लोक सेवा आयोग ना.सु. तयारी कक्षाको समापन

Read Time:5 Minute, 7 Second

सेवामा प्रवेश नै पहिचान, पहुँच र प्रतिनिधित्व 

रूद्र श्रीसमगर

पोखरा,चैत्र २४-नेपाल सरकार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेल, ललितपुरको सहयोगमा मगर भाषा प्रतिष्ठान, कास्की शाखाको आयोजनामा सञ्चालित आदिवासी जनजातिका निम्ति निःशुल्क लोक सेवा आयोग ना.सु. तयारी कक्षाको बुधबार समापन गरिएको छ ।

समापनका अवसरमा बोल्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेल, ललितपुरका निवर्तमान उपाध्यक्ष झकबहादुर थापामगरले नेपालको निजामती सेवामा आदिवासी जनजाति समुदायको कम प्रतिनिधित्व रहेको बताउनुभयो । निजामती सेवामा प्रवेश गर्न सके आदिवासी जनजातिको पहिचान, पहुँच र प्रतिनिधित्व सुनिश्चित हुने भन्दै थापाले त्यसका लागि प्राप्त अवसरको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । ‘आदिवासी जनजातिलाई राज्यको मूलधारमा ल्याउन र रोजगारीका लागि कक्षा सञ्चालन गरिएको हो’, थापाले भन्नुभयो, ‘राज्यका विभिन्न निकायमा प्रवेशका लागि एउटा विधि पार गर्नुपर्ने हुन्छ, त्यो भनेको लोक सेवा आयोग नै हो ।’

कक्षा सञ्चालन मात्रै सबैथोक नभएको बताउँदै थापाले भन्नुभयो, ‘आदिवासी जनजातिलाई निजामती सेवामा प्रवेश गराउन सशक्तिकरण गर्न राज्यले लगानी गरेको हो, यसले उत्साह र भोक जगाउने काम गर्छ ।’ तर, मेहनत भने विद्यार्थी स्वयंले गर्नुपर्ने उहाँको भनाइ थियो । देशको विद्यमान संरचना अनुसार पाँचै विकास क्षेत्रमा ना.सु. कक्षा सञ्चालन गरिएको जनाउँदै थापाले सरोकारवाला निकायले चासो देखाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘विगतमा भन्दा आदिवासी जनजातिहरूको लोक सेवा आयोगप्रति आकर्षण बढेको छ’, उहाँले भन्नुभयो, ‘सरकारले गरेको लगानीको प्रतिफल बिस्तारै देखिँदैछ ।’

नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष पानबहादुर घर्तीले ना.सु. कक्षा सञ्चालनले आदिवासी जनजाति विद्यार्थीहरूमा आत्मबल बढाएको भन्दै देशको कठिन परिस्थितिमा पनि कक्षा सञ्चालन सफल हुनु खुशीको कुरा भएको बताउनुभयो । कक्षाका सहभागीलाई गहिरो अध्ययन र मेहनत गर्न सुझाव दिँदै घर्तीले जीवन परिवर्तनका लागि संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो । ‘क्षमता भए अवसर जहाँ पनि हुन्छ’, घर्तीले भन्नुभयो, ‘उच्च प्रतिस्पर्धाको समयमा अध्ययन पनि प्रतिस्पर्धात्मक नै हुनुपर्छ ।’

सरकारी निकायमा युवाहरूले प्रतिनिधित्वका लागि मेहनत गर्नुपर्ने उहाँको भनाइ थियो । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, कास्कीका महासचिव मीना गुरुङले वैदेशिक रोजगार भन्दा आफ्नै देशमा सेवा गर्न निजामती सेवा प्रवेश नै एकमात्र विकल्प भएको बताउनुभयो । ‘युवाको सहभागिताविना देश विकास सम्भव छैन’, गुरुङले भन्नुभयो, ‘शैक्षिक योग्यता र पूर्ण व्यवसायिक शिक्षा प्राप्तिमा जोड दिनुपर्छ, त्यसका साथै लोक सेवा आयोग परीक्षामा सामेल हुनुपर्ने उत्तिकै आवश्यक छ ।’

सो अवसरमा कक्षाका सहभागीहरूका तर्फबाट रेशम तामाङ र मञ्जिता गुरुङले कक्षा सञ्चालन उपलब्धिपूर्ण भएको बताउँदै यस्ता कक्षा सञ्चालनलाई आगामी दिनमा पनि निरन्तरता दिन आयोजक संस्थालाई आग्रह गर्नुभयो । मगर भाषा प्रतिष्ठान, कास्की शाखाका अध्यक्ष फूलकुमारी थापामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीसमगर र उपाध्यक्ष रूद्रबहादुर हितानमगरले स्वागत गर्नुभएको थियो । पुस १८ गतेदेखि सुरु भएको कक्षामा ७२ जना आदिवासी जनजाति विद्यार्थी सहभागी थिए ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %