गिद्ध मार्दे हड्डी बेच्दै

Read Time:3 Minute, 51 Second

देब पचभैया

पाल्पा, चैत्र २२ – हिमाली भेगबाट घाम ताप्न पाल्पाका विभिन्न स्थानमा आएका संकटापन्न गिद्ध मारेर हड्डी बेच्ने गरेको रहस्य खुलेको छ । तानसेनको बतासेडा“डा, कैलाशनगर, ढुंगाखानीमा चारवटा गिद्ध मारेर रुखमा झुण्ड्याएको भेटिएपछि गिद्धको हड्डी तस्करी हुने गरेको रहस्य खुलेको जिल्ला वन कार्यालय पाल्पाले जनाएको छ ।

 मरेका गिद्धलाई घाटी र खुट्टामा डोरी बाधेर झुण्ड्याईएको पाईएको छ ।केही समय अघि पनि रामपुर नगरपालिकाको खैरेनी सामुदायिक वन क्षेत्रमा समेत  तीनवटा गिद्ध मरेको भेटिएको थियो । तानसेनकै बास्टारी क्षेत्रमा पनि गिद्ध घाइते अवस्थामा भेटिएपछि उपचार गरेर छाडिएको थियो ।

तानसेनको ढुंगाखानीमा गिद्ध मरेको भेटिएपछि जिल्ला वन कार्यालयले अनुसन्धान सुरु गरेको छ । संकटापन्न र संरक्षित भएकाले मरेका गिद्धको अनुसन्धान सुरु गरेको जिल्ला वन अधिकृत दधिराम कडेलले बताउनुभयो । नेपाल पंक्षी संरक्षण संघ, जिल्ला वन, पशु सेवा कार्यालयले गिद्धको संरक्षणमा पहल गर्दै आएका छन् ।

संरक्षित गिद्ध मार्ने र मरेकाको पखेटा, हड्डी संकलन गर्ने गरेको तथ्यसमेत खुलेको छ । आयुर्वेद औषधिको रुपमा यसको प्रयोग हुने भएकाले सानो टुक्रा हड्डीलाई ५ सयदेखि ५ हजारसम्ममा बिक्री गर्ने भेटिएको जिल्ला वन कार्यालय पाल्पाका अनुसन्धान अधिकृत यमलाल पोख्रेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार गिद्धको मृत्युको कारण खोजी भइरहेको छ ।

मरेका सिनो फाल्ने र सिनोमा बिशादी मिशाएर गिद्ध मार्ने भेटियो, अधिकृत पोख्रेलले भन्नुभयो सिनो खाईरहेको गिद्धलाई एकै पटक लखेट्ने र अत्याउन हालेर हाईटेन्सन लाईनमा ठोकाउने गरेको पनि भेटिएको छ ।

स्थानीय बुढापाकाका अनुसार गिद्धको हड्डीको अबैध ब्यापार हुने गर्छ । तानसेनको बतासेडाडा, कैलाशनगर आसपासमा मरेका गिद्धको अस्थिपञ्जरको व्यापार हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् । उनीहरुले मरेका गिद्धलाई रुखमा झुण्ड्याउने र मासु, प्वाख खसेपछि हड्डीमात्र बाकी राख्ने गर्छन् । त्यसपछि हड्डीको व्यापार गर्ने उनीहरुको भनाई छ । 

वन अधिकृत कडेलले यसरी कुनै पनि वन्यजन्तुको अंगको व्यापार गर्न नपाइने बताउनुभयो । जसरी मरेका भए पनि तिनीहरुलाई मुचुल्का उठाएर गाड्ने कानुनी व्यवस्था छ । तानसेनको बतासेडाडासगै रामपुरको खैरेनीटार सामुदायिक वन र मदनपोखराको अधेरी छरछरे सामुदायिक वनका गिद्धको बसोवास रहेको छ । तानसेन आसपासमा कात्तिकदेखि वैशाखसम्म दैनिक सयौको संख्यामा गिद्ध घाम ताप्न आउने गर्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %