प्रहरी अधिकृत भन्छन् नभागेको भए ज्यान बच्ने थियो
देब पचभैया
पाल्पा, माघ १० – एक महिलाको ज्यान जाने गरी हिजो बेलुकी झडेवा पाल्पामा भएको जिप दुर्घटनामा हराएका चालक आज बिहान मृत भेटिएका छन् । चिदिपानी ७ का २७ बर्षिय जिप चालक गंगाधर सापकोटा दुर्घटनास्थल देखि शय मिटर नजिक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जिपमा रहेका सामान खोज्ने क्रममा स्थानियले आज बिहान शब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
दुर्घटना लगत्तै प्रहरी र स्थानियले खोजबिन गरेकै स्थानमा आज मात्रै शब भेटिएपछि प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरेको प्रहरी नायब उपरिक्षक सुमन तिमिल्सिनाले जानकारी दिनुभयो ।
अनुसन्धानमा खटिएका प्रहरी नायक निरिक्षक प्रकाश सिंखडाले दुर्घटना लगत्तै भागेर ओडारमा बसेका चालक राती जिप पल्टिएको स्थानमा आउदा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धान बाट पुष्टी भएको छ ।
शरिरका बिभिन्न स्थानमा चोट लागेर घाईते भएका उनको चिसोकै कारण ज्यान गएको हुन सक्ने सिंखडाले बताउनुभयो । नभागेको भए उनको ज्यान जोगिने प्रहरीको भनाई छ ।
बुटवल बाट गोठाडी जादै गरेको लु १ ज २०९२ नम्बरको जिप झडेवा ६ खापुक भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा गोठाडी ७ की ३३ बर्षिया तिल कुमारी बाह्रघरेको घटनास्थलमा ज्यान गएको थियो भने २२ जना घाईते भएका थिए ।
