नेपालको पहिलो विद्रोहका नायक लखन थापा मगर

उमेश बहादुर राना मगर

  लखन थापा नेपालका आदरणीय सहिदमध्ये एक हुन्, जो जंगबहादुर राणाको अत्याचारी, सर्वसत्तावादी शासनविरुद्ध जनस्तरबाट संगठित विद्रोह गरेकै कारण बुंकोट (गोरखा) मा १९३३ फागुन २ गते फाँसीमा झन्ड्याइए । त्यो चेतनामय विद्रोहले राजनीतिक र सामाजिक क्षेत्रमा पु¥याएकोे योगदान अतुलनीय छ ।

नेपालको इतिहासमा कुनै बेला लखन थापा नामक एक यस्ता व्यक्ति पनि थिए, जसले राजा राम शाहको समयमा प्रमुख भारदारको भूमिका निभाए । उनी सिद्ध र मनकामनाका संस्थापक पुजारी पनि मानिन्छन् । अर्का व्यक्ति सहिद लखन थापा हुन्, जसले नागरिक स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताको पक्षमा आवाज उठाएकै कारण सहादत हुनुप¥यो । लखन थापा शिक्षित, चेतनशील मात्र नभएर साहसी र दूरदर्शी पनि थिए । राणाकालमा देशको बिगँ्रदो राजनीतिक, सामाजिक अवस्थाप्रति उनको विहंगम दृष्टि प¥यो र यो दुरावस्थाप्रति उनी चुप रहन सकेनन् । देशको बेथितीलाई सुधार्नु आफ्नो कर्तव्य सम्झे । अधिनायकवादी जंगबहादुरको जल्दोबल्दो शासन सत्तालाई समाप्त पारेर देशमा स्वतन्त्रता ल्याउन केही अनुयायीका साथ जनविद्रोहको घोषणा गरे लखनले । उनी जंगबहादुरलाई शक्तिहीन बनाई आमनेपालीले स्वतन्त्रतापूर्वक बाँच्न पाउने सत्य युगको जस्तो उदार र भेदभावरहित व्यवस्था (प्रजातन्त्र) ल्याउन चाहन्थे । सैनिक भएकै कारण उनमा त्याग र बलिदानको भावना जागृत भयो । देश र देशवासीको मुक्तिका लागि उनले जनक्रान्तिको बिगुल फुके । आफ्नो जीवनकालमा उनले यस्ता कैयौं कार्य गरे, जो आजपर्यन्त उदाहरणीय रहेका छन् ।

(१) १९१० सालको मुलुकी ऐनमार्फत जंगबहादुर राणाले समाजलाई तागाधारी, मतवाली, पानी चल्ने, पानी नचल्ने समूहहरूमा वर्गीकृत गरे । जातजातिअनुसार बेग्लाबेग्लै दण्डसजाय तोके । ब्राह्मण जातिलाई जस्तै अपराध गरे पनि मृत्युदण्डबाट पृथक् राखे । नङमासु जस्तो मिलेर बसेको तत्कालीन समाजमा जातिपाती, छुवाछुत फैलियो । यी विभेदबाट असन्तुष्ट भई लखन थापाले धर्मभीरु नेपालीहरूको धार्मिक, सामाजिक रूपान्तरणका लागि जोसमनी मत (सन्त परम्परा) लाई अघि सारे । कुनै बखत नेपालका राजाप्रजा दुवैले अँगालेको यो परम्परामा अनौठो दैवी शक्ति लुकेको थियो, जसले सबैलाई मोहित बनायो । उनले नेपालीहरूको जातीय एकता र सद्भावलाई अक्षुण्ण राख्न सजिलै मानिसहरूलाई आकर्षित गरे । राजाप्रजा सबैलाई हेर्ने समान दृष्टिकोण रहने भएकाले यो मतमा उँचनिचको भेदभाव गरिँदैन । धर्मको आडमा सबैलाई गोलबद्ध गर्दै उनले जागरुक बनाए । भेलामा एकत्रित जनसमुदायलाई मानवता र धर्मरक्षाको खातिर आह्वान गरेका थिए उनले ।

(२) लखन थापाले आफूलाई ‘म सिद्ध लखन थापाको अवतार हुँ’ र ‘जंगबहादुरको शासन अन्त्य गर्न मनकामना देवीले मलाई वरदान दिएकी छन्’ भन्ने कुराको प्रचार गरे र जंगबहादुरको अत्याचारी शासनले विक्षिप्त जनमानसमा यसको प्रभाव प¥यो । त्यसबेलाका अशिक्षित र धर्मभीरु नेपाली समाजलाई आÏनो अभियानमा सरिक गराउन ‘सिद्ध लखन थापा’ र ‘मनकामना’ को प्रसिद्धिलाई उनले उपयोग गरे । दैवी शक्ति र अवतारवादमा विश्वास गर्ने तत्कालीन समाजमा यस्तो प्रचार प्रभावकारी बन्यो ।

