध महिला संगठनहरूले दिनहुँ महिला हिंसा बढ्दै गइरहेकोप्रति ज्ञापनपत्रमार्फत् चिन्ता व्यक्त गरेका छन् ।
सोमबार बुझाइएको ज्ञापनपत्रमा एमालेनिकट अखिल नेपाल महिला संघ कास्कीकी अध्यक्ष मञ्जु गुरुङ, कांग्रेसनिकट नेपाल महिला संघ कास्कीकी अध्यक्ष कोपिला रानाभाट, अन्तरपार्टी महिला सञ्जाल कास्कीकी उपाध्यक्ष अनिता रानाभाट र नेकपा (माओवादी केन्द्र)निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कास्कीकी कोषाध्यक्ष सुमिता बस्नेतले हस्ताक्षर गर्नुभएको छ । देशभर भएका उल्लेखित घटनाहरूको सत्यतथ्य छानविन गरी अपराधीलाई कडा कारबाही गर्न माग गर्दै ज्ञापनपत्रमा आम नागरिकको सुरक्षाप्रति संवेदनशील बन्न राज्यलाई आग्रह गरिएको छ ।
