सबै गोर्खाहरु एउटै मालामा उनीनु पर्छ बम थापा मगर

Read Time:26 Minute, 22 Second

देव पचभैया

  चैत,१८ – बम थापा (सूर्यवंशी) मगर संघ युकेको महासचिव एबं पाल्पाली समाज युकेको अध्यक्ष हुनुहुन्छ । बेलायतको विरानो ठाउँमा आई पर्ने सुखदुःखमा हातेमालो गर्दै जातिय अधिकार प्राप्ती र सस्कृतिको संरक्षणका लागी सामाजिक सेवामा लागेको उहाको भनाई छ ।  सबै गोर्खाहरु एक हुनु पर्नेमा जोड दिदै आउनुभएका सूर्यबंशीले राज्य सत्ता डट,कम संगको कुराकानीमा एकआपसमा खुट्टा तान्ने काम बन्द गरी सबै एक भएर अघि बढे सबै कुराको संभब भएको बताउनुभएको छ । प्रस्तुत छ राज्य सत्ता डट,कमले उहा संग गर्नुभएको यो कुराकानी ।

१. तपाईं आफ्ना बारेमा कसरी सम्झनुहुन्छ ?

म नेपालको पाल्पा जिल्लामा जन्मे । तर भारत देहरादुनमा हुर्के अनि त्यतै पढेँ । मेरो बाबा भारतको केन्द्रीय रिजर्भ पुलिस फोर्समा इन्स्पेक्टर हुनुहुन्थ्यो । मलाई पनि वहाँजस्तै पुलिसमा भर्ती गराएर इन्स्पेक्टर बनाउने उहाँको चाहना हुँदाहुँदै पनि म साथीहरूको लहलहैमा ब्रिटिश गोर्खातिरको भर्तीमा लागे । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको जागिर खाएँ । त्यसपछि ब्रुनाईका सुल्तान हास्नल बोल्कियाको जागिर गरेर म हालमा सपरिवार लण्डनमा छु ।

२. तपाईं कुन कुन सामाजिक संस्थाहरूमा आबद्ध हुनुहुन्छ ? सामाजिक संस्थाहरूमा आबद्ध हुने प्रेरणा कोबाट पाउनुभयो र किन यसरी सामाजिक संस्थाहरूमा लाग्नुभयो ?

 म अहिले मगर संघ युके केन्द्रीय समितिको महासचिव, पाल्पाली समाज ‘पाल्पाली भाञ्ज्याङ युके’को अध्यक्ष र मगर बुद्धिस्ट सोसाइटीको सल्लाहकारमा आबद्ध रहेको छु । टाढा धेरै टाढा समुन्द्रपारि अर्काको देशलाई आफ्नो भनी बस्नुपरेको छ । नयाँ ठाउँ नयाँ परिवेशमा जीवन यापन गर्न सजिलो छैन, विशेष गरी पेन्सन क्रेडिट खान आउनुभएका हाम्रा नेपाली बाबाआमा (बुढाबुढी) हरूलाई । हामीलाई सुखदुःखमा एकअर्काको सहयोगको अति नै खाँचो छ । बेलायतको विरानो ठाउँमा हामीलाई पर्ने सुखदुःखमा सँगसँगै हातेमालो गर्ने उद्देश्य लिएर म संघ संस्थाहरूमा लागेको छु ।

 

३.हालमा अति विकसित देश बेलायतमा हुनुहुन्छ, मगर समुदायको पहिचान, भाषा, संस्कृति र परम्परालाई मगर संघ युकेले कसरी जोगाइराख्न सक्छ, अथवा यसका लागि संघको मुख्य दायित्व के हो जस्तो लाग्छ ?

 नेपाल आदिवासी जनजाति समुदायकै सबैभन्दा ठूलो जनसङ्ख्या ओगटेको मगर समुदायको अन्य समुदायको भन्दा फरक भाषा, संस्कृति र परम्परा रहेकाले मगर समुदायको छुट्टै पहिचान छ । विगतमा विभिन्न कारणले आफ्ना भाषा, संकृति र परम्पराबाट टाढिन पुगेको मगर समुदायले अहिले आएर पहिचानबारे महत्व बुझ्न थालेको छ । बसाईं सराइ, एक भाषा एक धर्म लागू गर्ने तत्कालीन तानाशाही सामन्ती राज्यव्यवस्था आदिका कारण नेपालमा मगर भाषा बोल्नेहरूले भाषा बोल्न छाडेका, संस्कृति र परम्परा विर्सन बाध्य पारिएका भए तापनि आजको समयमा मगरहरू पहिचान र अधिकार खोज्न सक्ने भएका छन् ।

