हुम सुनारी मगर
बैशाख,१- म गत महिना चैत्रमा बार्षिक विदा मनाउँन स्वदेश गएको थिएँ। म नेपालमा रहँदा मेरो आफन्तहरू भेट्न रुपन्देहीको तिलोत्तमा-१० सेमरा गएको थिएँ। मेरो दुई जना काकाहरू (पूर्व ब्रिटिश गोर्खा) झन्डै ४० बर्ष अगाडिदेखि त्यहाँ बसाई-सराई गरेर स्थायी रूपमा बसोबास गरि बस्दै आउनु भएको छ। पछि मेरो छिमेकी दाजुभाईहरू पनि झन्डै ४० घर त्यहाँ बसाई सरेर स्थायी रूपमा बसोबास गर्नुहुन्छ। म त्यहाँ पुग्दा वहाँहरू मध्ये एकजना दाजु (पूर्व भारतीय गोर्खा) को घरमा टोल भरका मानिसहरू भेला भएका रहेछन्। त्यति धेरै मानिस त्यहाँ किन भेला भएका रहेछन् भन्ने जिज्ञासा भयो मलाई। म पनि वास्तविकता बुझ्न त्यहाँ पुगेँ।
२७ बर्ष अगाडी मेरो छिमेकी (मेरो काकाको छोरा) दाजु, चन्द्र बहादुर सुनारी मगर (पूर्व भारतीय गोर्खा) पाल्पाबाट बसाई-सराई गरेर त्यहाँ (तिलोत्तमा-१३, रुपन्देही) स्थायी रूपमा बस्दै आउनु भएको छ। वहाँ हालसम्म बस्दै आएको जग्गा २७ बर्ष अगाडी एकजना थारू (नाम थाहा हुन सकेन) बाट किनेका रहेछन्। सो जग्गा खरिद गरि त्यतिबेलै त्यहाँ एउटा पक्कि घर निर्माण गरेर बस्दै आउनु भएको छ, वहाँ सपरिवार सहित। वहाँको घरसँगै हर्क बहादुर गुरुङ र जगत बहादुर आले मगरले पनि विगत २७ बर्ष अगाडिदेखि पक्कि घर निर्माण गरि स्थायी रूपमा बस्दै आएका छन्।
गत पौष २९, २०७२ मा चन्द्र बहादुर सुनारी मगर, हर्क बहादुर गुरुङ र जगत बहादुर आले मगरको नाममा एक-एक वटा रजिस्टर्ड पत्र अचानक प्राप्त भयो । सो रजिस्टर्ड पत्र पठाउने व्यक्ति सोहि जिल्ला हाटी बनगाई-४ बस्ने हिरादेवी सुनारनी (बि.क.) हुन्। पत्रको व्यहोरा अनुसार, “तपाईहरू मेरो जग्गा (कित्ता न. ५७३) मा दुई तले घर निर्माण गरि बस्दै आउनु भएको छ, मेरो घर भाडा बापत मासिक सात हजार रुपैयाँको दरले गत साउन, ०७२ देखि अहिलेसम्म, ६ महिनाको जम्मा ४२ हजार रुपैयाँ अबिलम्ब बुझाई आजको मितिले ३५ दिन भित्रमा मेरो घर खाली गरिदिनु” भन्ने पत्रमा उल्लेख गरिएको छ। हिरादेवीले सोहि कित्ता नम्बर कै जग्गाको “जग्गा धनी दर्ता प्रमाण पुर्जा” मालपोत कार्यालय, रुपन्देहीबाट प्राप्त गरेको बुझिएको छ।
असली जग्गा धनी मध्ये जगत बहादुर आले मगरले सो जग्गा मिति २०४५/०२/२६ गते अथवा २७ बर्ष अगाडी मालपोत कार्यालय, रुपन्देहीबाट जग्गा धनी दर्ता प्रमाण पुर्जा लिएको देखिन्छ। वहाँ लगायत सुनारी मगर र गुरुङले पनि सो जग्गा एकजना थारू (पुरा नाम थाहा हुन सकेन) बाट खरिद गरेको बुझिएको देखिन्छ ।
