होमस्टे लहर

Read Time:6 Minute, 39 Second

मनोज घर्ती मगर

‘होमस्टे’ शब्द यतिबेला खुब चर्चित छ । देशका विभिन्न ठाउँमा होमस्टे सुरु गरिएका खबर आइरहन्छन् । नेपालमा ५० को दशकदेखी होमस्टे पर्यटन औपचारिक रुपमा सुरु भएको हो । स्याङजाको सिरुबारी नेपालको पहिलो होमस्टे गाउ हो । सिरुबारीकै सिको गरेर अहिले गाउँगाउँमा होमस्टे खोल्ने लहर सुरु भएको हो । यहाँ महिनैपिच्छे कुनै न कुनै नयाँ हामेस्टे गाउँमा थपिन्छन् । कास्कीमा त होमस्टेको लहरै छ । यहाँका प्रायः गाउँमा हामेस्टे संचालनमा छ ।
केही साता अघि दिवंगत भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङको अगुवाइमा विसं २०५४ असोजमा सिरुबारीलाई होमस्टे सुविधासहितको पहिलो पर्यटन गाउ घोषणा गरिएको थियो । त्यसपछि होमस्टे खुल्ने क्रम जारी छ । होमस्टेमा खाना र बास सस्तैमा पाइन्छ । त्यसैले पनि आन्तरिक तथा बाह्य पर्यटक होमस्टे संचालन भएका गाउँमा पुग्छन् । ‘पश्चिममा होमस्टे पर्यटनबाट धेरै गाउले ख्याति कमाइसकेका छन्’ पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा भन्छन्,‘सिरुबारी त होमस्टेका लागि पाठशाला नै हो । पश्चिमका सायद कुनै जिल्ला नहोला जहाँ होमस्टे छैन ।’
सरकारले हामेस्टे कार्यविधी तयार पारेर ग्रामिण पर्यटनलाई बढावा दिएपछि पश्चिमका गाउँगाउँमा होमस्टे खोल्न तछाडमछाड जस्तै भएको छ । पर्यटकलाई होटल वा रिसोर्टमा होइन गाउलेकै भान्छामा खुवाएर उनीहरुकै घरमा बसाउनुलाई घरबास (होमस्टे) भनिन्छ । होमस्टेमा परिवारकै सदस्य भएर बस्न पाइन्छ । त्यो सुविधा लिन केही रकम तिर्नुपर्छ । शिष्ट बोलीवचन, पारिवारिक माहोल र न्यानो आत्मीयता होमस्टेका विशेषता हुन् । ‘मिठो खाना र आरामदायी ओछ्यान होटलमा पनि पाइन्छ’ पश्चिमका विभिन्न गाउँमा होमस्टे गइरहने साइकल मैत्री पर्यटकीय शहर पोखराका संयोजक निरज थापा भन्छन्,‘होमस्टेमा आत्मियता र मिठो व्यवाहार पाइन्छ । जुन पैसाले किनौ भन्दा पनि पाइँदैन ।’
नेपालको पहिलो होमस्टे गाउँ सिरुबारीमा नेपालका गाउ–गाउबाट मात्र होइन, भारतको सिक्किमबाट समेत होमस्टे सिक्न आएका उदाहरण छन् । सिरुबारीको यहि ख्यातीले पश्चिमका मगर/गुरुङ समुदायको वस्ती भएका ठाउँमा गाउँपिच्छे होमस्टे संचालनमा आएका छन् । होमस्टेले गाउँमा पर्यटक भित्र्याउनुका साथै स्थानीयस्तरमै आयआर्जनको बाटो दिएको छ । अधिकांश होमस्टे–गाउका मुख्य पाहुन नेपाली नै हुन् । विदेशी थोरै हुन्छन् । सहरी भेकका नेपाली एक–दुई रात गाउमा बसेर फर्कन्छन् । विभिन्न जाति र समुदायले चलाएका होमस्टेमा उनीहरुको संस्कृति र जीवनशैली अवलोकन गर्न पाइन्छ । उनीहरुका परम्परागत खाना चाख्ने अवसर मिल्छ । ‘विदेशीहरु कंक्रिटका घरमा बस्न आउने होइनन्, विभिन्न जाति र समुदायका सँस्कृति र जीवनशैली हेर्न आउँछन् । तर यतातिर पर्यटन व्यवसायीको खासै ध्यान गएको छैन’ पोखराका अग्रज पर्यटन व्यवसायी गणेश भट्टराई भन्छन्,‘पोखरा भनेको लेकसाइड मात्रै हो भन्नेहरु छन् । यहाँका होटल व्यवसायी मेरै होटलमा मात्रै बसोस् भन्छन् । कहिल्यै होमस्टे बारे प्रचार गर्दैनन् ।’
कास्कीमा घान्द्रुक, धम्पुस, काब्रे, ताङतिङ, याङ्जाकोट, सिक्लेस, मिश्रा, लान्द्रुक, हेज्जाकोट, ल्वाङघलेल, कालाबाङ, गुरुङहरुले चलाएका असाध्यै चल्तिका होमस्टे गाउँ हुन् । यस्तै पोखरा नजिकै धितालमा बाहुन समुदायकाले होमस्टे चलाएका छन् । लमजुङका घलेगाउ र काउलेपानी, गोरखाको बारपाक चर्चित होमस्टे गाउँ हुन् । पाल्पाको बौघागुम्हा, तनहुँको रानागाउँ, स्याङ्जाको चित्रेभञ्ज्याङ, म्याग्दीको दोबा मगर समुदायले होमस्टे संचालन गरेपछि ख्याती कमाएका गाउँ हुन् । यि गाउँहरुमा होमस्टेकै कारण पर्यटकको चहलपहल बढ्दो छ । ‘होमस्टेले ग्रामिण पर्यटन प्रबद्र्धनमा ठूलो योगदान दिएको छ, हाम्रो गाउँमा पाहुना आउनु पनि त्यसकै परिणाम हो’ कास्कीको हेम्जाकोटमा होमस्टे चलाएका ईश्वर गुरुङ भन्छन्, ‘पाहुना आउने वित्तिकै यहाँका युवा र आमा समूहका सदस्य स्वागत गर्न सँधै तयार हुन्छन् । यो हेम्जाकोट गाउँको विशेषता हो ।’
होटल र रेस्टुरेन्टबाट सीमित व्यक्तिले फाइदा पाउछन् । गाउँमा गएमा पाहुनालाई बाडेर गाउलेका घर–घरमा राख्दा सबैलाई फाइदा पुग्ने भएकाले होमस्टे अवधारणा धेरैले राम्रो मान्छन् । यसले गाउँगाउँमा पर्यटक लैजान सघाएको मात्रै छैन, आम्दानीको स्रोत पनि बनेको छ । यहि मेसो थाहा पाएका विभिन्न गाउँमा होमस्टे खोलिएका हुन् । पश्चिमका थुप्रै गाउँमा होमस्टे खोल्ने तयारी भइरहेको छ ।

तस्वीरः छवि मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %