मनोज घर्तीमगर
पहिलो पटक पोखरा आउनेहरु आकाशमा ठुलो पखेटा भएको वस्तु नियालेर टोलाईरहन्छन् । कसैले हवाईजहाज भएको अनुमान लगाउछन्, कसैले चराचुरुङ्गी । अनि कसैले अरु केही । पोखरा बाहिरबाट आउने धेरैको अनुमान मेल खादैन । किनकि, ति आकाशमा उड्ने रंगीबिरंगी वस्तु प्याराग्लाइडिङ हुन् । विश्वकै पाँचौ उपयुक्त स्थान मानिएको सराङकोटबाट दिनहुँ प्याराग्लाइडिङ उड्थे । जहाँ पुरुष पाइलट मात्रै हुन्थे ।
समयले कोल्टे फेरेको छ । केही वर्षदेखी पोखराको आकाशमा प्याराग्लाइडिङ यात्रु उडाउँदै छन् महिला पाइलट । प्याराग्लाइडिङ उड्न डराउनेहको भीडमा महिला आफैं पाइलट बनेर उडाइरहेको देख्दा धेरै छक्क पर्छन् । पुरुष जस्तै केही युवतीले प्याराग्लाइडिङ पाइलटका रुपमा पोखराको आकाशमा कावा खाइरहेको अवस्थामा भेटिन्छन् । ‘दाईभाई सबै प्याराग्लाइडिङमा यात्रु राखेर उड्दा मलाईपनि रहर लाग्यो’ पोखराको आकाशमा थुप्रै यात्रु उडाइसकेकी पाइलट पुनम बम्जन भन्छिन्, ‘रहर पूरा गर्न उत्साहित भएर पाइलट भएको हुँ ।’
उसो त बमजन फ्यामलीको बिजेनस नै प्याराग्लाइडिङ थियो । झन्डै २० वर्ष राजेश बम्जनहरुले खोलेको सनराइज प्याराग्लाइडिङ प्रालिको सामिप्यतामा हुर्किइन पुनम । उतिबेला महिला प्याराग्लाइडिङ पाइलट थिएनन् । सनराइजमै बस्दा आक्कल झुक्कल भए पनि विदेशीले सोध्ने गर्थे,‘यू ह्याव लेडिज पाइलट ?’ पुनमलाई लाग्यो, महिला प्याराग्लाइडिङ पाइलट भए व्यवसाय राम्रै होला । अनि, तालिम लिन कस्सिइन् उनी । सन् २००९ बाट उनी पोखराको आकाशमा उड्न थालिन् । प्याराग्लाइडिङको सोखले यस्तरी जरा फैलायो, त्यही सोखले उनलाई प्याराग्लाइडिङ व्यवसायी बनायो । ‘लेडिजले प्याराग्लाइडिङमा उडायो भने खुसी हुने यात्रुहरु थुपैं भेटाएँ’ फिनिक्स प्याराग्लाइडिङ कम्पनी चलाइरहेकी पुनमको अनुभवले भन्छ,‘प्याराग्लाइडिङमा लेडिजका लागि झन् बढी स्कोप छ । यसमा खासै बल प्रयोग पनि हुँदैन ।
साहासिक खेल भएकाले केटा र केटी भन्ने हुँदैन । जोसँग साहस छ तिनले गर्छ सक्छन् ।’
पुरुषको हूलमा युवतीहरु प्याराग्लाइडिङमा यात्रु उडाउँदै गरेको हेर्नेहरु उस्तै हुन्छन्, सराङकोटमा । महिला पाइलटले मुटु दरो पारेर सराङकोटबाट हाम फालेको देख्नेहरुको जिउ सिरिङ्ग हुन्छ । यहाँको आकाशमा सबैभन्दा पहिले उड्ने युवती हुन्, लेकसाइडकी प्रतिभा बोगटी । उनी आफूमात्रै उडिनन्, कयौंलाई प्याराग्लाइडिङमा उडाइन् । अनि त्यहि बाटोमा हिड्न अरु महिलालाई पनि साहस भरिदिइन् । नेपालकै पहिलो महिला प्याराग्लाइडिङ पाइलट प्रतिभाको बाटो समाउँदै प्याराग्लाइडिङमा यात्रु उडाउन थालेकी अर्की पाइलट हुन्, कृसु पौडेल । लेकसाइडकै स्थानीय उनलाई आकाशभरि प्याराग्लाइडिङको ताती देख्दा आफूलाई पनि त्यसरी नै उड्ने चाहना पलाउथ्यो । त्यो चाहाना कृसुले पाँच वर्ष देखी प्याराग्लाइडिङ उडाएर पुरा गरेकी छिन् । एकवर्ष देखी टेण्डम(आफू र एक जना यात्री) फलाइट गराउने लाइसेन्स लिएपछि स्वदेशी तथा विदेशी थुप्रै यात्रुलाई आकाशको सयर गराइसकेकी छन् । ‘पोखराको आकाशमा पुरुष पाइलट मात्रै देखेपछि महिला पनि कम छैनन् भनेर देखाउने सहासले यता डो¥याएको हो’ कृसु भन्छिन्,‘सुरुमा डर लागे पनि अहिले रमाइलो लाग्छ ।’
धेरैभन्दा धेरै महिला पाइलट भित्रयाउने नेपाल हवाई खेलुकद संस्थाले पहल गरे पनि सोचे जति आउन सकिरहेका छैनन् । झन्डै पाँच/सात वर्षअघि आक्कल झुक्कल महिलाहरु प्याराग्लाइडिङ पाइलट बन्न रहर देखाउँथे । तृषा श्रेष्ठले पनि सात वर्ष अघि पहिलोपटक प्याराग्लाइडिङ उडाइन् । पारिवारिक पृष्ठभूमी नै प्याराग्लाइडिङ व्यवयास भएकाले उनलाई यतातिर हाम फाल्न सजिलो भएको हो । ‘मेरो श्रीमान नै नेपालको पहिलो प्याराग्लाइडिङ पाइलट हो । परिवारबाट धेरै सपोर्ट भयो’ तृषा भन्छिन्,‘कति धेरैले प्याराग्लाइडिङ गर्न फिमेल पाइलट खोज्छ । अहिले सजिलो भएको छ ।’
पोखरामा एक सिजनमा झन्डै सय भन्दा बढी युवाहरु प्याराग्लाइडिङ पाइलटको लाइसेन्स लिन प्रशिक्षणका लागि आए पनि महिलाहरु पाउन मुस्किल छ । बिस्तारै महिला पाइलटहरु पनि बढ्दैछन् । हेमजा कास्कीकी सुनिता थापा पनि झन्डै दुई वर्ष देखि सराङकोटको आकाशमा प्याराग्लाइडिङ उडाइरहेकी छन् । उनी व्यावसायिक पाइलट बन्ने धुनमा छिन् । साहासिक हवाई खेलका रुपमा लिइने प्याराग्लाइडिङमा यतिबेला युवतीहरुको उपस्थित बाक्लिदै छ । नेपाल हवाइ खेलकुद संस्थाका महासचिव बसन्त दवाडी महिला पाइलट आएपछि उनीहरु पुरुषले गर्ने हरेक काम गर्न सक्छन् भनेर देखाएको बताउँछन् । ‘केही यात्रुहरुले लेडिज पाइलटसँग उड्दा सजिलो महसुस गरेको पाइएको छ’ महासचिव दवाडी भन्छन्,‘विदेशीहरुले पनि नेपालमा महिला पुरुषमा कुनै भिन्नता छैन भन्ने अनुभव गरेका छन् ।’ पोखरामा अहिलेसम्म पाँच जना महिला प्याराग्लाइडिङ पाइलटले लाइसेन्स प्राप्त गरेका छन् ।