मनोज घर्ती मगर ,पोखरा
गोरखाको भच्छेक र आसपासका क्षेत्रमा शनिवार विहान असिनापानी र हिमपात भईरहेको थियो । चिसोले जनजीवन प्रभावित भईरहेको बेला लायन्सको एउटा टोली त्यहाँ पुगेर भूकम्प पीडितलाई न्यानो कपडा वितरण ग¥यो । त्यती दुर्गम स्थानमा न्यानो कपडा सहितको राहत सामग्री लिएर पुग्दा स्थानीयले लायन्सको यो कार्यलाई निकै नै सह्राना गरे । गोर्खा बजारबाट १२ किलोमिटरको कच्ची सडकमा ५ घण्टाको जिप यात्रापछि भच्छेक गाउंमा राहत पुर्याउँदा पिडित वृद्धवृद्धा र बालबालिका अत्यन्त खुशी देखिन्थे ।

न्यानो कपडा लिनका लागि हंसपुर गाविस. ३ र ९ वडाका वृद्धवृद्धा र बालबालिका ४ घण्टा सम्म पैदल हिंडेर आइपुगेका थिए । भूकम्पबाट अति प्रभावित भच्छेक हंसपुर गाउँका अधिकांश घर भत्केका छन भने स्थानीयबासी पाल र टिनको पातामुनि रात बिताउन बाध्य छन् । विभिन्न संघसंस्थाले राहत वितरण गर्दा पिडितको हातसम्म कमै पुगेको र लायन्सले मात्र यती दुर्गम क्षेत्रमा आएर पहिलोपटक राहत बाडेको र आफुले सजिलै राहत पाएको स्थानिय भुकम्प प्रभावित क्षेत्र बहादुर मगरले बताए ।
लायन्स डिष्ट्रीक्ट ३२५ बि १ नेपालले गोर्खा भच्छेकका भूकम्पपिडीत परिबारलाई न्यानो कपडा वितरण गरेको हो । भच्छेक स्थीत हंसपुर गाविस वडा नं. ३ र ९ का भूकम्प प्रभावित २४० परिवारलाई शनिबार आयोजित एक कार्यक्रममा ब्लाङ्केट, कम्बल, स्वीटर, पछ्यौरा, ज्याकेट, ट्राउजर, जुत्तामोजा लगायतका न्यानो कपडा वितरण गरिएको लायन्स डिष्ट्रिक्टको ‘न्यानो कपडा वितरण कार्यक्रम’का गण्डकी क्षेत्र संयोजक दुर्गाप्रसाद हुमागाईले बताए । लायन्स डिष्ट्रक्ट ३२५ बि १ नेपालका क्याविनेट सेक्रेटरी विश्वेश्वर आचार्यको प्रमुख आतिथ्यतामा आयोजित न्यानो कपडा वितरण कार्यक्रममा डिष्ट्रीक्टको तर्फबाट करिब ९ लाख बराबरको न्यानो कपडा वितरण गरिएको डिष्ट्रीक्ट गभर्नर ध्रुव थापाले बताए । यो सहयोग डिष्ट्रीक्टको एक लायन्स एक न्यानो कपडा अभियान अन्तर्गत गण्डकी र धौलागिरी क्षेत्रका लायन्स क्लब, व्यक्ती र विभिन्न संघसंस्थाबाट जुटाईएको गभर्नर थापाले स्पष्ट पारे ।