(३) अंग्रेजको हिमायती बन्दै उनीहरूकै दलाली गर्ने जंगबहादुरकोे घोर विरोध गर्दै विदेशी शक्तिविरुद्ध खरो उत्रन उनले सबैलाई पे्ररित गरे । राणा शासनविरुद्ध जनस्तरबाट लड्न ठुलो संख्यामा स्थानीय युवा र पूर्व सैनिकहरूलाई एकत्रित गरेर उनले विद्रोहीहरूको लडाकु दस्ता बनाएको, स्थानीय जनताहरूको सहयोगमा विद्रोही किल्ला निर्माण गरेको, सैनिकहरूलाई आवास, रसदपानीको व्यवस्थाका साथै खेल मैदान, परेड मैदान, हातहतियार र युद्धसम्बन्धी तालिमको प्रबन्ध गरेका थिए ।

(४) जंगबहादुरको निरंकुश शासन सत्तालाई ठाडो चुनौती दिँदै विद्रोहीहरूले समानान्तर सरकार गठन गरे । सहयोद्धाहरूको आग्रहमा उनी मुख्तियार बने भने विद्रोहीमध्ये कसैलाई सरकारको, कसैलाई सेनाको जिम्मेवारी सुम्पिएका थिए । त्यसबेला विद्रोहीहरूले सशस्त्र संघर्षका लागि घरघरमा खँुडा, तरबार, ढाल, भालाजस्ता घरेलु हातहतियार बाँडेको, ठुलो मात्रामा युद्ध खर्च, अन्नपात संकलन गरेको वृत्तान्त गाउँघरमा सुन्न सकिन्छ ।

(५) लखन थापाका सहयोगीहरूले गोरखाको गाउँघर डुलेर अंग्रेजको दलाली गर्ने जंगबहादुरविरुद्ध उनकै काला कर्तुतहरूको भण्डाफोर गर्दै हिँडे र आमजनतालाई भेला गराई विरोाधसभा गर्दै जागरुक र चेतनशील बनाए । सत्य युगको जस्तो सुनौलो शासन व्यवस्था ल्याउन उनले समाजमा पर्याप्त राजनीतिक चेतना प्रवाह गरेको देखिन्छ । विद्रोहको जनलहर गोरखाभर फैलिँदै गयो र उनीहरूले जनसमर्थन, जनसहभागिता पनि जुटाउँदै गए ।

राणाकालका कतिपय हत्या, षड्यन्त्र र संघर्षमा थुप्रै देशभक्त मारिएका थिए । उनीहरूको वीरता र साहस उल्लेखनीय रहे पनि ती विद्रोह राष्ट्र, राष्ट्रियता र जनअधिकारको बहालीसँग जोडिएका छैनन् । ती घटना योजनाबद्ध र संगठित रूपले आएका थिएनन् । राणाकालमा सत्ता, सम्पत्ति र प्रतिशोधजस्ता व्यक्तिगत महŒवाकांक्षाले घटनाहरू भएका थिए । विद्रोही लखन थापाले जंगबहादुरको अन्याय र अत्याचारविरुद्ध कहिले सर्वसाधारण, कहिले साधुसन्त, कहिले क्रान्तिकारी भएर बहुआयामिक भूमिका निर्वाह गरे । ठुलो संख्यामा गोरखाका बासिन्दालाई एकत्रित गर्दै आÏनो अभियानमा सामेल गराए । उनको अभियानमा स्थानीय युवा, पूर्वसैनिकहरू उत्साहका साथ जुटेका थिए । जंगबहादुरको अधिनायकवादी सत्ता समाप्त पार्ने उद्देश्य रहेकाले विद्रोह पूर्णतः राजनीतिक थियो, जो योजनाबद्ध, संगठित र सशक्त ढंगले बढ्यो ।

विद्रोहको सुइँको जंगबहादुरले पाइहाले । त्यसलाई दमन गर्न देवीदत्त गण बुंकोट पुग्यो, विद्रोहीहरूसँग भिडन्त भयो । भनिन्छ, त्यो विद्रोह दबाउन सेनापति धीरशमशेरलाई पनि हम्मेहम्मे परेको थियो । आखिर विद्रोहीहरू पक्राउ परे, राजधानीमा मुद्दा चलाइयो, मृत्युदण्डको फैसला भयो तर शासकसामु उनीहरू झुकेनन् । देशभक्तहरू कहिल्यै झुक्दैनन् पनि, कि मुक्त हुन्छन् कि सहिद । लखन थापालाई राणा शासनविरुद्ध ठुलो जनलहर पैदा गरेका कारण राजद्रोहको अभियोग लगाइयो । उनी देशका शत्रु थिएनन्, तापनि १९३३ सालमा बुंकोटको विद्रोही किल्ला परिसरमै झुन्ड््याएर मृत्युदण्ड दिइयो । अन्य विद्रोही पनि बलिमा चढ्न पुगे । यो बलिदानले राणाविरोधी आन्दोलनलाई ऊर्जा मिल्यो । जंगबहादुरको सर्वसत्तावादको विकल्पमा स्वतन्त्रता ल्याउन चाहने लखन थापाले त्यसबेला जगाएको राजनीतिक, सामाजिक चेतना फैलिँदै गयो, त्यो पदचिह्नलाई नयाँ पुस्ताले पछ्याए । त्यो विद्रोही चेतनाले पछि सार्थक रूप लियो, सात सालको प्रजातन्त्र त्यसैको उपलब्धि थियो ।

