गोविन्द घर्ती मगर
देवददह चैत्र, १३ – शेयर सदस्यहरुको आर्थिक विकास तर्फ सहकारीहरु लाग्नु पर्ने नेपाल बचत तथा ऋण केन्द्रिय सहकारीका संचालक दामोदर अधिकारीले बताउनु भएको छ । उहाले शेयर सदस्यहरुको आर्थिक विकास विना सहकारीहरुले फड्को मार्न नसक्ने बताउनु भयो । देवदकोलिय बचत तथा ऋण सहकारी संस्थाले ५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित सहकारी एकिकरण सम्वन्धी गोष्ठीमा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । संचालक अधिकारीले शेयर सदस्यहरुलाई व्यवसायीक बनाउन सके सहकारी र शेयर सदस्यहरुको विकास हुनेमा जोड दिनु भयो । उहाले सहकारीको स्तर वृद्धि गर्न एउटै प्रकृतिका सहकारीहरु एकिकरण हुन आवश्यक रहेको बताउनु भयो ।
उहाले देशको आर्थिक विकासमा सहकारीहरुको अह्म भूमिका भएपनि सहकारीलाई राज्यले हेर्ने दृष्टिकोणमा कुनै फरक नभएको बताउनु भयो । एउटै क्षेत्रमा एउटै प्रकृतिका धेरै सहकारी भएमा अस्वस्त प्रतिस्पर्धा हुने भएकाले त्यसले सहकारीहरुलाई नै असर गर्ने भएकाले त्यस तर्फ सहकारीका संचालकहरु सचेत हुनु पर्नेमा जोड दिनु भयो । कोलिय बचत तथा ऋण सहकारी संस्था देवदहका अध्यक्ष सुवकान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार तथा जिल्ला सहकारी संघ रुपन्देहीका संचालक प्रकाश अर्याल, डिभिजन सहकारी कार्यालय रुपन्देहीका सहकारी निरिक्षक गुणाखर खनाल, जिल्ला सहकारी संघका संचालक भरत भूषाल, देवदह बचत तथा ऋण सहकारीका उपाध्यक्ष ऋषिराम सापकोटा लगायतले आ–आफना भनाई राख्नु भएको थियो । संस्थाका उपाध्यक्ष भिमप्रसाद गुरुङ्गकोम स्वागत, सचिव खेमानन्द ज्ञवालीको संचालनमा भएको कार्यक्रममा देवदह क्षेत्रमा रहेका विभिन्न सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
