मनोज घर्ती मगर
सौन्दर्य प्रतियोगिता गर्ने लहर चलेको छ । पोखरामा हप्तैपिच्छे कुनै न कुनै सुन्दरी प्रतियोगिता सम्पन्न भएकै छन् । विभिन्न नामका प्रतियोगितामा ताज जित्ने युवतिको प्रतिस्पर्धा त हुन्छ नै आयोजकबिच पनि कडा प्रतिस्पर्धा हुन्छ । तिनमा थपिएका छन्, जातजातिका सौन्दर्य प्रतियोगिताहरु । जसले यहाँ साता बिराएर सुन्दरी प्रतियोगिता गर्ने योग जुराइदिएका छन् ।
विभिन्न नाममा गरिएका सौन्दर्य प्रतियोगिताले युवतिको व्यक्तित्व विकास, सेल्फकन्फीडेन्ट बढाउन मद्दत पु¥याउने दाबि गरिन्छ । यस्ता प्रतियोगिताले युवतीमा रहेको अन्तरनिहित प्रतिभा बाहिर ल्याउने ठोकुवा गर्छन् आयोजक । यति मात्रै होइन, ताज जित्ने बित्तिकै अवसरको ओइरो लाग्छन् जसरी प्रचार गर्छन् उनीहरु । साँच्चै सुन्दरीपछि त्यस्तै अवसरको ओइरो लाग्यो ? २०६७ चैत्र १९ गते पोखरामा भएको ‘मिस नेवा– २०११’ को ताज पहिरिन सफल निकिता श्रेष्ठ भन्छिन्, ‘ताज जितेपछि केही न केही अवसर आउँछ भन्ने लागेको थियो । तर अहिलेसम्म यो ताजको केही काम भएको छैन । एकदुई दिन वाह–वाह हुने बाहेक केही छैन ।’
काठमाडौंमा हुने मिस नेपाल र अन्य केही प्रतियोगिताका विजेताबाहेक काठमाडौं बाहिर हुने अधिकांश उपाधि बिजेता सुन्दरीहरुले कुनै अवसर नपाउँदा तीनका ताज शोकेसमै थन्किएका छन् । सुन्दरी प्रतियोगिताको ताज पहिरिने बित्तिकै केही समय चर्चा हुन्छ त्यसपछि आफै सेलाउँछ । यस्तै भएको छ, मिस लेखनाथकी बिजेता रोशनी हमाललाई पनि । ‘उपाधी जितेपछि खासै ठूलो उपलब्धि गरेजस्तो लाग्दैन’ रोशनीको ठम्याइ छ,‘एक छिन परिवारलाई खुसी दिलाउनु र दुई चार जनाले चिन्ने चाँही हुँदोरहेछ ।’
अचेल पोखरा सुन्दरी उत्पादन गर्ने कारखाना जस्तै भएको छ । दशैं र तिहारका बिचमा मात्रै ४ सुन्दरी प्रतियोगिता भए । त्यसपछि दुई चार प्रतियोगिताका लागि युवतिहरु क्याटवाक गरिरहेकै छन् । अवसर नभए पनि सुन्दरी प्रतियोगिताको ग्ल्यामरले धेरै जना लोभिन्छन् । अनि यसमा हाम फाल्छन् । कतिले नाम र दाम दुवै कमाउँछन् ।
कति गुमनाम हुन्छन् । धेरैले अनेकन टिकाटिप्पणी गरे पनि मिस तमुस्यो नेपाल नमिता गुरुङको जीवनमा ताज जितेपछि आकाशपातालको फरक आएको छ । ‘मलाई मिस तमुस्यो हुनभन्दा पहिला फलानाको छोरी भनेर सीमित व्यक्तिहरुले चिन्थे । तर अहिले धेरैले चिन्छन्’ उनी भन्छिन्,‘यसले मलाई आत्मविश्वास बढायो । अहिले आफै ब्यापार सम्हालेर बसेको छु । समाजका मान्छेले पनि मेरा कुरा सुन्छन् । यो मिस तमुस्योकै देन हो ।’ सौन्दर्य प्रतियोगितामा विजेता भएपछि अगाडि बढ्न नसकेको आरोपप्रति उनी सहमत छैनिन् ।
मिस मंगोल नेपाल २०१२ कि बिजेता सपना रोका मगर पनि ताज जितेपछि धेरै उपलब्धि भएको सगर्व सुनाउँछिन् । नामको अगाडि मिस मंगोल २०१२ थपिनु नै मुख्य उपलब्धी हो भन्ठान्ने उनी त्यसपछि नै समुदायका लागि गरिने विभिन्न सामाजिक कार्यक्रममा स्वंयसेवा गर्न सुरु गरिन् । ‘फिल्म, म्यूजिक भिडियोमा अवसर पाएँ । मैले सामाजिक काम पनि थुप्रै गरेकी छु, उनी भन्छिन्,‘सुन्दरीको ताज जितेर केही हुँदैन भन्ने पक्षमा म छैन ।’
एकाधले बाहेक पोखरामा हुने गरेका अधिकांश सुन्दरी प्रतियोगिताका बिजेताले खासै अवसर पाएका छैनन् । सुन्दरी प्रतियोगिताका बिजेतादेखि लिएर उपबिजेता र सबै सहभागीको मोडलिङमा लाग्ने पहिलो रोजाई हुने गर्छ । त्यो बाहेक म्यूजिक भिडियोमा अभिनय गर्ने, विज्ञापनमा मोडलिङ गर्ने अपेक्षा हुन्छ । पोखरामा यस्ता अवसर भए पनि काठमाडौं केन्द्रित यहीका व्यवसायीले उनीहरुलाई पत्याउँदैनन् । आफ्नो पहुँच र भनसुनका आधारमा सामान्य केही म्यूजिक भिडियो खेल्नेभन्दा अन्य केही काम छैन सुन्दरीहरुको । मिस पश्चिमाञ्चल, मिस फेरी, मिस टिन, मिस कल्चर, मिस जनजाति, मिस तमुस्यो, मिस नेवा, ईन्टर कलेज मिस पोखरा, मिस तिज लगायत विभिन्न नाममा हुने सुन्दरी प्रतियोगितामा बिजेता बनेका सुन्दरीहरुमध्ये प्राय सबैका ताज बिना अर्थका छन् । त्यही भएर त यीमध्ये केहीले घरजम गरिसकेका छन् भने कतिजना विदेशिएका छन् । पोखरामै भएकाहरु पनि निस्क्रिय छन्