रूद्र श्रीस मगर,
पोखरा, १४ चैत्र – कास्की लेखनाथ–१२ की खिममाया पुन मृत्यु प्रकरणमा आफन्तले आरोपी छुटाउने खेल भइरहेको भन्दै मुद्दा फितलो नवनाउन चेतावनी दिएका छन् ।
फेवा विकास बैंक गगनगौंडा शाखामा कार्यरत २९ वर्षीय पुनको शव माघ २६ गते वेगनासतालमा भेटिएको थियो । खिममायाको मृत्यु नभइ हत्या भएको र बैंकका शाखा प्रमुख अरुण सापकोटा दोषी रहेको ठहर गर्दै पीडित परिवारले फागुन ९ गते किटानी जाहेरी दिएपछि प्रहरीले फागुन २१ गते उनलाई पक्राउ गरेको थियो । आरोपी अहिले जिल्ला प्रहरीको हिरासतमा छन् । कानुनी प्रावधान अनुसार आरोपीलाई हिरासतमा लिएको २५ दिन भित्र अदालतमा बुझाउनुपर्छ ।
पीडित परिवारले आरोपी प्रहरी हिरासतमा भएपनि उनी माथिको अनुसन्धान फितलो भएको र उम्काउने खेल भैरहेको आशंका गरेका छन् । सापकोटालाई पक्राउ गरेपनि सार्वजनिक नगर्नुको कारण माग गरेका छन् । मृतकका पिता प्रेमबहादुर पुनले आफ्नी छोरीको हत्या भएको र सापकोटा नै संलग्न रहेको जिकिर गर्नुभएको छ । पीडितको तर्फबाट गठित संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी आरोपी छुटाउने खेल भइरहेको भन्दै उनीमाथि अनुसन्धान गरी बलियो प्रमाण पेश गर्न आग्रह गरेको छ । प्रहरी हिरासतमा रहेका आरोपीमाथि गरिएको अनुसन्धान फितलो भएको र बुधबार अदालतमा बुझाएपछि पनि छुट्ने गरी मिसिल तयार पर्ने काम भैरहेको उनीहरुको आशंका छ ।
प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत अभियोजन तयार गरी मिसिलसहित अदालतमा पेश गर्ने प्रावधान छ । पत्रकार सम्मेलनमा सरकारी वकिललको कार्यालयले अहिलेसम्मको अनुसन्धानमा आरोपीलाई अदालत पेश गरेपछि पुनः थुनामा पठाउने ठोस प्रमाण तयार गर्न नसकेको जानकारी आफूहरूलाई प्राप्त भएको खुलाएका थिए । संघर्ष समितिका संयोजक संगीता पुनले खिममायाले आत्महत्या गरेको प्रमाण पनि नभेटिनु र हत्या भएको हो भन्ने एकिन पनि गर्न नसक्नु प्रशासनको कमजोरी भएको बताउनुभयो । आरोपी सापकोटाले सफाइ पाए अन्य दोषी पत्ता लगाइ कानुनी दायरामा ल्याउनुपर्ने उहाँले बताउनुभयो ।
मृतकका पिता प्रेमबहादुरले बैंकका म्यानेजर सापकोटाले आफुले गालीगलौज गरेर अफिसबाट निकालेको स्विकार गर्नु, आफै खोज्दै घर पुग्नु, सुरुमा किटानी जाहेरी दिँदा पनि प्रहरीले अस्विकार गर्नु र दवावपछि मात्र जाहेरी दर्ता गर्नु तथा किटानी जाहेरी दर्ता भएको १३ दिन पछि मात्रै पक्राउ गर्नुलाई आरोपी र प्रहरीको मिलेमतोको आरोप लगाएका छन् । हिरासतमा लिएपछि पनि प्रहरीको अनुसन्धान फितलो भएको उनको आशंका छ । सापकोटा प्रहरी हिरासतमा आएको बुधबार २५ दिन पुग्दैछ । खिममायाको शव अहिले पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शव गृहमै छ ।
अस्पतालले बारम्बार फोन गरी शव बुझ्न आग्रह गरेको भएपनि आरोपी थुनामा नगएसम्म शव नवुझ्ने आफन्तको अडान छ । घटनाको ५९ दिन सम्मपनि हत्या वा आत्महत्या भन्ने कुनै निष्कर्ष निकाल्न नसक्नु प्रहरीको कमजोरीको रुपमा उनीहरूले टिप्पणी गरेका छन् । यसैबीच, जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालले आरोपी हिरासतमा रहेको र उनी उपर प्रमाण जम्मा गरी सरकारी वकिलको कार्यालयमार्फत बुधबार अदालतमा पेश गर्ने तयारी भइरहेको बताउनुभयो । प्रहरी उपरीक्षक अर्यालले आफन्तको आक्रोश स्वाभाविक भएको भन्दै प्रहरीले घटनामा संलग्नताको प्रमाण भेटिए कुनैपनि अभियुक्तलाई उन्मुक्ति नदिने बताउनुभयो ।