बेलायतको सन्दर्भमा यहाँका आधुनिकता, संस्कृति, भाषा र परम्परा आदिको प्रभावका कारण नेपाली संस्कृति गुम्दै जान सक्छ । यो अति नै चिन्ताको विषय हो । संस्कृति र परम्परा भनेका आफ्ना पहिचान हुन् र पुर्खाले मान्दै आएका कारण यिनीहरूको संरक्षण गर्नलाई युवाहरू नै लाग्नुपर्छ । मगर संघ युकेले राखेका विभिन्न कार्यक्रमहरूको अवसरमा भए पनि मगरको भेषभूषा प्रयोग गरिन्छ र मगर भाषा बोल्ने गरिन्छ । यो अति नै सकारात्मक कार्य हो । यहाँ धेरैले भन्ने गर्छन् एक दिन मगर पहिरनमा सजिएर हिँड्दैमा मगरको परम्परा, संस्कृति, भेषभूषा र रीतिरिवाजहरूको संरक्षण हुन्छ ? अवश्य नै हुन्छ, किन कि बेलायतजस्तो मुलुकमा आफ्नो जातिको विकाससँगसँगै बेलायतको शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका सबै क्षेत्रमा अगाडि बढ्नु छ । त्यसर्थ मगर संघ युकेले राखेका कार्यक्रमहरूमा सहभागी भएर एक दिन भए पनि मगर पहिरनमा सजिएर मगरका भेषभूषा, भाषा र रीतिरिवाजको संरक्षण युवा वर्गले नै गर्नुपर्छ ।

५. मगर संघ युकेले सफल गरेका कार्यहरू तथा तपाईंलार्ई सन्तुष्टि भएका कार्यहरूमध्ये एक, दुई, तीन गरी बताइदिनुहुन्छ कि ?

 मगर संघ युकेको चौथो कार्यसमिति संस्थाको जिम्मेवारी वहन गर्दै र आफ्ना दायित्व एवम् कर्तव्यहरूलाई सफल बनाउँदै अगाडि बढिरहेको छ । मगर संघ युकेले आफ्नो यात्राका क्रममा अप्ठ्यारा घुम्ती र पाटाहरूलाई चिर्दै थुप्रै उपलब्धिहरू हासिल गरेको सर्वविदितै छ । यस चौथो कार्यसमितिले सफल गरेका कार्यहरूमध्ये देहायका कार्यहरूमा म अत्यन्त सन्तुष्ट छु ।

 १. पूर्व मन्त्री एवम् नेपाल मगर संघका पूर्व अध्यक्ष गोरेबहादुर खपाङ्गी मगरलाई सहयोग

पूर्व मन्त्री, नेपाल मगर संघका पूर्व अध्यक्ष एवम् नेपाली आदिवासी जनजाति समुदायका अग्रज व्यक्तित्व श्री गोरेबहादुर खपाङ्गी मगर एक मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकोमा मगर संघ युकेको ध्यानाकर्षण भएको हुँदा मगर संघ युकेले प्रधानमन्त्री कार्यालय सिंहदरबार, काठमाडौँ नेपालले पाउने गरी बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेमार्फत् ज्ञापनपत्र बुझाएको थियो ।

श्री गोरेबहादुर खपाङ्गी मगरको स्वास्थ्योपचार नेपालमा सम्भव छैन भने अविलम्ब सुविधासम्पन्न विदेशी अस्पतालमा लैजान र उहाँको उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्यले बेहोर्नुपर्छ भन्ने मगर संघ युकेले जोडदार माग राखे तापनि नेपाल सरकारले नहेरेको हुँदा मगर संघ युके घ् २५,७५०.०६ सङ्कलन गरेर सहयोग गर्न सफल भएको थियो ।

त्यस्तैगरी यस संस्थाले अन्य स्रष्टा र सर्जकहरूको स्वास्थ्योपचारका लागि धेरै सहयोग गरेको छ । तारा थापा दिदी र कविता आले दिदीको स्वास्थ्य उपचारमा मगर मगर संघ युकेले गरेको सहयोगलाई उदाहरण मान्न सकिन्छ ।

 २. एकता र गौरवको प्रतीक मगर संघ युकेको आफ्नै मगर भवन

बेलायतमा रहेका मगरहरूलाई एकीकृत तथा सङ्गठित गर्दै अघि बढिरहेको संस्था मगर संघ युके चौथो कार्य समितिले बेलायत अधिराज्यभरि छरिएर रहनुभएका मगर समुदायमाझमा साझा भावनाको विकास गर्दै मगर संघ युकेको आफ्नो कार्यालय सञ्चालन गर्नका लागि आफ्नै घर बेलायतका मगरहरूको ‘साझा घर’ खरिद गर्न सफल भएको छ । यसलाई मैले मगर संघ युकेको ऐतिहासिक सफलता मानेको छु ।

 ३. नेपाली मेला एम्बासडर कप विजेता

नेपाली मेला २०१५ को ‘एम्बासडर कप’ विजेता मगर संघ युके भएको छ । यो एम्बासडर कप बेलायतस्थित नेपाली राजदूतावासले प्रदान गरेको हो । यो एम्बासडर कप प्रदान गर्नुको मुख्य कारण बेलायतमा रहेका नेपालीको पहिचान र अस्तित्वलाई संरक्षण गर्दै आपसी सद्भाव र सहकार्यका माध्यमबाट नेपालीहरूको कला, संस्कृति र भाषाको जगेर्ना गर्नुका साथै बेयायतबासी सम्पूर्ण नेपालीहरूलाई एकताको सूत्रमा बाँध्नु पनि हो । हरेक ठाउँमा अन्य जातजातिसँग सुमधुर सम्बन्ध गाँसेर बस्न सक्नु मगर जातिको अति नै बहुमूल्य विशेषता भएको हुनाले बेलायतमा तमुधीँ युकेले आइतबार, ३० अगस्तको दिनमा आयोजना गरेको नेपाली मेला २०१५ मा मगर संघ युकेको भव्य सहभागिता रहेको थियो । सो मेलामा बेलायतका मगरहरूको उत्कृष्ट झाँकीको प्रदर्शन र सांस्कृतिक नाचको प्रस्तुतिले नेपाली मेला २०१५ मा मगर संघ युके प्रथम स्थानमा आएर एम्बासडर कप जित्न सफल भएको हो ।

नेपालभरि र नेपालबाहिरसमेत छरिएर बस्दै आएका र बसाईंको भौगोलिक कारणले मगरहरू बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक पक्षबाट अत्यन्त धनी मानिन्छन् । यस नेपाली मेलामा मगरहरू आफ्नाआफ्ना मौलिक र रङ्गीन भेषभूषामा सजिएर भेला भएका थिए । मगरका पुर्खाहरूले १२ र १८ राज्यमा शासन गरेको इतिहास साक्षी छ । यो मेलाको अवसरमा १२ र १८ मगरात सबै मिलेर एकताको हातेमालो गर्दै लगभग ३०० भन्दा धेरै मगरहरू आफ्नै भेषभूषामा पूर्खाले चलाउने धनुषवाण, दैनिक जिविकोपार्जनमा उपयोग गरिने सामग्रीहरू कुटो, कोदालो, हलो, जुवा, खुकुरी, बन्चरो, डोको, स्याँखु (झरीमा ओढ्ने), मगर संघ युकेको लोगोसहितका व्यानरहरू, मगरको झन्डा, नेपालको झन्डा, बुद्धको झन्डा र ग्रेटब्रिटेनको झन्डा बोकेर झाँकीमा सहभागी भएका थिए । बेलायतको इतिहासमा अन्य संघसंस्थासँग हातेमालो गर्दै धेरै सङ्ख्यामा मगरहरूको सहभागिता रहेको यो पहिलोपल्ट नै भएको हुँदा मगर संघ युकेले सफल गरेका कार्यहरूमध्ये यो अति नै सन्तोषजनक कार्यहरूमध्ये एक हो ।

 ३. नेपालमा गएको भूकम्प पिडितलाई सहयोग

मगर संघ युकेले भूकम्प पिडित सहयोगार्थ विभिन्न शाखाबाट घ्१८३५६ उठाउन सफल भएको थियो । मगर संघ युके केन्द्रीय समिति र शाखाका अध्यक्षहरूको बैठकपश्चात् सङ्कलित रकम संघका नेपाल कनेक्सन एवम् सल्लाहकार मेजर के.के. आलेमगरमार्फत नेपाल मगर संघको सहयोगमा भूकम्प पिडितसामु पठाएका छौँ । हामीले गरेको सहयोगबाट शोक र पीडामा डुबेका भूकम्प पीडितको जीवनमा केही उत्साह र ऊर्जा थपिएको हामीले विश्वास लिएका छाँै ।

 ४. एक करोडको अक्षय कोष स्थापना

नेपालको जनसङ्ख्याको तथ्याङ्क (मिथ्याङ्क) अनुसार पनि मगर नेपालको तेस्रो र जनजातिमा पहिलो जाति भएको सबैलाई वितिदै छ । साक्षारतामा राम्रो भए तापनि मगर जातिको उच्च शिक्षामा एकदमै न्यून् योग्यता भएको कारणले राज्यको हरेक निकायमा मगरहरूको उपस्थिति एकदमै कम छ । त्यसकारण मास्टर अथवा पीएचडीको अक्षय कोष खडा गरेर नेपालका गरिब तथा जेहेन्दार मगर विद्यार्थीहरूलाई मद्दत पु¥याउने उद्देश्य लिएर मगर संघ युके केन्द्रीय समितिले नेपाली एक करोड रुपैयाँको अक्षय कोष खडा गर्न लागेको छ । अहिलेसम्म लगभग ५० लाख सङ्कलन भइसकेको अवस्था छ । यो एउटा उदाहरणीय कार्य हो ।

 ५. पाँचवटा एक–एक लाखको अक्षय कोष स्थापना

१. लखन थापा प्रतिष्ठान, २. अरुण थापा प्रतिष्ठान, ३. मास्टर मित्रसेन प्रतिष्ठान, ४. जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठान, ५. मगर स्टडी गरी पाँच वटा एक–एक लाखको अक्षय कोषहरू मगर संघ युकेले स्थापना गरेको छ ।

 ६. मगर दिवस

आजभन्दा ठिक ३४ वर्ष पहिले श्री हेमबहादुर पुनमगरको नेतृत्वमा प्रथम महाधिवेशन २०३९ फागुन १५—१६ मा तनहूँको दमौलीमा भएको थियो । यही कारण फागुन १५ गते अर्थात् नेपाल मगर संघको विधिवत रूपमा स्थापना भएको दिन नेपाल मगर संघको स्थापना दिवस हो । विश्वभरि छरिएर बसेका मगरहरूले विभिन्न मुलुकमा हरेक वर्ष यस दिनलाई मगर एकता दिवसको रूपमा भव्यताका साथ मनाउने गरेका छन् । बेलायतमा पहिले एउटा शाखाले मात्र कार्यक्रम राख्ने गरेको थियो भने चौथो कार्यसमितिले केन्द्रीयस्तरमा नै मगर दिवस मनाएर मगर दिवसलाई हामीले थप नयाँ उचाई दिएका छाँै । नेपालमा मगरहरूको बसाईंको भौगोलिक कारणले गर्दा हामी बहुभाषिक, बहुभेषभूषाका धनी छौँ । मगर दिवसको अवसरमा अठार मगरात र बाह्र मगरातका सबै मगरहरू एक भएर आफ्ना–आफ्ना मौलिक भेषभूषामा सजिएर आउँछन् भने विशेष गरी मगरहरूको मौलिक संस्कृति झल्किने सालैजो, कौरा, हुर्रा, सोरठी र झ्याउरेको वेजोड प्रस्तुति रहेको हुन्छ । मगर संघ युकेका ११ वटा शाखाले भाग लिने यस समारोहमा बहुसंस्कृतिको प्रदर्शन हुने हुँदा मगर दिवस मगरहरूको साझा चौतारी र एकताको प्रतीक भएको छ । यो मगरहरूको एकताको गतिलो उपलब्धि नै हो ।

 ७) केही बर्ष अघि स्थापना भई निस्कृय जस्तै रहेको मगर आम संचारकर्मी समाजको राष्ट्रिय भेला गरी देशै भरी रहेका मगर पत्रकारहरुलाई एक ठाउमा ल्याउनको लागी मगर संघ बेलायतले आर्थिक सहयोग गरेको छ । जसको उपलब्धी मगर संघका पदाधिकारी, मगर संघको आधिकारिक धारणा र मगर पत्रकार बिचको सम्बन्ध नजिक बनाउनको लागी अन्र्तक्रियात्मक कार्यक्रम समेत भएको थियो । मगर आम संचार कर्मी समाजको गत फागुन २१ गते भएको राष्ट्रिय भेलाले नया कार्यसमितिको चयन गरेको  छ भने देशैभरका मगर पत्रकारहरुाको सहभागीतामा डिजिटल अनलाईन पत्रिका मगर मिडिया डट,कमको शुरुवाट भएको् छ । जुन निकै ठुलो उपलब्धीको रुपमा हामीले लिएका छौ ।

८ )  नेपालका प्रथम सहिद लखन थापामगरको सम्मान

नेपाल सरकार मन्त्रीपरिषद्ले प्रथम सहिद लखन थापामगरलाई प्रथम सहिद घोषणा गर्नुमा मगर संघ युकेको पनि ठूलो योगदान रहेको छ । निरङ्कुश राणा शासनका संस्थापक जङ्गबहादुर राणाको निरङ्कुशताका विरुद्ध पहिलोचोटि आवाज उठाउने लखन थापामगर नेपालका पहिलो सहिद हुनुपर्छ भनी मगर संघ युकेले प्रधानमन्त्री कार्यालय सिंहदरबार, काठमाडौँ नेपालले पाउनेगरी बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेमार्फत् ज्ञापनपत्र बुझाएको थियो भने नेपालका प्रथम सहिद लखन थापामगरको योगदानलाई जिवित राख्न उहाको स्मृतिमा फुटबल प्रतियोगिता आयोजन गर्ने गरेको छ, जुन बेलायतका नेपालीमाझ चर्चित मानिन्छ ।

सहिदहरू कुनै एक समूह र वर्गको मात्र नभई समस्त मुलुकबासीका साझा लक्ष्यका परिपूरक र गौरवमय महासागरजस्तै इतिहास बोकेको धरोहर हुन् । यही कुरालाई मनन सुरुदेखि नै मगर संघ युकेले प्रथम सहिद लखन थापामगरको स्मृति दिवस मनाउँदै आए तापनि २०१३ सालबाट आदिवासी जनजाति महासंघ बेलायतले भव्य रूपमा सम्पन्न गर्दै आएको छ । १३९ औँ स्मृति दिवस आदिवासी जनजाति महासंघ युकेको आयोजना र मगर संघ युकेको प्रायोजनमा हामी सबै नेपालीहरूको साझा थलो दूतावासमामा सम्प्पन गरिएको छ । १३९ औँ स्मृति दिवसको कार्यक्रममा मगर संघ युकेका तर्फबाट बेलायतका लागि नेपालका कार्यवाहक राजदूत महामहिम तेजबहादुर क्षेत्रीलाई दूतावास भवनमा सजाउनका लागि सहिद लखन थापाको तस्बिर उपहार बुझाइएको छ । कार्यक्रमका प्रमुख अतिथि कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीले मगर संघ युकेले उपहार दिएको नेपालका प्रथम सहिद लखन थापामगरको तस्बिरलाई दूतावासको भित्तामा स्थान दिने बचन दिनुभएको छ

नेपालभरि र नेपालबाहिरसमेत छरिएर बस्दै आएका र बसाईंको भौगोलिक कारणले मगरहरू बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक पक्षबाट अत्यन्त धनी मानिन्छन् । सबैको जगेर्ना गर्नका लागि मगर संघ युकेले हरेक वर्ष बेलायतका नेपालीहरूबीच सर्वाधिक चर्चामा रहेको बुद्ध नेपाली ओपन कन्सर्ट, बुद्ध पूर्णिमा र मगरहरूको राष्ट्रिय प्रमुख सांस्कृतिक चाड ‘मगर–माघेसकराती’११ वटा शाखाहरूले धुमधामसँग मनाउँदै आएका छन् ।

 ९. मगर संघ युकेको महाधिवेशनमा नेतृत्व प्राप्तीका लागी केही प्रतिस्पर्धीहरु सक्रिय छन् । अहिलेको मगर संघ युकेको कार्यसमितिले थुप्रै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । अब आउने कार्यसमिति कस्तो भए हुन्थ्यो जस्तो लाग्छ ?

मगरका पुर्खाहरूले बाह्र र अठाह्र राज्यमा शासन गरेको इतिहास साक्षी छ । बाह्र र अठाह्र मगरात सबै मिलेर एकताको हातेमालो गर्दै संस्थालाई अझै बलियो बनाउनुपर्छ । नेपालको संविधानले समानताको हक दिएको छ । नेपालको संविधानमा धर्मनिरपेक्ष लेखिएको र धर्म, वर्ण, जात जाति, लिङ्ग शारीरिक अपाङ्गता, स्वास्थ्यस्थिति, बैवाहिकस्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुरामा भेदभाव गरिने छैन भनेर नेपालको संविधानमा लेखिएको छ । त्यसकारण मगर संघ युकेले पनि सबै मगरहरूलाई समान व्यवहार गर्दै पाँचौँ कार्य समितिमा आउनका लागि आह्वान गर्नुपर्छ । मगर संघ युके कुनै राजनीतिक पार्टीसँग सम्बन्ध नभई यो एउटा मगर जातिको मात्र जातीय संस्था हो । मगरहरूको जातीय पहिचान, भाषा, संस्कार र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै अन्य समुदायसँग हार्दिक सम्बन्ध, सुमधुर अन्तरक्रिया र समझदारीको माध्यमबाट मगर जातिको चौतर्फी विकास गर्ने भावनाबाट ओतप्रोत भई त्यसका निम्ति गैरनाफामुलक संस्थाको स्थापना भएको छ । साधारण मगरहरूसँग पैसा उठाएर पार्टी र भोज खाने यो संस्था हुँदै होइन । त्यसर्थ मगर संघ युकेको पाँचौँ कार्यसमितिमा आउनुभन्दा पहिले मगर संघ युकेको उद्देश्य र के काम गर्छ भन्ने विषयमा खुलेर जानकारी लिनुपर्छ । यस जातीय संस्थामा आउनुभन्दा पहिले राजनीतिको खोल संस्थाको ढोका बाहिर खोली सच्चा मगर भएर प्रवेश गर्नुपर्छ । गुटबन्दी र पक्षविपक्षबाट टाढा बसेर मगरको हितका लागि असल सोच अनि योजनालाई केन्द्र बिन्दु बनाएर संघमा आउनुपर्छ, तब मात्र मगर संघ युके विश्वसामु एउटा उदाहरण बन्ने छ ।

१०. तपाईं पाल्पाली समाज युकेको अध्यक्ष पनि हुनुहुन्छ । यो संस्थाको भावना, मर्म र उद्देश्य के के हुन्, बताइदिनसक्नु हुन्छ कि ?

 नेपालको लुम्बिनी अन्चल, पाल्पा जिल्ला पहाडकी रानी अति रमणीय स्थल पुख्र्यौली घर भई हाल युकेमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्दै आएका पाल्पालीहरूको साझा घर नै ‘पाल्पाली भाञ्ज्याङ युके’ रहेको छ । युकेमा बसोबास गर्ने सम्पूर्ण पाल्पालीहरू एकजुट हुनुपर्छ भन्ने भावनाको प्रथम प्रयासस्वरूप सम्पूर्ण पाल्पालीबासीहरूलाई एकजुट गराउने र हामीलाई पर्ने सुखदुःखमा सँगसँगै हातेमालो गर्ने उद्देश्यले सन् २००८ मा पाल्पाली समाजबाट पाल्पाली भान्ज्याङ युकेको जन्म भएको छ । म यस संस्थामा स्थापना कालदेखि नै आबद्ध छु । २००८ देखि २०१३ सालसम्म महासचिव, २०१३ देखि २०१६ सम्म संस्थाको उपाध्यक्ष, त्यसपछि हालमा पाल्पाली समाजको अध्यक्ष रहेको छु । यस संस्थालाई अझ बृहत् रूपमा विस्तार गरेर दुःखमा परेका पाल्पालीहरूलाई सहयोग गर्दै बेलायतदेखि नेपालको पाल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारी सम्म सम्पर्क गरेर आफ्नो जन्मभूमिको सहयोग गर्ने उद्देश्य रहेको छ ।

११. अन्त्यमा तपार्इं एउटा गोर्खा भएको नाताले तमाम गोर्खाका बारेमा के भन्नुहुन्छ ?

वीर गोर्खाली भनेर संसारमा चिनिने हामी सबै गोर्खा एक हौँ । गोर्खाको संस्था एउटा मात्र हुनुपर्छ । विडम्बना, हामी गोर्खाहरू आफैँमा लडिरहेका छौँ । साना र टुक्राटुक्रामा विभाजित भएका हुनाले हामी धेरै अवसरबाट टाढा भएका छौँ । हामीले एकअर्काको खुट्टा तान्ने भत्काउने र तानातान नगरीकन हामी आफूभित्र रहेका नराम्रा सोचलाई हटाएर एक गोर्खाले अर्को गोर्खालाई सम्मान गरौँ । हामी गोर्खा एक हौँ । ‘आयो गोर्खाली’को आवाज एउटा भएमा गोर्खाले राखेको माग पूरा हुने छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %