रूद्र श्रीसमगर
पोखरा, २५ पुस
उप–प्रधान एवं महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सीपी मैनालीले असंलग्न तटस्थ परराष्ट्र नीति अनुसार नेपालको संघीय खाका आवश्यक रहेकोमा जोड दिँदै उत्तर दक्षिण जोड्ने गरी प्रदेशको सिमांकन गरिनुपर्ने बताउनुभएको छ ।
नेपाल अपाङ्ग समाज सेवा संघले शनिबार पोखरामा आयोजना गरेको सीप हस्तान्तरण तथा सम्मान कार्यक्रममा बोल्दै उप–प्रधानमन्त्री मैनालीले अति नै संवेदनशील भूराजनीतिक अवस्थामा नेपाल रहेकोले उत्तर दक्षिण जोडेर प्रदेशका सिमांकन गरिनुपर्ने बताउनुभयो ।
विद्यमान नाकाबन्दीको समस्या अन्त्यका लागि भारतसँग सरकारले कुरा गरिरहेको जनाउँदै उपप्रधानमन्त्री मैनालीले देशको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षाका लागि नेपाली जनताको चाहना अनुसार सरकारले अडान लिइरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेकपा (माले)का केन्द्रीय सदस्य एवं गण्डकी ब्यूरो सचिव शंकर पोखरेल, केन्द्रीय सदस्य होमनाथ गिरी, बलबहादुर नेपाली, महिला तथा बालबालिका कार्यालय, कास्कीका प्रमुख लक्ष्मी जिसी, समाज कल्याण समितिका बोर्ड सदस्य राकेश हमाल, नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, समुदायमा आधारित पुनस्र्थापना सेवा (सीबीआरएस)का कार्यक्रम व्यवस्थापक कृष्ण लामिछाने, अपाङ्ग समन्वय समिति, पर्वतका पूर्व उपाध्यक्ष शुक्रराज ढुंगाना, पर्यटन व्यवसायी मन्दरा ढकाललगायतले बोल्नुभएको थियो । सो अवसरमा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूलाई सिलाइ मेसिन वितरण गरिएको थियो ।
असंलग्न तटस्थ परराष्ट्र नीति अनुसार प्रदेश सिमांकन ः उप–प्रम मैनाली
Read Time:2 Minute, 20 Second
