देब पचभैया
पाल्पा, मंसिर १८
निम्न माध्यमिक तहका शिक्षकहरुले अध्यापन अनुमति पत्र लिने व्यवस्था हटाउन माग गरेका छन् । उनीहरुले माध्यमिक तहमा जस्तै निमावि तहमा समेत विज्ञान, अंग्रेजी र गणित विषयका लागि अध्यापन अनुमति पत्र लिएर शिक्षक हुन पाउने व्यवस्थाको अन्त्य गर्न माग गरेका हुन् ।
पाल्पाका जिल्ला शिक्षा अधिकारी संगीता रेग्मी मार्फत शिक्षा मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले अध्यापन अनुमति पत्रको व्यवस्थाको अन्त्य गर्न माग गरेका हुन् ।उनीहरुले माध्यमिक तहमा जस्तै निमावि तहमा समेत अंग्रेजी, गणित र विज्ञान विषय अध्यापन अनुमति पत्रबिनै विद्यालयमा पठाउन पाउनुपर्ने माग गरेका हुन् ।
यस्तो विभेदकारी नितीले आफूहरु बिस्थापित हुन बाध्य हुनुपरेको भन्दै आन्दोलनको कार्यक्रम अनुसार ज्ञापन पत्र बुझाइएको आन्दोलनका अगुवा शिक्षक धातानन्द बस्यालले बताउनुभयो । उहाँले सरकारले विभेदकारी नीति फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
ज्ञापनपत्र बुझाएपछि प्रतिक्रिया दिदै शिक्षक कुबेर पाण्डेले संविधानले प्रत्याभुत गरेको समानताको अधिकार शिक्षा ऐनले उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । अध्यापन अनुमतिपत्र सम्बन्धी सुबिधा निमावि तहका शिक्षकलाई समेत दिनुपर्ने उनीहरुको माग छ ।पाल्पामा क्रियाशिल नेपाल शिक्षक युनियन, नेपाल शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र नेपाल राष्ट्रिय शिक्षक संगठनलाई समेत बोधार्थ दिइएको शिक्षक हिमाल गाहाले जानकारी दिनुभयो ।
