गोविन्द घर्ती पौष २३ ।
नेपाल आदिवासी जनजाति महासंघ देवदह नगर परिषदको आम भेला देवदह–३, सेमराहानामा सम्पन्न भएको छ । परिषदका अध्यक्ष बोमबहादुर गुरुङ्गको अध्यक्षतामा भेला सम्पन्न भएको हो । सो अवसरमा बोल्ने वक्ताहरुले भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्न लाग्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले भाषा, संस्कार र संस्कृतिको संरक्षण विना आदिवासी जनजातिहरुको पहिचान स्थापित हुन नसक्नेमा बताएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले आदिवासी जनजातिहरु भाषा र संस्कृतिको जर्गेना र संक्षण संगै आत्मनिर्भर तर्फ पनि लाग्नु पर्नेमा जोड दिएका थिए । परिषदका सचिव थमबहादुर बुढाथोकीको संचालनमा भएको भेलामा तमु छोंज धीका अध्यक्ष टौबहादुर गुरुङ्ग, नेपाल मगर संघका कोषाध्यक्ष खरसिं श्रीष, थारु कल्याणकारिणी सभाका उपाध्यक्ष चन्द्रिका थारु, परिषदका सल्लाहकार भिमप्रसाद गुरुङ्ग, लेखा समितिका संयोजक चिरन पुन लगायतले आअ–आफना भनाई राख्नु भएको थियो । भेलाले लक्षित बर्ग आदिवासी जनजाति तर्फको आर्थिक बर्ष २०७३÷०७४ को करिव १२ लाख रुपैया बरावरको बजेट विनियाजन गरेको छ । परिषदको भवन निर्माण, रेडियो कार्यक्रम, विश्वआदिवासी दिवस, आदिवासी जनजाति सचेतना, साझेदारी कार्यक्रमलाई बजेट विनियोजन गरेको हो । त्यसैगरी भेलाले चक्रवन्दु थापामगरको संयोजकत्वमा परिषदको भवन निर्माण उपसमिति गठन गरेको छ । भेलाले नगरपालिकाले आदिवासी जनजाति प्रमाणिकरणका लागि सम्वन्धीत जातिय संस्थाबाट प्रमाणित गर्नका लागि नगरपालिका प्रमुखलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।