तीनै जना: चन्द्र बहादुर सुनारी मगर, जगत बहादुर आले मगर र हर्क बहादुर गुरुङ बिगत २७ बर्ष अगाडीदेखि भोकचलन गर्दै आइरहेको जग्गालाई हिरादेवीले आफ्नो नाममा छुट्टै जग्गा धनी दर्ता प्रमाण पुर्जा मालपोत कार्यालय, रुपन्देहीबाट गत साउन २०७२ मा मात्र लिएको बुझिन्छ। सोहि आधारमा वास्तविक जग्गा धनीहरूलाई घर भाडा बुझाउन र घर तुरून्तै खाली गर्न पत्राचार गरेको बुझिन्छ।
हास्यास्पद बिषय त के देखियो भने सो जग्गा हिरादेवीले गत साउन २०७२ मा मात्रै उनले थारूबाट खरिद गरेको हो भने तीन-तीन वटा दुई तले घरहरू जम्मा ६ महिना भित्रमा कसरी निर्माण गर्न भ्याए होलान्, हिरादेवीले ! सो जग्गामा ६ महिना अगाडी मात्रै तीन वटा घरहरू हिरादेवीले नै निर्माण गरेका हुन् या सुनारी मगर, आले मगर र गुरुङले बनाएका हुन् भन्ने त सोहि टोलमा दशकौंदेखि सँगै बस्दै आइरहेका छिमेकीहरूले देखेका छन् त !
अर्को महत्वपूर्ण बिषय, सो जग्गा भएको क्षेत्र २ बर्ष अगाडी मात्र तिलोत्तमा नगरपालिका घोषित गरिएको छ। नगरपालिका भित्र भवन अथवा घर निर्माण गर्न छिमेकीहरूको सहमतिमा चारकिल्ला पास गरेर मात्र नगरपालिकाबाट घर निर्माण गर्न पाउँने स्वीकृति अथवा प्रमाण पत्र लिनु पर्छ। घर निर्माण भइसके पश्चात घर समापन भएको प्रमाण पत्र पनि लिनु पर्ने प्रावधान रहेको छ।
हिरादेवीको दावी अनुसार ति घरहरू त्यो क्षेत्र नगरपालिका घोषणा भएको डेढ बर्ष पछि मात्र जग्गा खरिद गरि घर निर्माण गरेको भन्ने बुझिन्छ। त्यसो हो भने, हिरादेवीले चारकिल्ला पास गराउँन छिमेकीहरूको स्वीकृति लिएको छ कि छैन ? तिलोत्तमा नगरपालिका कार्यालयबाट घर निर्माण गर्न नक्सा पास गराएको छ कि छैन ? घर निर्माण भईसकेपछि नगरपालिकाबाट समापनको प्रमाण पत्र लिएको छ कि छैन। यो सबै भएको देखिएन।
सोहि भेलामा अर्को के पनि बुझियो भने २९ लाख रुपैयाँसम्म रकम पाईयो भने सो जग्गा हिरादेवीले छाडी दिन्छु भनेर उनले कुरा फुत्काएका रहेछन्। अहिलेको समयमा सो जग्गालाई मात्र एक करोड रुपैयाँसम्म पर्न सक्छ भने दुई-दुई तले तीन वटा घरको समेत हिसाब गर्दा सो जग्गा र घरको मूल्य झन्डै चार करोड रुपैयाँ पर्न सक्छ। चार करोड रुपैयाँसम्म मूल्य पर्न सक्ने जमिन र घरलाई २९ लाख रुपैयाँसम्म पाईयो भने छाड्न सक्छु भन्नु हिरादेवीको वास्तविक उद्देश्य त प्रष्ट भएन र ?
