गोबिन्द घर्ती
चैत्र ३० । कृषि र पर्यटनको हिसावले रुपन्देहीको देवदह महत्वपूर्ण क्षेत्र रहेको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बताएका छन ।
ढकालले कृषि र पर्यटनलाई व्यवस्थित गर्न सके आर्थिक रुपमा सवल हुन सकिनेमा जोड दिएका थिए । उद्योग व्यापार संगठन देवदह शाखाले नव बर्ष–२०७३ को अवसरमा आयोजित प्रथम देवदह फुड फेस्टिवलको उद्घाटन गर्दै ढकालले उक्त कुरा बताएको हो ।
ढकालले भगवान गौतम बुद्धको मावली स्थल देवदहको विकास विना लुम्विनी विकास कोषले तयार पारेको गुरुयोजना सफल हुन नसक्ने बताए । देवदहको विकासको लागि सम्पूर्ण राजनैतिक दल, विभिन्न संघसंस्था एकजुट भएर लाग्नु पर्नेमा जोड दिए । देवदह क्षेत्रको विकासको लागि राजनैतिकदलहरु पार्टी भन्दा माथि उठेर विकासको क्षेत्रमा लाग्नु पर्ने बताए । ढकालले विभिन्न संघसंस्थाले आयोजना गर्ने यस्ता खाले कार्यक्रमले आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
बाटोमै खाउ बाटोमै रमाउ भन्ने मुल नाराका साथ आयोजना गरिएको फुड फेस्टिवलमा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले २०७२ साल नेपालीको लागि अत्यन्त दुःखको बर्ष भएको भन्दै ०७३ सालमा देशले फड्को मार्ने विश्वास व्यक्त गरे । प्रमुख अतिथि ढकालले पौडेल मिष्ठान भण्डारले तयार गरेको ५० किलोको केक काटेर फुड फेस्टिवलको उद्घाटन गरेको कार्यक्रममा संगठनले प्रकाशन गरेको भित्रेपात्रोको समेत विमोचन गरेका थिए । संगठनका अध्यक्ष गोविन्द ठड्राईको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष गणेश कुमार खातीको स्वागत र सचिव प्रशान्त गैरेको संचालनमा भएको कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष नारायण प्रसाद भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा राष्ट्रिय कलाकार हिमाल सागर, नविन पौडेल, राजन तिल्मिसिना, तेजु अर्याल, प्रशान्त गैरे, सिता थापा लगायतले आ–आफना प्रस्तुती प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्थानीय स्तरमा रहेका विभिन्न जातीय खाना, दुधबाट निर्माण गरिएका परिकारका स्टलहरु राखिएको थियो ।
