देब पचभैया
पाल्पा, पुस १५ गते
क्षमताभन्दा बढी यात्रु राखेर सडक दुर्घटना भएको भन्दै पाल्पामा एक जना सवारी चालक पूर्पक्षका लागि थुनामा परेका छन् । गत २०७२ मङ्सिर ११ गते झडेवाको चन्देनी भन्ने स्थानमा भएको दुर्घटनामा चालकको लापरबाही देखिएको भन्दै पाल्पा अदालतले चालकलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
लु १ ज १९२२ नम्बरको जीप चालक झडेवा–१, का २७ वर्षका तुलबहादुर रेग्मीलाई थुनामा राख्न अदालतले आदेश दिएको हो । जीपको क्षमताभन्दा अत्याधिक यात्रु राखेका कारण जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । दुर्घटनामा चार जनाको ज्यान गएको थियो भने २६ जना घाइते भएका थिए ।
यस्तै शिशुलाई जन्म दिई मार्ने युवतीलाई समेत पूर्पक्षका लागि थुनामा राख्न पाल्पा अदालतले आदेश दिएको छ । २०७२ मङ्सिर ११ गते राती शिशुलाई जन्म दिई शिशुको हत्या गरी फाल्ने सिलुवा–६, की १९ वर्षिया श्रीकला श्रेष्ठ पूर्पक्षका लागि थुनामा परेकी जिल्ला अदालत पाल्पाका श्रेष्तेदार उत्तम सिल्वालले जानकारी दिए ।