वास्तविक पीडित पक्षहरू सोहि बिषयलाई लिएर जिल्ला प्रशासन कार्यालय, भैरहवा गएछन्। वहाँहरूले सहायक प्रमुख जिल्ला अधिकारीलाई भेट्दा, यसता झारपाते कुरा लिएर म कहाँ नआउनुस् भनेर वहाँहरूलाई पन्छ्याएका थिए रे भन्ने पनि बुझियो। भेलामा सहभागीहरूका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीलाई यो बिषयमा पूर्ण जानकार मात्रै नभएर हिरादेवीलै जग्गा धनी दर्ता प्रमाण पुर्जा दिलाउनेमा उनको मिलेमतो पनि रहेको शंका गरिएको छ। हिरादेवीसँग पीडित तीनै जनाले भेटेर कुरा गर्न चाहेको, तर हिरादेवी सम्पर्कमा सम्म पनि आउन नचाहेको पनि बुझिएको छ।
भेलामा सहभागीहरूका अनुसार हिरादेवीलाई एउटा हतियार मात्र बनाइएको छ भन्ने बुझिन्छ । वास्तविक योजनाकार, कुनै राजनीतिक दल (अनुसन्धानको क्रममा रहेकोले बास्तविकता खुलेपछि पर्दाफास गरिने) र मालपोत कार्यालयका कर्मचारीहरू हुन् भन्ने पनि प्रष्ट बुझिएको छ।
नेपाली भाषासम्म राम्रोसँग बोल्न नसक्ने/नजान्ने अति सोझा नागरिकहरू माथि राजनीतिक दल र देश र जनताको सेवा गर्न भनेर सिन्दुर पहिरेका नेपाली कर्मचारीहरूबाट यस्तो अति घटिया हर्कट र क्रियाकलावहरू नेपालमा किन हुन्छ ? यस्तै प्रकृतिका क्रियाकलाव र घटनाहरू सार्वजनिक भईरहेको हामी बारम्बार सुन्दै आइरहेका छौ।
विदेशमा रहेको व्यक्ति स्वदेश फर्किंदा आफ्नो जग्गामा अरू कसैले घर निर्माण गरेको, आफ्नै जग्गाको अरु कसैले जग्गा धनी दर्ता प्रमाण पुर्जा प्राप्त गरेको र कसैको जग्गा दलालहरूबाट अरु कसैको नाममा दर्ता भएको आदि घटनाहरू हामी बारम्बार सुन्दै आइरहेका छौ।
राजनीतिक दल, समाज भित्रका जाली फटाहा दलाल र घुस्या कर्मचारीहरूको मिलेमतोमा कुनै एक सिधा व्यक्तिलाई प्रयोग गरेर वास्तविक जग्गा/घर धनीबाट मोटो रकम असुली गर्ने नै यसको वास्तविक उद्देश्य हो भन्ने प्रष्ट बुझिन्छ। यस्ता घटिया गतिविधिहरू रोक्न आम नेपाली समाज सचेत हुनु अति आवश्यक छ। त्यस्ता दलाल, फटाहा र घुस्या कर्मचारी अथवा दलका नेता कार्यकर्ताहरूलाई नंग्याएर सडकमा उतार्न सबै समाज एकजूट हुनु आवश्यक छ। नेपालको कानूनले पनि त्यस्ता सोझा जनताको पक्षमा न्याय गरेको देखिदैन। आम नेपाली सोझा जनता यस प्रति सजक हुनु जरूरी छ ।
यो घटनालाई राम्रोसँग अनुसन्धान गरियोस्। दोषी को हो, यो घटनाक्रम र संलग्न कागजपत्रले प्रष्ट पारेको छ। घटनाक्रम अनुसार दोषी देखिएका मालपोत कार्यालय, रुपन्देहीका कर्मचारीहरूलाई अबिलम्ब गिरफ्तार गरेर अनुसन्धान गरियोस्। हिरादेवी आफ्नै विवेकले त्यसो गरिएको हो भने उनलाई पनि तुरून्तै गिरफ्तार गरि कारबाहीको दायरामा ल्याइयोस्। यदि उनि कुनै राजनीतिक दल र मालपोत कार्यालयका कर्मचारीहरूको ढाल बनाईएका हुन् भने उनलाई हतियार बनाउँने त्यो राजनीतिक दल पत्ता लगाएर त्यो दललाई निर्वाचन आयोगले नै खारेज गरियोस्।
अन्यथा सोझा सिधासादा व्यक्तिहरूलाई अन्याय गर्ने र दु:ख दिने मालपोतका कर्मचारीहरू, हिरादेवी र पीडितहरूको कुरा राम्रोसँग सुन्नसम्म नचाहने सहायक जिल्ला प्रशासन अखिकारीको विरुद्धमा जिल्ला प्रशासन कार्यालय घेर्ने झन्डै पाच सय सहभागीहरूको एकमत रहेको थियो।
