पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलनको तयारी

Read Time:3 Minute, 44 Second
रूद्र श्रीसमगर

  पोखरा, १ चैत्र – नेपाल मगर बुद्ध सेवा समाजको आयोजनामा यही चैत्र १३ गते पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन हुने भएको छ । समाजले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारीबारे जानकारी गराएको छ । सो अवसरमा जानकारी दिँदै सम्मेलन आयोजक समितिका संयोजक टीबी पुनमगर ‘रोशन’ले विश्व शान्तिका अग्रदूत महामानव गौतम बुद्धका दर्शन, साहित्य, संस्कृतिको पुनर्उत्थान र विकास गरी बौद्ध धर्मावलम्बीहरूबीच एकता तथा अन्य धर्मावलम्बीहरूसँग धार्मिक सद्भाव, सहिष्णुता, आपसी मेलमिलाप कायम राख्दै विश्व शान्ति स्थापनाका लागि सम्मेलनको आयोजना गरिएको जानकारी दिनुभयो ।

संयोजक पुनमगरका अनुसार यही चैत्र १३ गतेदेखि सुरु भइ १५ गतेसम्म हुने सो सम्मेलनमा विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन् । पोखरामा चैत्र १३ गते उद्घाटन हुने सो सम्मेलनको बन्दसत्र पोखरा–३, नदीपुरस्थित पोखरा नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा यही १४ र १५ गते हुने संयोजक पुनमगरले जानकारी दिनुभयो ।  उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले उद्घाटन गर्ने सो सम्मेलनमा देश तथा विदेशबाट गरी करिब तीन सय प्रतिनिधि, पर्यवेक्षकको सहभागिता रहने समाजका केन्द्रीय अध्यक्ष क्या. देउबहादुर रानामगरले जानकारी दिनुभयो । सम्मेलनको बन्दसत्रमा मगर जाति र बुद्ध धर्म, नेपाल र विश्वमा बुद्ध धर्मको अवस्था, मगर समाजमा बुद्ध विहार, भिक्षु, गुरुमाहरूको अवस्था र स्थिति, बुद्ध धर्ममा रहेका यानहरूबीचको सम्बन्ध, मगर जातिका संस्कार कर्महरू आदि विषयहरूमा विभिन्न बौद्ध विद्वान्हरूबाट कार्यपत्र प्रस्तुत हुने अध्यक्ष रानामगरले बताउनुभयो ।

अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलनलाई सफल बनाउन आफूहरू सक्रियतापूर्वक लागिरहेको जानकारी दिँदै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरले मगर जातिमा धार्मिक र सांस्कृतिक रूपमा एकरुपता ल्याउन प्रयासरत रहेको बताउनुभयो । आयोजकका अनुसार सम्मेलनको उद्घाटन अघि चिप्लेढुंगाबाट सांस्कृतिक झाँकीसहितको ¥याली सुरु भइ नगर परिक्रमा गर्नेछ भने सम्मेलनकै अवसरमा प्रकाशित स्मारिका ‘बोधिज्ञान’को विमोचन समेत गरिनेछ ।

पत्रकार सम्मेलनका अवसरमा नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, नेपाल मगर बुद्ध सेवा समाज कास्कीका अध्यक्ष सु. चन्द्रबहादुर मसराङ्गीमगर, सचिव केबी थापामगरलगायतले सम्मेलनलाई सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %