रूद्र श्रीसमगर
पोखरा, १५ पुस
बराह प्रावि, सिल्दुजुरे–८, कास्कीको ५६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
सो अवसरमा बोल्दै समाजसेवी सिंगापुर प्रहरीका भूपू चिफ इन्स्पेक्टर हरिबहादुर गुरुङले ग्रामीण क्षेत्रको शैक्षिक विकासका लागि सामुदायिक विद्यालयले पु¥याएको योगदान उल्लेखनीय रहेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी तवरबाट आवश्यक पहल हुन नसकेको गुनासो पनि गर्नुभयो ।
कार्यक्रममा सो विद्यालयका भूपू विद्यार्थीहरूले २०७२ सालको तिहारमा खेलिएको देउसी भैलोमार्फत् बचत भएको रकमबाट साउण्ड सिस्टम प्रदान गरेका थिए । त्यस्तै, तमु धिं नेपालका महासचिव रूद्रकुमारी गुरुङ (मैना)ले सम्पूर्ण विद्यार्थीहरूलाई स्टेशनरी वितरण गर्नुभएको थियो भने कञ्चनजंगा बोर्डिङ स्कूलका संस्थापक लक्ष्मी गुरुङले शिशु कक्षाका विद्यार्थीहरूलाई चिसोबाट बच्नका लागि म्याट्रेस सहयोग गर्नुभएको थियो ।
वार्षिकोत्सवका अवसरमा कुर्ची दौड, बेलुन फुटाउनेलगायतका अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय हुने तथा कक्षा उत्तीर्ण विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा समाजसेवी लालबहादुर गुरुङ, बालकृष्ण गुरुङ, तमु धिं नेपालका महासचिव रूद्रकुमारी गुरुङ (मैना), कञ्चनजंगा बोर्डिङ स्कूलका संस्थापक लक्ष्मी गुरुङ, शेरबहादुर गुरुङ, जनकल्याण तमु समाजका अध्यक्ष इन्द्रबहादुर तमुलगायतले बोल्नुभएको थियो ।
शिक्षक अभिभावक संघका अध्यक्ष चेतबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक खिमलाल बाँस्तोलाले गर्नुभएको थियो भने प्रधानाध्यापक विष्णुमाया पोखरेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो
