रूद्र श्रीसमगर
पोखरा, २४ फागुन- संगीत प्रशिक्षण केन्द्र, पोखराले प्रदान गर्ने ‘लालबहादुर–चण्डेश्वरी ढेवाजू पुरस्कार–२०७२’बाट वरिष्ठ गायक एवं संगीतकार दीप श्रेष्ठ सम्मानित हुनुभएको छ । सोमबार आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले गायक श्रेष्ठलाई ५१ हजार रुपैयाँ नगद तथा ताम्रपत्रसहित सम्मान गर्नुभयो । सो अवसरमा बोल्दै कुलपति श्रेष्ठले गायक श्रेष्ठले नेपाली संगीतमा दिएको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो ।
पुरस्कार प्रतिभा छनौट समितिका संयोजक कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले गायक श्रेष्ठले नेपाली संगीतमा दिएको योगदानको कदर गर्दै पुरस्कारका लागि सिफारिस गरिएको बताउनुभयो । सो अवसरमा कवयित्री सरस्वती प्रतीक्षा, गायक कर्णदासलगायतले बोल्नुभएको थियो भने संगीत प्रशिक्षण केन्द्रका अध्यक्ष सुरेन्द्रमान विजुक्छेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
