देब पचभैया
नवलपरासी , जेठ १४-राष्ट्रिय फुटवल टोलीका स्ट्राईकर बिमल घर्तीको बहिनि १७ बर्षिया मनिसा घर्तीको हत्याको आरोपमा स्थानिय आशिष भनिने रुद्रनारायण चौधरी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मनिसा र आशिस बिच लामो समय देखि प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले जनाएको छ । आशिष मृतक मनिसाका दाजु बिमलका साथी हुन् । मनिसाको मृत्यु रहस्य मय भन्दै प्रहरीले उनको शब पोष्टमार्टमका लागी काठमाण्डौ पठाएको छ ।
नवलपरासी बर्दघाट ८ पन्चनगर स्थित आफ्नै घरमा मनिसा बिहिबार मृत भेटिएकी थिईन् । उनी बुधबार घरमा एक्लै थिईन् । कामका लागी बुधबार मनिसाकी आमा बुटवल आएका थिए भने औषधी लिन हजुरबुवा चितवन गएका थिए । बिहिबार घर पुग्दा ढोका खुलै रहेको र छोरी मृत भेटिएपछि उनकी आमाले प्रहरी र आफन्तलाई खबर गरेका थिए ।
नवलपरासीका प्रहरी निरिक्षक श्याम केसीका अनुसार मृतक मनिसाको घाटीमा निल डाम छ । टेबुलमा खुट्टा र आधा शरीर खाटमा रहेको अवस्थामा उनको शब भेटिएको थियो । प्रहरीका अनुसार कोठामा रहेको खाटको सिरानी निरको सिसाहरु फुटेको , कपडाहरु लथालिंग फालेको र मृतक मनिसाको शब भित्रि कपडामा मात्रै भेटिएको थियो ।
के भने पक्राउ परेका चौधरीले !
हत्याको आरोपमा पक्राउ परेका मध्ये तिलकपुरका २२ बर्षिय आशिषले बुधबार बेलुका मनिसाको घरमा गएको तर सिमकार्डको बिषयमा झगडा भएपछि मनिसा भित्र र आफु घर बाहिरै सुतेको प्रहरीलाई बयान दिएका छन् । उनले मनिसा र आफु बिचको बिवादमा मनिसाले पहिले एक झापड हानेपछि आफुले पनि थप्पड हानेको प्रहरीलाई बताएका छन् । मनिसा संग घगडा भएपछि एक बोतल बियर खाएको र बाहिरै सुतेको अनि ब्युझिएपछि कोठा भित्र जादा मनिसा झुण्डिएको अवस्थामा भेटेको उनले बयान दिएको प्रहरीले जनाएको छ । मनिसाले पासो लगाएको भनिएको रुमाल भने आशिसले लुकाएका थिए । प्रहरीले खोजतलास गरेपछि उनले घर बाहिर लुकाएको सल प्रहरीलाई बुझाएका थिए । एल,एल,सि अनुतिर्ण २२ बर्षिय आशिसले मनिसालाई निकै मन पराएको प्रहरीलाई बताएका छन् ।
हत्यालाई आत्महत्यामा जोड्न थालिएको मृतकका आफन्तको आरोप
मृतक मनिसाका आफन्तहरुले उनको आशिष भनिने रुद्रनारायणले नै हत्या गरेको आरोप लगाएतका छन् । हत्यालाई आत्महत्यामा जोड्न लागेको भन्दै मनिसाका आफन्तले सत्य तथ्य पत्ता लगाउन प्रहरी लाई दवाब दिएका छन् । हत्यामा संलग्न भनिएका आशिसका आमाले २ जना साथी संग छोरा मनिसाको घरमा गएको प्रहरीलाई बताएका छन् । कक्षा ११ को परिक्षा दिएकी मनिसा घरमै बसेकी थिईन् । उनी बर्दघाट स्थित न्यु लाईफ उच्च माबिकी बिधार्थी थिए । प्रहरी उपरिक्षक राजेन्द्र चौधरीले मृतक मनिसाको शब काठमाण्डौ स्थित टिचिङ्ग हस्पिटलमा पोष्टमार्टमका लागी राखिएको र डाक्टरको रिपोर्ट पछि थप जानकारी प्राप्त हुने बताउनुभयो ।
घटना पछि दाजु बिमल नेपाल फर्किदै
खुट्टामा लागेको चोटको उपचारको लागी गएको बैशाख २९ गते बेल्जिएम गएका मनिसाका दाजु बिमल घर्ती शुक्रबार बिहानै काठमाण्डौ आउदैछन् । सानै उमेरमा बाबु गुमाएका बिमलले आज फेरी एक मात्रै बहिनी पनि गुमाउनु परेको छ । नेपाल प्रहरीका हवल्दार रहदा सडक दुर्घटनामा बिमलका बाबुको ज्यान गएको थियो ।