बुंकोटको ऐतिहासिक विद्रोह प्रजातान्त्रिक आन्दोलनको प्रारम्भ बिन्दु हो । यो घटनाले नेपालको राजनीतिक इतिहासमा विशिष्ट स्थान हासिल गरेको छ । जनस्तरबाट संगठित रूपले उठेको यो नेपालकै पहिलो विद्रोह थियो । यसअघिका विद्रोहहरू यसरी व्यवस्थित र संगठित थिएनन् । त्यसैले बुंकोट विद्रोहका नायक लखन थापा नेपालको प्रजातान्त्रिक आन्दोलनका सूत्रधार मानिन्छन् । नेपाली माटोमा नागरिक स्वतन्त्रता र जनअधिकारको आवाज सबैभन्दा पहिले उनैले उठाए, त्यसका लागि गोलबद्ध हुन पनि उनैले सिकाए । यही दूरदर्शी ज्ञान र चेतनाका धनी लखन थापा नेपालमा प्रजातान्त्रिक विचारधाराका प्रणेता मानिन्छन् । उनको चेतनामय विद्रोह नेपालको इतिहासमा अविस्मरणीय छ । उनको योगदान र बलिदान अतुलनीय रहेको छ ।

यो विद्रोहमा स्पष्ट राजनीतिक दृष्टिकोण, भारी जनसमर्थन, स्थानीय सहभागिता र सशस्त्र संघर्ष जस्ता सबल पक्षहरू छन् । बलियो जनाधार निर्माण गरेर आरम्भ गरिएको यो विद्रोह उच्च कोटिकोे विद्रोह थियो । जंगबहादुरको सत्तालाई खुलेआम चुनौती दिन सक्ने लखन थापा चानचुने वीर थिएनन् । प्राप्त तथ्यका आधारमा हेर्दा यिनी नेपाली सहिदहरूको सूचीमा सबैभन्दा अग्रणी र प्रेरणादायी पनि छन् ।

कांग्रेस नेतृत्वको सरकारले २०७२ असोज ३ मा संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएकै दिन लखन थापालाई ‘प्रथम सहिद’को सम्मान दियो । केही महिनामै उनको तस्बिर अंकित हुलाक टिकट प्रचलनमा ल्याइँदै छ । राष्ट्रिय विभूतिको सम्मान दिनुपर्ने व्यक्तित्वलाई केवल ‘प्रथम सहिद’ले विभूषित गरिएको छ, यो कन्जुस्याइँ हटाएर वर्तमान सरकारले जस लिने ठाउँ पनि छ, यो एमाले सरकारको इच्छाशक्तिमा निर्भर गर्दछ । नेकपा एमालेले बल्खु कार्यालयमा सहिद लखन थापाको तस्बिर सजाएझैं नेपाली कांग्रेस र एनेकपा माओवादीले पनि आÏनो कार्यालयमा यस्तो कार्य गर्दा राम्रो हुन्थ्यो कि ? सहिद लखन थापा सम्पूर्ण नेपालीको आत्मसम्मान बढाउने राष्ट्रका धरोहर, महान गौरव र साझा सम्पत्ति हुन् । त्यसैले सहिद गेटमा उनको सालिक राख्न अग्रसरताको खाँचो छ । यसो गरिएमा सहिद गेट र सहिद दिवस दुवैले पूर्णता पाउनेछन्, सहिदको आत्मालाई शान्ति मिल्नेछ ।

सोही घटनाक्रममा मारिएका जयसिंह चुमी, सुकदेव गुरुङ, सुपति गुरुङलाई सहिदहरूको पंक्तिमा राख्ने र उनीहरूका सन्ततिलाई राहत दिने कार्यहरू पनि अधुरै छन् । यसो नगर्दासम्म नेपाल आमाका वीर सपुत लखन थापा र बुंकोटको ऐतिहासिक जनविद्रोहप्रति न्याय गरेको ठहरिँदैन । तर दुर्भाग्य, नेपालमा हालसम्म पनि सहिद दिवस औपचारिकतामै सीमित छ । देशमा धेरै राजनीतिक परिवर्तन भए तर सहिदहरूले कल्पना गरेको आदर्श समाज बन्न सकेको छैन । समाजमा सुख, शान्ति र समृद्धि खोज्ने हो भने सहिदले देखाएको बाटोमा हामीले हिँड्नैपर्छ । जंगबहादुर जस्ता क्रूर शासकविरुद्ध उनकै हुकुमतलाई ठाडो चुनौती दिन सक्ने वीर सपुत लखन थापाको १३९औं स्मृति दिवसको अवसरमा समस्त प्रजातन्त्रवादी, लोकतन्त्रवादी र गणतन्त्रवादी देशभक्त सहिदहरूप्रति हार्दिक श्रद्धासुमन
(लेखक: प्रथम शहिद लखन थापा मगर प्रतिष्ठानका उपाअध्यक्ष हुन,राजधानी बाट साभार)