पोखरामा केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरले सम्बोधन गर्ने
रूद्र श्रीसमगर
पोखरा, १३ फागुन
पोखरामा नेपाल मगर संघको ३४ औं स्थापना दिवस तथा मगर दिवस मनाउनका लागि भव्य तयारी भइरहेको छ ।
नेपालका प्रमुख आदिवासी जनजाति मगरहरूले आफ्नो छाता संगठन नेपाल मगर संघको स्थापना दिवस फागुन १५ लाई मगर दिवसका रूपमा
मनाउँदै आएका छन् । कास्कीका मगरहरूले पनि हरेक वर्षजस्तै यस वर्ष पनि मगर दिवसलाई भव्यतापूर्वक मनाउने तयारी गरिरहेका छन् । सरकारी तथ्याङ्क अनुसार कास्की जिल्लामा मगर जातिको जनसंख्या ४२ हजार छ ।
नेपाल मगर संघ कास्कीको आयोजनामा पोखरा–१०, रामघाटस्थित मगर सभाहलमा हुने कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरलगायतका मगर अगुवाहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कास्की जिल्ला अध्यक्ष पूर्णबहादुर रानामगरले जानकारी दिनुभयो । नाचगान तथा बाजागाजासहितको भव्य ¥यालीले पोखरा नगर परिक्रमा गरी नेपाल मगर संघ कास्कीको सभाहलमा कार्यक्रममा परिणत हुने समेत अध्यक्ष रानामगरले जानकारी दिनुभयो ।
साथै, कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान, उच्च शिक्षाका विभिन्न तह उत्तीर्णलाई सम्मान, जिल्ला कार्यसमितिका पूर्व पदाधिकारी एवं एकाइ समितिका पूर्व अध्यक्षहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने मगर संघ कास्कीले जनाएको छ ।
नेपाल मगर संघको ३४ औं स्थापना दिवस तथा मगर दिवसको भव्य तयारी
Read Time:2 Minute, 12 Second
