रूद्र श्रीसमगर
६९ दिन अघि बेगनासतालमा मृत भेटिएकी लेखनाथ नगरपालिकानिवासी खिममाया पुनको शनिबार बल्ल अन्त्येष्टि गरिएको छ ।
मृतक खिममायाका परिवारले हत्या भएको भन्दै खिममाया कार्यरत फेवा विकास बैंकका गगनगौंडा शाखा प्रबन्धक अरुण सापकोटाविरुद्ध किटानी जाहेरी दिएको थियो । किटानी जाहेरीपछि प्रहरीले सापकोटालाई प्रहरी हिरासतमा २५ दिन राखी कुनै प्रमाण नभेटिएको भन्दै तारेखमा रिहा गरेको थियो । हत्यारा पत्ता नलगाएसम्म खिममायाका परिवारले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको शव नबुझ्ने अडान लिँदै आएका थिए ।
शनिबार मृतक खिममायाको पोखराको बौद्ध अर्घौं सदनमा मगर परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । सो अवसरमा संगीता पुनको संयोजकत्वमा संघर्ष समिति बनाएर हत्यारा पत्ता लगाउन भन्दै प्रशासनलाई दबाब समेत दिइएको थियो । स्व. खिममायाको श्रद्धाञ्जली सभामा बोल्दै मृतकका बुबा प्रेमबहादुर पुनले छोरीको शव जलाएपनि आफूहरू नहारेको बताउनुभयो । हत्यारा पत्ता लगाएर कारबाही गराउन अझै पनि दबाब जारी राख्ने उहाँले बताउनुभयो ।
संघर्ष समितिकी संयोजक संगीता पुनले खिममायाका हत्यारालाई कारबाही गर्न प्रशासनले बेवास्ता गरेको भन्दै कुनै हालतमा आफूहरूको दबाब नरोकिने बताउनुभयो ।
